१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

१७ वर्षपछि रेसुंगा विमानस्थलमा उडान

१ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत ३३ करोड
गगनशिला खड्का

गुल्मी — निर्माण सुरु भएको १७ वर्षपछि रेसुंगा विमानस्थलमा तारा एयरको नाइन एनएएलओ कल साइनको ट्वीनअटर जहाज अवतरण भएको छ । झन्डै डेढ दर्जन यात्रु र चालक दलका सदस्यसहित आइतबार बिहान ११ बजे काठमाडौंबाट उडेको जहाज रेसुंगा नगरपालिका–१० सिमीचौर विमानस्थलमा ११ः४७ मा अवतरण भएको हो । २०६३ सालमा निर्माण सुरु भएको विमानस्थल ३३ करोड लागतमा सम्पन्न भएपछि ‘प्रुभिङ फ्लाइट’ सफल भएको छ ।

१७ वर्षपछि रेसुंगा विमानस्थलमा उडान

जहाजको अवतरणसँगै नियमित उडान भएमा रेसुंगा विमानस्थलबाट कम्तीमा ४७ मिनेटमा काठमाडौं पुगिने भएको छ । तम्घासबाट काठमाडौं पुग्न सहज भएको अवस्थामा सडक यात्राबाट कम्तीमा १२ घण्टा लाग्छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको पक्की धावनमार्ग छ । धावनमार्ग सम्याउने काम सकेर २०७६ जेठ २५ गते धुले रनवेमै परीक्षण उडान गरिएको थियो । त्यसपछिको संरचना निर्माणमा भएको ढिलाइले नियमित उडान प्रभावित भएको थियो ।

तारा एयरका क्याप्टेनद्वय सञ्जीव श्रेष्ठ र सन्तोष शाहले प्रुभिङ उडान गरेका थिए । क्याप्टेन श्रेष्ठले रेसुंगा विमानस्थलमा उडानमा कुनै समस्या नभएको बताए । ‘हामीले परीक्षण गर्दाखेरि गुल्मीमा ल्यान्डिङ टेकअफका लागि कुनै समस्या देखिएन, यहाँको रनवे, वातावरण सबै राम्रो देखिएको छ,’ उनले भने, ‘फ्लाइट गर्न कुनै समस्या नदेखिएको, पार्किङको व्यवस्था र टावर पनि राम्रो र रनवे पनि राम्रो बनाइएको छ ।’ विमानस्थलमा दिनभर जसो नै उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले इलाम मोडलमा नगरपालिकाले सम्झौता गरेमा उडान नियमित गर्न सकिने बताए । उनका अनुसार इलाममा ११ जना यात्रु बराबरको हवाई भाडाको सुनिश्चितता नगरपालिकाले गरेको छ । ‘इलाम मोडल अनुसार रेसुंगा नगरपालिकाले सम्झौता गर्‍यो भने हामीले नियमित उडान गर्न सक्छौं,’ उनले भने । उनका अनुसार गुल्मी–काठमाडौं उडानको हवाई भाडा तत्कालका लागि ८ देखि ९ हजार रुपैयाँसम्म पर्न जान्छ । ‘यो अहिलेको इन्धनको मूल्यको आधारमा हो,’ उनले भने, ‘इन्धनको मूल्य परिवर्तन भयो भने यसमा फरक पर्छ ।’ ‘प्रुभिङ फ्लाइट’का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्ससँग रेसुंगा नगरपालिकाले पहल गरेको थियो । अब लिखित सम्झौता गरेर व्यावसायिक उडान गरिने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

जहाजमा गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, माओवादी केन्द्र गुल्मीका सचिव बुद्धि जीसीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सहित १६ जनाको टोली आएको थियो । विमानस्थलको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भण्डारीले लामो समयपछि गुल्मीवासीको सपना साकार भएको बताए । ‘आजको अवस्थासम्म ल्याई पुर्‍याउन जसरी सबैको सहयोग भयो,’ उनले भने, ‘भोलिका दिनमा पनि त्यो सहयोग अपरिहार्य छ ।’

नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री ज्ञवालीले विमानस्थल निर्माणमा ढिलाइ हुँदा चिल उडेका फोटोहरू खिचेर ट्रोल बनाउने व्यक्तिका कारण नियमित उडानका लागि दबाब बढेको बताए । उनले गुल्मीजस्तो पहाडी भूभागका लागि विमानस्थल र हवाई सेवा कुनै लक्जरीका विषय नभएको बताए । उनले विमानस्थललाई आवश्यकताका पूर्वाधार र पर्यटन विकासको आधारसँग जोड्दै राज्यले पूर्वाधारका क्षेत्रमा गरिने लगानीलाई नाफा नोक्सानको व्यापारी आँखाले नहेर्न सुझाव दिए । ‘रेसुंगा विमानस्थलको परिकल्पना, शिलान्यास, निर्माण र सञ्चालनका हरेक क्षणमा निर्णायक भूमिका खेल्न पाउँदा गौरव लागेको छ,’ उनले भने, ‘यस क्रममा खेप्नुपरेका आक्षेप, कटाक्ष र व्यंग्यवाणका ढुंगाहरू बटुलेर जिम्मेवारी बोधको मन्दिर बनेको छ ।’ ज्ञवाली पर्यटन मन्त्री भएका बेला विमानस्थल निर्माणको काम अघि बढेको थियो ।

विमानस्थलमा जहाज अवतरण भएसँगै गुल्मेलीमा विकास र आर्थिक समृद्धिको ढोका खुल्ने आशा व्यक्त गरेका छन् । विमानस्थल सञ्चालनपछि पर्यटन क्षेत्र फस्टाउने र सुविधा बढ्ने आशा युवा व्यवसायी सुदर्शन खनालले व्यक्त गरे । ‘गुल्मीका लागि यो राम्रो अवसर हो,’ उनले भने, ‘गुल्मी अब चार जिल्लाको केन्द्र बन्न सक्छ ।’ विमानस्थलबाट छिमेकी पाल्पा, बाग्लुङ, प्यूठान र अर्घाखाँचीका जनताले पनि सहज हवाई सेवा पाउने उनले बताए ।

व्यवसायी तथा हेलिकोप्टर एसोसिएसनका महासचिव योगराज कँडेलले रेसुंगाबाट नियमित सातामा दुई उडानको सम्भावना रहेको बताए । उडानसँगै गुल्मीमा रोजगारी, व्यवसाय र आय आर्जनको सम्भावना बढ्ने उनले बताए । ‘पहिलो एयरपोर्टमा काम गर्ने कर्मचारी, आर्मी, टावर, लोकल सेक्युरिटी बढ्छ, अर्को एयरपोर्टमा उत्रेपछि बाग्लुङको वल्लो भाग, अर्घाखाँची, प्यूठान र पाल्पाको पश्चिम भागसम्म पुग्न सडकमा चहलपहल बढ्छ भने तेस्रो ट्राभल एजेन्सीसँग समन्वय गरेर पर्यटकलाई गुल्मीको रुट राख्न सकिन्छ,’ उनले भने, ‘यसका साथै ठूला होटल व्यवसायमा लगानी बढाउन सहयोग हुन्छ ।’

प्रकाशित : पुस २५, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?