३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पश्चिम नवलपरासीका जनपथपका एसपी पनि हेडक्वार्टर तानिए

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा सीमा-नाकामा हुने चोरी तस्करीमा मिलेमतो गरेको र त्यहाँ हुने अवैध धन्दा रोक्न नसकेको भन्दै जिल्लाको जनपथ र सशस्त्र प्रहरीका प्रमुख हेडक्वार्टर तानिएका छन् । जनपथ प्रहरीका एसपी ऋषिराम कँडेललाई चार दिनअघि प्रहरी प्रधान कार्यालय तानिएको हो ।

यसैगरी सशस्त्र प्रहरी २६ नम्बर गण पश्चिम नवलपरासीका प्रमुख रुपकुमार क्षेत्रीलाई पनि मंसिरको दोस्रो साता हेडक्वार्टर तानिएको थियो ।

जिल्लामा पछिल्लो समय संगठित रुपमा नै अवैधरुपमा चोरी पैठारी भएको जनगुनासो बढेको छ । सीमानाकामा हुने चोरी पैठारी रोक्न नसकेको र राजस्व संकलनमा कमी आएको भन्दै जिल्लाका दुईवटै सुरक्षा प्रमुखलाई काठमाडौं तानिएको स्रोतले जनाएको छ ।

प्रहरी प्रमुखलाई हेडक्वाटर तानेपछि जिल्लाको सीमावर्ती क्षेत्रमा रहेका चौकीका इन्चार्जहरूलाई समेत जिल्ला तानिएको छ । पछिल्लो समय नेपालबाट भारततर्फ हरियो मटर, मसला र भारतबाट नेपालतर्फ लत्ताकपडा, विद्युतीय सामग्री, मोटरपार्ट्स र कस्मेटिक सामग्रीको अवैध आयात बढेको जनगुनासो आएको थियो । गुनासो बढेपछि सशस्त्र र जनपथ दुवै प्रहरी कार्यालयले तराई भेगको सीमावर्ती क्षेत्रमा बढेको चोरी निकासीको सूक्ष्म अध्ययन गर्न टोली खटाएको थियो ।

जिल्लाका सुरक्षा प्रमुखहरू काठमाडौं तानिएकोबारे प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले काठमाडौं गएको थाहा पाए पनि कारण भने जानकारी नभएको बताए । ‘काठमाडौं कामका कारण गएको भन्ने मैले बुझेको छु । कारण भने थाहा भएन‚’ पोखरेलले भने ।

प्रकाशित : पुस २१, २०७९ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?