छाडा चौपायालाई यातना दिइएको भन्दै भ्रम फैलाइयो : सिद्धार्थनगर नगरपालिका- लुम्बिनी - कान्तिपुर समाचार

छाडा चौपायालाई यातना दिइएको भन्दै भ्रम फैलाइयो : सिद्धार्थनगर नगरपालिका

माधव ढुंगाना

भैरहवा — सिद्धार्थनगर नगरपालिकाले सडकमा छाडिएका छाडा चौपायाहरूलाई यातना दिइएको भन्दै भ्रम फैलाइएको बताएको छ । नगरका छाडा चौपायालाई नियन्त्रण गर्ने नाममा नगरपालिकाका कर्मचारीले अमानवीय ढंगले यातना दिएको भनी विभिन्न सामाजिक सञ्जालबाट भाइरल बनाइएको विषयप्रति नगरपालिकाले कुनै यातना नदिइएको दाबी गरेको हो ।


नगरका छाडा गाईगोरुलाई नियन्त्रण गर्ने क्रममा बुधबार साँझ एउटा गोरुलाई गाडीमा बाँधेर रक्ताम्मे बनाउदै नगरपालिकाका कर्मचारीले क्रूरतापूर्ण ढंगले सडकमा घिसारेको भनी समाजिक सञ्जालमा चर्चित बनाइएको विषयप्रति नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी कुनै यातना नदिइएको बताएको हो ।

उक्त गोरुलाई नियन्त्रणमा लिने क्रममा यातना दिइएको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै बिहीबार अपराह्न नगरको एउटा समूहले नगरपालिका र जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत दिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले बिहीबार नै प्रेस विज्ञप्ति जारी गर्दै हिन्दूहरूको आस्थाको प्रतिक गाईलाई अमानवीय ढंगले जिउँदै रक्ताम्मे हुने गरी घिसारिएको कार्यप्रति ध्यानाकर्षण भएको र हिन्दूहरूको आस्थामा गम्भीर चोट पुगेको जनाएका थिए ।

नगरपालिकाले भने उक्त साँढेलाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा लैजान गाडीमा डोरीले बाँधेर डोर्‍याएर लैजाने क्रममा साढे सडकमा अचानक बसेको र तत्कालै गाडी ब्याक गरी डोरी फुकाइएपछि साँढे उठेर अन्यत्र लागेको भनी सीसी टीभी फुटेज सार्वजनिक गरेको थियो । उक्त फुटेजमा साँढेलाई यातना दिइएको तथा घिसारिएको देखिएको छैन न त कुनै अंगमा चोटपटक लागेर रगत आएको दृष्य नै । नगरपालिकाले उक्त साँढे बिहीबार स्वतन्त्र रुपमा खेलिरहेको भिडियो पनि सार्वजनिक गरेको थियो ।

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खानले नगरका कुनै पनि छाडा गाईगोरुलाई नियन्त्रणमा लिने क्रममा कुनै पनि अमानवीय व्यवहार नगरिएको जनाउँदै नियन्त्रणमा लिइएको गाईगोरुलाई पनि उचित व्यवस्थापनका साथ राखिएको बताए ।


प्रकाशित : पुस २१, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

धार्मिक कार्यक्रमका लागि लुम्बिनीमा २ हजार श्रद्धालु आउँदै

भारतीय आध्यात्मिक गुरु मुरारी बापु दिल्लीबाट विमान चार्टर गरी माघ २१ गते भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ
माधव ढुंगाना

भैरहवा — माघको अन्तिम साता लुम्बिनीमा भारतका आध्यात्मिक गुरु मुरारी बापुबाट हुने ‘रामकथा प्रवचन’ सहितको धार्मिक कार्यक्रममा सहभागी हुन करिब २ हजार जना स्वदेशी र विदेशी श्रद्धालु लुम्बिनी आउने भएका छन् ।

माघको २१ देखि २९ गतेसम्म हुने उक्त कार्यक्रमका लागि लुम्बिनीका अधिकांश होटेल अग्रिम बुक गरिएका छन् । मुरारी बापुको यो कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा तय गरिएको थियो । तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रम संचालनका लागि लुम्बिनी विकास कोषले अनुमति दिएको छ ।

कार्यक्रममा सहभागी हुने जानकारी भारत र विभिन्न तेश्रो मुलुकबाट पनि आइरहेको बताइएको छ । कार्यक्रम सफल बनाउन गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रका अनुसार कोरोना महामारीपछि यति भव्य कार्यक्रम लुम्बिनीमा पहिलो पटक हुन लागेको हो ।

‘तत्कालका लागि २ हजारलाई बस्ने व्यवस्था लुम्बिनीका स्थानीय होटेलमा मिलाइएको छ । श्रद्धालु बढेमा त्यही अनुरुप व्यवस्था मिलाइने छ,’ मिश्रले भने ।

उनका अनुसार माघ २१ का दिन मुरारी बापु भारतको दिल्लीबाट एउटा चार्टर विमानद्वारा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ । यस धार्मिक कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

प्रत्येक दिन तीन पटकसम्म ५ हजारभन्दा धेरैलाई निःशुल्क खानका लागि भण्डाराको प्रबन्ध मिलाइएको छ ।

धेरै समयपछि एकै समयमा यति धेरै होटेल बुक हुँदा लुम्बिनीका होटेल व्यवसायीहरू पनि उत्साहित बनेको स्थानीय व्यवसायीहरू बताउँछन् । लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले उक्त धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जनभन्दा धेरै होटेल बुक भइसकेको बताए । ‘यसले होटेल व्यवसायीलाई धेरै राहत दिनेछ र पर्यटक बढाउन सकारात्मक प्रभाव पार्ने छ’ ज्ञवालीले भने ।

प्रकाशित : पुस २०, २०७९ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×