लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, पहिलो दिन दुई बैठक

घनश्याम गौतम

दाङ — लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो दिन दुई बैठक सम्पन्न भएका छन् । सोमबारदेखि सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभाको बैठक आह्वान सम्बन्धी प्रदेश प्रमुख अमिक शेरचनले पठाएको पत्रको जानकारी गराइएको थियो ।

लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, पहिलो दिन दुई बैठक

बैठकमा बोल्दै प्रदेश प्रमुख शेचरनले प्रदेशसभाको पहिलो कार्यकालले लुम्बिनी प्रदेशमा सफलतापूर्वक धेरै काम गरेको बताए । उनले सरकारले राजधानी व्यवस्थापन गर्नेदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहतका विषय उल्लेख गर्दै सरकारका कामको प्रशंसा गर्दै अबको अधिवेशन पनि त्यही गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ । बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरुले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघ संस्थाले गरेको सहयोगको चर्चा गरे । उनले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै भुल्न नहुने बताए ।

बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल चूनौतीपूर्ण रहेको बताए । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गरे । प्रदेशसभामा राप्रपाका आशिषकुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकिकृतकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाले तारा थापाले बोलेका थिए । अधिकांश वक्ताको आगामी प्रदेशसभाको कार्यकालले प्रदेशसभाप्रतिको वितिष्णा अन्त्य गर्नेमा ध्यान पुग्नु पर्ने र कानुन निर्माणमा जोड दिनु पर्ने बताएका थिए ।

प्रदेशसभाको पहिलो बैठक र दोस्रो दुवै बैठक प्रदेशसभाका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा बसेको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन गर्नु पर्ने कानुनी व्यवस्था छ । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने जेष्ठ सदस्य भुसालले बताए । ‘त्यही दिन नै सभामुख र उपसभामुखको निर्वाचन प्रकृया सुरु हुनेछ,’ उनले भने, ‘त्यसपछि प्रदेशसभाले आफ्नो नियमित कार्यसम्पादन र जिम्मेवारीमा अघि बढ्ने छ ।’ लुम्बिनी प्रदेशसभाका १० दलको सहभागिता रहेको छ ।

प्रकाशित : पुस १८, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?