‘प्रदेशको औचित्य पुष्टि गर्ने चुनौती’

दाङ — लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारदेखि सुरु भएको छ । पहिलो दिन दुई बैठक बसेका छन् । पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको हो ।

प्रदेश प्रमुख शेरचनले बैठकमा प्रदेशसभाको पहिलो कार्यकालले सफलतापूर्वक काम गरेको बताए । ‘सरकारले राजधानी व्यवस्थापनदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय प्रशंसनीय छन्,’ उनले भने, ‘अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास छ ।’
प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ । बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरूले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघसंस्थाले गरेको सहयोगको चर्चा गरे । उनले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै बिर्सन नहुने बताए ।
‘हामीले प्रदेशसभाको पहिलो बैठकबाट कम्तीमा पनि बुटवलका संघसंस्थालाई धन्यवाद भन्नै पर्थ्यो,’ उनले भने, ‘म मेरो दल र मेरो व्यक्तिगत तर्फबाट भए पनि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ उनले अघिल्लो प्रदेशसभाले निष्पक्ष ढंगले काम गर्न नसकेको पनि आरोप लगाए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको दीर्घकालीन स्थिरताका लागि सरकार भत्काउने र बनाउने नाजायज विषयमा यो प्रदेशसभा नलाग्ने विश्वास पनि व्यक्त गरे । ‘सरकार भत्काउने र बनाउने कुराबाट हामी मुक्त हुनैपर्छ,’ उनले भने, ‘धेरै माननीयहरू युवा जोस र जाँगरका साथ प्रवेश गर्नु भएको छ । त्यसले प्रदेशको समृद्धिका लागि ठूलो सहयोग पुग्नेछ ।’ जनताले यो परिवर्तनबाट के पायौं भन्ने अनुभूति प्रदान गर्न र त्यो जिम्मेवारी पूरा गर्न यो प्रदेशसभा सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको बताउँदै दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताए । ‘चुनौती र सम्भावना दुवै छन्,’ उनले भने, ‘संघीयता चाहिन्छ, चाहिंदैन भन्ने छ,’ उनले भने, ‘जनताको भावनालाई एकीकृत गर्दै औचित्य पुष्टि गर्ने चुनौती छ ।’ त्यो चुनौती सबैको सामूहिक चाहना र प्रयासमा मात्र सम्भव भएको उनले बताए ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे । ‘हामीले प्रदेशको विकासका लागि उच्च राजनीतिक संस्कार देखाउनैपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैको साझा प्रयास र सहकार्य जरुरी छ ।’ प्रदेशसभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकीकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाका तारा थापाले बोलेका थिए । अधिकांश वक्ताको आगामी प्रदेशसभाको कार्यकालले प्रदेशसभाप्रतिको वितृष्णा अन्त्य गर्नेमा ध्यान पुग्नु पर्ने र कानुन निर्माणमा जोड दिनु पर्ने बताएका थिए ।
प्रदेशसभाको पहिलो बैठक र दोस्रो दुवै बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नु पर्ने कानुनी व्यवस्था छ । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने ज्येष्ठ सदस्य भुसालले बताए । ‘त्यही दिन नै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘त्यसपछि प्रदेशसभाले आफ्नो नियमित कार्यसम्पादन र जिम्मेवारीमा अघि बढ्ने छ ।’ प्रदेशसभामा १० दलको सहभागिता छ ।
यी हुन् प्रदेशसभाका ज्येष्ठ सदस्य
प्रदेशसभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बैठकको अध्यक्षता गरेका छन् । आइतबार शपथ लिएसँगै उनले यसको सुविधा लिइसकेका छन् । गुल्मी–२ (१) बाट निर्वाचित भुसाल प्रदेशसभाका ८७ जना सांसदहरूमध्ये ज्येष्ठ सदस्य हुन् । उनलाई आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनले ज्येष्ठ सदस्यको प्रमाणपत्र दिएका थिए । निर्वाचन आयोगको विवरण अनुसार उनको जन्म २०१० जेठ ७ गते भएको हो । ६९ वर्षीय भुसालले सभामुख र उपसभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन् ।
लुम्बिनी प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसाल । तस्बिर घनश्याम गौतम/कान्तिपुर
गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घास निवासी भुसालको जन्म भने अर्घाखाँचीको साविक मरेङ गाविस–६ र हालको मालारानी–१ मा भएको थियो । उनी रेसुंगा नगरपालिकाका पूर्वनगर प्रमुख हुन् । उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । २०३८ सालमा माले पार्टीसँग आबद्ध भएका उनी पार्टी राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील थिए । तम्घास अस्पताल विकास समितिको अध्यक्ष, गुल्मी उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका भुसाल विभिन्न सामाजिक संघसंस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
कांग्रेस र माओवादी दलका नेता सर्वसम्मत
नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभाको संसदीय दलका नेता सर्वसम्मत छानेका छन् । कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादीका जोखबहादुर महरा सोमबार सर्वसम्मत चयन भएका हुन् । यसअघि एमालेले आइतबार रूपन्देही–२ (१) बाट प्रदेशसभामा निर्वाचित लीला गिरीलाई सर्वसम्मत प्रदेश संसदीय दलको नेतामा छानेको थियो ।
डिल्लीबहादुर चौधरी
कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरूको दाङको देउखुरीमा सम्पन्न भेलाले चौधरीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको कांग्रेस प्रदेशसभापति अमरसिंह पुनले बताए । चौधरी शेरबहादुर देउवा निटक मानिन्छन् । कांग्रेस संसदीय दलको नेताका लागि रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत भएका हुन् । चौधरी दाङ–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिलेको प्रदेशसभामा उनी ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री छन् । उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदार थिए ।
जोखबहादुर महरा
यसै गरी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा रोल्पाका जोखबहादुर महरा सर्वसम्मत भएका हुन् । सोमबार दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरूको बैठकले महरालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउन मुस्किल भएको थियो । कसैले पनि दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको विशेष निर्देशनमा महरालाई नेता चयन गरिएको बताइएको छ । महरा रोल्पा (१)बाट निर्वाचित हुन् ।
महरा माओवादीको स्थायी कमिटी सदस्य एवं प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् । प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ ४ गरी ९ जना निर्वाचित भएका छन् ।
प्रकाशित : पुस १९, २०७९ ०९:०२