कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हत्या आरोपमा पक्राउ परेका भारतीय युवक 'सिरियल किलर'

भारतीय युवक सुशान्त सिंहले गहना लुट्ने उद्देश्यले तीन महिलाको श्रृंखलाबद्ध रुपमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वीरेन्द्र केसी

अर्घाखाँची — गहना लुट्न भारतीय नागरिकले अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गरेको खुलासा भएको छ । भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंहले चार महिनामा तीन जना एकल महिलाको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका भारतीय युवक 'सिरियल किलर'

प्रहरीको अनुसन्धान अनुसार उनले महिलाको हत्या गरेर गहना लुटेर भागेका थिए । अर्घाखाँचीमा तेस्रो पटक महिलाको हत्या गरी भाग्ने क्रममा प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सिंहले तीनवटा एउटै प्रकृतिका घटनाको विवरण प्रहरीसामुु बताएका छन् । हत्या गर्ने योजनामा सघाएको आरोपमा प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।

शितगंगा नगरपालिका–१० की ६० वर्षीया राधा थापालाई दूध लिन जाने क्रममा बाटामै हत्या गरी गरगहना लटेर भाग्दै गर्दा पक्राउ परेका २३ वर्षीय भारतीय नागरिक शुसान्त सिंह 'सिरियल किलर' भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि उनले कपिलवस्तु र गुल्मीमा पनि महिलाको हत्या गरेका थिए ।

यही पुस १७ गते बिहान ९ बजेतिर होटलमा आउने पाहुनालाई चिया खुवाउन दूध लिन जाँदै गर्दा सिंहले थापालाई ढुंगा र हँसिया प्रहार गरी हत्या गरेर भाजामारे जंगलको खोल्सामा फालेर गहना लिएर भागेका थिए । भाग्ने क्रममा जंगलमा लुकी बसेको अवस्थामा प्रहरीले सिंहलाई पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा सिंह र श्रीमती शिवा परियारले मिलेरै हत्या गर्ने योजना बनाएको प्रहरीलाई बताएका थिए । सिंहले ३ वर्षअघि बोखर गाउँकी परियारसँग विवाह गरेका थिए । थापालाई हत्या गरेर मडहरी, सिक्री लगायत गहना लगेर भागेका थिए । प्रहरीले गहनासहित पक्राउ गरेपछि सिंहले प्रहरीसामु थापाको हत्या स्वीकार गरेका थिए । उनकी श्रीमतीलाई पक्राउ गरी अनुसन्धान गर्दा थापाको हत्या गर्न श्रीमानलाई सघाएको र योजना बनाउन सहयोग गरेको प्रहरीलाई परियारले बयान दिएकी छन् ।

दम्पतीलाई पक्राउ गरी सोधपुछ र अनुसन्धान गर्दा यसअघि पनि यस्तै घटना घटाएको सिंहले बताएका छन् । प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले गुल्मी र कपिलवस्तुमा पनि महिलालाई हत्या गरेको स्वीकार गरेको बताए । २०७९ असोज १४ गते कपिलवस्तु विजयनगर गाउँपालिका–४ विजयनगर बस्ने ७० वर्षीया योगमाया गैरेलाई हत्या गरेको पुष्टि भएको छ । चिनजान गरेपछि घरमा एक्लै रहेको बेला आमा ढोका खोल्नुस भन्दै हत्या गरी गहना लुटपाट गरेका थिए । गहना लुटेर चन्द्रौटा हुँदै भारत गएको प्रहरीलाई बयान दिएको उनले बताए ।

सिंहले २०७९ कात्तिक २८ गते गुल्मीको इष्मा गाउँपालिका–५ बस्ने ७५ वर्षीया जीवकला थापालाई पनि घरमै पुगेर हत्या गरी गहना लगेर भागेका थिए । जीवकला घरमा एक्लै रहेको सामाजिक सञ्जालबाट भिडियो हेरी सिंह गुल्मी पुगेका थिए । घरमा छोराछोरी कोही नभएको र श्रीमानको मृत्यु भइसकेको थाहा पाएर घरमा पुगेका सिंहले जीवकलाको घाँटी थिची हत्या गरी सुनका गरगहना लुटी भागेका थिए ।

तीनवटै घटना गहनाकै लागि सिंहले हत्या गरेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए । घरमा परिवार को–को छन्, एकल महिला भएको पत्ता लगाउने र महिलाको शरीरमा गहना देखेपछि योजना बनाएर हत्या गर्दै गहना लुट्ने सिंह पेशेवर सिरियल किलर नै भएको उनले बताए ।

यसरी लगातार तीनवटा एउटै प्रकृतिका घटना घटाउन सिंह मात्रै हुन् कि अरु पनि संलग्न गिरोह नै छ भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनले बताए । भारतबाट ३ वर्षअघि नेपाल भएर सिद्धाराकी परियारसँग विवाह गरेपछि कपिलवस्तु डेरा गरी बस्दै आएका छन् । भारतमा उनको बाल्यकालदेखिको पृष्ठभूमिबारे पनि अनुसन्धान गरिने उनले बताए ।

प्रकाशित : पुस २४, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?