धार्मिक कार्यक्रमका लागि लुम्बिनीमा २ हजार श्रद्धालु आउँदै- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक कार्यक्रमका लागि लुम्बिनीमा २ हजार श्रद्धालु आउँदै

भारतीय आध्यात्मिक गुरु मुरारी बापु दिल्लीबाट विमान चार्टर गरी माघ २१ गते भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ
माधव ढुंगाना

भैरहवा — माघको अन्तिम साता लुम्बिनीमा भारतका आध्यात्मिक गुरु मुरारी बापुबाट हुने ‘रामकथा प्रवचन’ सहितको धार्मिक कार्यक्रममा सहभागी हुन करिब २ हजार जना स्वदेशी र विदेशी श्रद्धालु लुम्बिनी आउने भएका छन् ।

माघको २१ देखि २९ गतेसम्म हुने उक्त कार्यक्रमका लागि लुम्बिनीका अधिकांश होटेल अग्रिम बुक गरिएका छन् । मुरारी बापुको यो कार्यक्रम सन् २०१९ मा पनि लुम्बिनीमा तय गरिएको थियो । तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हलमा कार्यक्रम संचालनका लागि लुम्बिनी विकास कोषले अनुमति दिएको छ ।

कार्यक्रममा सहभागी हुने जानकारी भारत र विभिन्न तेश्रो मुलुकबाट पनि आइरहेको बताइएको छ । कार्यक्रम सफल बनाउन गठित रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्रका अनुसार कोरोना महामारीपछि यति भव्य कार्यक्रम लुम्बिनीमा पहिलो पटक हुन लागेको हो ।

‘तत्कालका लागि २ हजारलाई बस्ने व्यवस्था लुम्बिनीका स्थानीय होटेलमा मिलाइएको छ । श्रद्धालु बढेमा त्यही अनुरुप व्यवस्था मिलाइने छ,’ मिश्रले भने ।

उनका अनुसार माघ २१ का दिन मुरारी बापु भारतको दिल्लीबाट एउटा चार्टर विमानद्वारा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ । यस धार्मिक कार्यक्रमको भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

प्रत्येक दिन तीन पटकसम्म ५ हजारभन्दा धेरैलाई निःशुल्क खानका लागि भण्डाराको प्रबन्ध मिलाइएको छ ।

धेरै समयपछि एकै समयमा यति धेरै होटेल बुक हुँदा लुम्बिनीका होटेल व्यवसायीहरू पनि उत्साहित बनेको स्थानीय व्यवसायीहरू बताउँछन् । लुम्बिनी होटेल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले उक्त धार्मिक कार्यक्रमका लागि लुम्बिनीका दुई दर्जनभन्दा धेरै होटेल बुक भइसकेको बताए । ‘यसले होटेल व्यवसायीलाई धेरै राहत दिनेछ र पर्यटक बढाउन सकारात्मक प्रभाव पार्ने छ’ ज्ञवालीले भने ।

प्रकाशित : पुस २०, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवाबाट हुने सबै हवाई उडान रद्द, कुहिरोले ढाक्यो विमानस्थल

माधव ढुंगाना

भैरहवा — बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए । ‘बिहीबारलाई हवाई उडान हुन सक्ने सम्भावना कम छ’ झाले भने, ‘साँझ भएपछि हुस्सु झन बाक्लिँदै जान थालेको छ ।’

उनका अनुसार भैरहवा–काठमाडौं बीच दैनिक २१ वटा आन्तरिक उडान र एउटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । आन्तरिक उडानका लागि दैनिक सरदर १ हजार यात्रु भैरहवा आउने र भैरहवाबाट प्रस्थान गर्ने गर्छन् । हुस्सु र कुहिरोका कारण जजिराको कुवेतबाट भैरहवाका लागि बुधबार राति २ बजे हुनु पर्ने अन्तर्राष्ट्रिय उडान पनि हुन सकेन ।

हवाई उडान संचालनका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी (आँखाले देख्न सकिने दूरी) आवश्यक पर्छ । बिहीबार भैरहवामा ३ सय मिटर मात्र भिजिविलिटी थियो । काठमाडौं–भैरहवा बीचको हवाई उडान सञ्चालन नहुँदा भारतीय अभिनेता विवेक ओवराय र सुरेश ओवराय बुद्ध जन्मस्थल लुम्बिनी आउने योजना पनि प्रभावित भएको छ । बिहीबार उनीहरु दुवैले बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरको भ्रमण गर्ने योजना रहे पनि हुन नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले जानकारी दिए ।

प्रकाशित : पुस ७, २०७९ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×