१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अंग्रेजी सुधार्न ‘सक्षम’ कार्यक्रम

पाल्पा — सिकाइ उपलब्धि न्यून रहेको र कक्षा छाड्ने दर उच्च रहेको माथागढी गाउँपालिकामा अंग्रेजी भाषा सुधार्न ‘सक्षम’ कार्यक्रम सुरु गरिएको छ । पालिकाभित्रका विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार्दै शिक्षण सिकाइ प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको सहयोगमा यो कार्यक्रम यसै वर्षदेखि सुरु गरिएको हो । कार्यक्रम ४१ सामुदायिक र ४ संस्थागत विद्यालयमा कार्यान्वयन भएको पालिकाले जनाएको छ ।

अंग्रेजी सुधार्न ‘सक्षम’ कार्यक्रम

विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय बनाउन कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । ‘यसअघि लागू भएका दुई पालिकामा गरेको अध्ययनबाट हामी प्रभावित भएर यहाँ सुरु गरेका हौं,’ उनले भने, ‘यो कार्यक्रमबाट समग्र माथागढीको अवस्थालाई नै परिवर्तन गर्न चाहन्छौं ।’

सामुदायिक विद्यालयहरूलाई शिक्षा र व्यवस्थापन सुधार्ने योजना रहेको सक्षम कार्यक्रम संयोजक अशेष भट्टराईले बताए । सामुदायिक र संस्थागत विद्यालयहरूको शिक्षामा एउटै गुणस्तर कायम रहनेगरी कार्यक्रम गरिनेछ । त्यसका लागि अंग्रेजी तथा अन्य विषयगत शिक्षकलाई तालिम दिन सुरु गरेको उनले बताए ।

पालिकाले कार्यक्रम सुरु गर्नुअघि लिएको तथ्यांकअनुसार कक्षा ५ मा सबै विषयमा उत्तीर्ण हुने ३६ प्रतिशत, कक्षा ८ मा २२ प्रतिशत र एसईईको ग्रेड वृद्धि परीक्षा दिन नपर्ने विद्यार्थी १६ प्रतिशत मात्र रहेका शिक्षा शाखा प्रमुख प्रेमबहादुर बारघरेले बताए । उनका अनुसार कक्षा १२ को नतिजाअनुसार ग्रेड वृद्धि परीक्षा दिन नपर्ने विद्यार्थी १० प्रतिशतभन्दा कम छन् । विद्यार्थीको भर्नादर पनि माथिल्लो कक्षामा पुगेपछि घट्दो छ । कक्षा १ मा भर्नादर ९९ प्रतिशत रहेकोमा कक्षा १२ झरेर ४६ प्रतिशत छ । पालिकाको अध्ययनमा गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको उत्तीर्ण प्रतिशत कम छ । जसका कारण उच्च शिक्षा अध्ययन गर्न नपाउने र नसक्ने समस्या छ ।

कार्यक्रमका लागि पालिकाको ५७ प्रतिशत र ब्रिटिस काउन्सिलको ४३ प्रतिशत लगानी रहनेछ ।

प्रकाशित : पुस १५, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?