१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश राजधानी जोड्ने सडक अलपत्र

वीरेन्द्र केसी

अर्घाखाँची — दाङको देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापना भएपछि प्रदेश राजधानी जोड्ने सडक सञ्चालनको आशा पलाएको छ । अर्घाखाँचीबाट सिधै आउजाउ गर्ने सडक दुई दशक बितिसक्दा पनि अधुरै छ । २४ वर्षसम्म अधुरै रहेको गच्छे–भालुवाङ सडकलाई राजधानी स्थापनापछि चासो दिन थालिएको हो । 

प्रदेश राजधानी जोड्ने सडक अलपत्र

सुरुमा सदरमुकाम जोड्न गच्छेबाट धनचौर गाउँसम्म यातायातको पहुँच पुर्‍याउने भनेर सडक निर्माणको काम सुरु गरिएको थियो । पछि यसलाई दाङ र अर्घाखाँचीलाई जोड्ने भन्दै गच्छे–भालुवाङ नामकरण गरियो । तर, बजेट पर्याप्त नभएकाले वर्षौंसम्म पनि योजना सम्पन्न हुन सकेको छैन । पछिल्ला चुनावमा उम्मेदवार र दलका नेताले चुनावी एजेन्डा बनाए पनि जितेपछि यो सडकलाई महत्वको रूपमा चासो नै दिइएको छैन ।

अहिले गच्छे–लामातालसम्म सडक निर्माणको काम सुस्त गतिमा भइरहेको छ । तामाताल–भालुवाङसम्म सडकको डीपीआरसम्म गरिएको छैन । तामाताल नजिकै नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणाधीन छ । नालीबाहेक ७ मिटर चौडाइ छाडेर सडक बनाइँदै छ । गच्छे–तामाताल ४७ किमि सडक ग्राभेलका लागि स्टक्चरको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद चौधरीले बताए । ‘धनचौरको टोड्के–जलुके–तामालामा १२ करोड रुपैयाँमा काम भएको छ,’ उनले भने, ‘यो आर्थिक वर्षमा ग्राभेल गर्ने हो । स्टक्चर र कटिङको काम जारी छ ।’

दुर्गम गाउँ सिद्धारा, जलुके र जुकेनाको मुहार फेर्ने उद्देश्यले गच्छे–भालुवाङ सडक २०५६ सालबाट निर्माण सुरु भएको हो । यस सडक शितगंगा नगरपालिका वडा ५, ६, ७ र ८ भएर जान्छ । यहाँको वडा ७ र ८ को केही भूगोल स्थायी राजधानीमा समेटिएको छ । नौमुरे बहुउद्देश्यीय आयोजना, योगका प्रवर्तक पतञ्जलीको जन्मस्थल जलुके, राप्ती नदी पनि भएको यो धार्मिक पर्यटकीय र व्यापारिक सडक बेवास्ताको सिकार भइरहेको सरोकारवालाले बताएका छन् ।

पूर्वजिविस सभापति पीताम्बर भुसालले हालका सांसदले गच्छे–भालुवाङ सडकको बजेट काटेर अन्यत्र लैजाने गरेको र बजेट पार्न खासै चासो नदिएकाले २४ वर्षसम्म पनि सडक अधुरै रहेको बताए । देउखुरी आउजाउ गर्न गुल्मी, पाल्पा र अर्घाखाँचीवासीका लागि यो सबैभन्दा छोटो दूरीको सडक हो । अर्घाखाँचीबाट भालुवाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्व–पश्चिम राजमार्गको बाटो हिँड्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुवाङ १ सय २४ किमि दूरी छ । सन्धिखर्कबाट दुई किमि टाढाको गच्छे–भालुवाङ सडक ६४ किमिको रहेको छ ।

शितगंगा–७ का पूर्ववडाध्यक्ष मोहन पन्थीले गच्छे–भालुवाङ सडकलाई राज्यले नै प्राथमिकतामा नराखेको बताए । जलुके, जुकेना क्षेत्रका गाउँका सडक पूरा नभएका कारण पछाडि परेको उनले बताए । प्रदेश राजधानीमा अर्घाखाँचीको भूगोल समेटिएपछि र तालाताल–भालुवाङ सडकको ट्र्याक खुल्यो भने यस क्षेत्रको विकास, गाउँको आर्थिक रूपान्तरण हुनेमा आशावादी रहेको उनले बताए । ‘पतञ्जलीको जन्मस्थल पुष्टि भएपछि धार्मिक तीर्थस्थल हुनेछ,’ उनले भने, ‘यहाँ पतञ्जलीको मूर्ति पनि स्थापना भएको छ ।’ सडक विस्तार भए गाउँको तरकारी, अन्न उत्पादन र पशुपालनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : पुस २१, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?