तरकारीदेखि कपडासम्म तस्करी

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार बढेको छ । भारतीय सीमावर्ती क्षेत्रबाट खाद्यान्न, मोटरपार्ट्स, हरियो केराउ, विद्युतीय सामग्री र कपडा भन्सार छलेर नेपाल भित्रिने गरेको हो । सीमानाकाका भित्री सडक हुँदै सुरक्षाकर्मीकै अगाडि सामान ओसारपसार हुँदा समेत सरोकारवाला निकाय मौन बसेको सर्वसाधारणको गुनासो छ । 

तरकारीदेखि कपडासम्म तस्करी

स्थानीय, प्रदेश र संघको निर्वाचनको बहाना बनाउँदै नाकामा कडाइ कम गरेपछि तस्करी थप मौलाएको हो । सामान ओसारपसार र भन्सार छलीमा पोके व्यापारी (घर र पसलसम्म भन्सार छलीका सामान पुर्‍याउने)ले भारतबाट थोरै थोरै मात्रामा सामान नेपाल ल्याउने र भण्डारण गरेर नवलपरासीका मुख्य बजारदेखि काठमाडौंसम्म पुर्‍याउने गरेको खुलेको छ । ‘खुलेयाम तस्करी भइरहेको छ । मुख्य नाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको नदेख्ने परिपाटी बढ्यो,’ भुजहवाका रामप्रित हरिजनले भने, ‘धेरै मुनाफा कमाउन सानादेखि ठूला व्यवसायीले पनि भन्सार छलीका सामान लिने गरेका छन् ।’

लत्ताकपडा, विद्युतीय, कस्मेटिक र कवाडी सामानको तस्करी हुने गरेको छ । यसबाहेक कुखुराका चल्ला र मासु भित्रिने गर्छ । तरकारी भित्रिंदा नेपाली किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य पाएका छैनन् । विभिन्न नाकाबाट मोटरसाइकल र साना सवारीमा रातारात तरकारी नेपाल भित्रिने गरेको छ । लुकीछिपी सीमापार गरेपछि नेपाली व्यवसायीसँग मिलेर बिल भर्पाइ मिलाएर जिल्लाको मुख्य बजार सदरमुकाम परासी, बर्दघाट, सुनवल र गाउँगाउँसम्म भारतीय उत्पादन पुग्ने गरेको बर्दघाट नगरपालिकाका किसान राजेन्द्र चौधरीले बताए । आफूले उत्पादन गरेको मूला बिक्री नै नभएको उनले सुनाए । ‘नेपालमा तरकारीको उत्पादन लागत बढी छ । मल, बीउ महँगो पर्दा भारतमा उत्पादन भएको भन्दा हामीले उत्पादन गरेको तरकारी केही महँगो पर्न जान्छ,’ उनले भने, ‘उत्पादन लागत कम भएको र भन्सार छली गरेर ल्याएको भारतीय तरकारी सस्तोमा उपलब्ध हुने भएपछि हामीले उत्पादन गरेको तरकरीले बजार पाएको छैन ।’

अहिले पश्चिम नवलपरासीमा नेपाली मुला प्रतिकिलो ३० देखि ४० रुपैयाँमा बिक्री गर्दा पनि किसानलाई फाइदा छैन । तर, त्यही मुला भारतबाट ल्याएर २० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काठमाडौं, नारायणगढजस्ता ठूला बजारमा पठाउन किसानले सक्दैनन्, जसको कारण सस्तोमा बिक्री गर्न बाध्य छन् । यहाँ आलु, प्याज, खुर्सानी र फलफूल पनि भारतबाट नै आयात गरेर बिक्री हुँदै आएको छ । माछा र मासुसमेत भारतबाट नै भन्सार छलेर हाट बजारदेखि फ्रेस हाउससम्म आइपुग्छ ।

सीमा नाकामा हुने चोरी तस्करीमा मिलेमतो गरेको र अवैध धन्दा रोक्न नसकेको भन्दै जिल्लाको जनपद र सशस्त्र प्रहरीका प्रमुख हेडक्वार्टर तानिएका छन् । जिल्ला प्रहरी प्रमुख रहेका एसपी ऋषिराम कँडेललाई चार दिनअघि प्रहरी प्रधान कार्यालय तानिएको हो । यसैगरी सशस्त्र प्रहरी २६ नम्बर गण पश्चिम नवलपरासीका प्रमुख रूपकुमार क्षत्रीलाई पनि मंसिर दोस्रो साता हेडक्वार्टर तानिएको थियो ।

सीमावर्ती क्षेत्रका चौकीका इन्चार्जहरूलाई समेत जिल्ला तानिएको छ । जिल्लामा पछिल्लो समय संगठित रूपमा नै चोरी पैठारी भएको जनगुनासो छ । गुनासो बढेपछि सशस्त्र र जनपद दुवै प्रहरी कार्यालयले तराई भेगका सीमावर्ती क्षेत्रमा अध्ययन गर्न टोली खटाएको थियो ।

जिल्लाका सुरक्षा प्रमुखहरू काठमाडौं तानिएको बारे प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले काठमाडौं गएको थाहा पाए पनि कारण भने जानकारी नभएको बताए । ‘काठमाडौं गएको भन्ने बुझेको छु । कारण भने थाहा भएन,’ उनले भने, ‘तस्करी रोक्न स्पष्ट निर्देशन छ । भन्सार छली गरेर सामान ल्याएको र ल्याउन सघाउने जोसुकैलाई कारबाही हुन्छ ।’

प्रकाशित : पुस २४, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?