सुन्तला भण्डारण सुरू

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–२, पोखराथोकका वडाध्यक्ष एवं कृषक चन्द्रकान्त पौडेलले बारीमा फलेका सुन्तला विगतमा बोटमा नपाक्दै बिक्री गरिहाल्थे । छिटोछिटो बुटवल र तराईका व्यापारीलाई कम मूल्यमै निर्यात गरिसक्थे । अहिले बिक्री गर्न हतार छैन । बाटमै पहेंलपुर हुन दिएर छिप्याउने र टिपेर सिधै स्टोरमा राख्ने गरेका छन् । 

सुन्तला भण्डारण सुरू

‘यो बेला सिजन भएकाले जहाँ पनि सुन्तला पाइन्छ, त्यसैले छिटफुट मात्रै बिक्री गरेका छौं,’ उनले भने, ‘धेरैजसो सुन्तला स्टोरमा राख्ने र बेसिजनमा बिक्री गर्ने हो । त्यो बेला भाउ दोब्बर हुन्छ ।’ उनले २० क्विन्टल सुन्तला स्टोरमा राखेको बताए । ‘बोटमै राम्रोसँग पकाएर मात्रै टिप्दै स्टोरमा राखेको छु,’ उनले भने, ‘बिक्री नहोला कि भन्ने चिन्ता छैन । आएका ग्राहकलाई दिएका छौं, खोजेका छैनौं ।’ उनले ४ सयभन्दा बढी सुन्तलाका बोटले उत्पादन दिएको बताए । प्रदेश सरकार र पाणिनि गाउँपालिकाको आर्थिक सहयोगमा पोखराथोकमा ४ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भएको छ । यसपालि मौसमले साथ दियो । रोग, किराले आक्रमण गरेन । गत वर्षभन्दा झण्डै दोब्बर सुन्तला फलेका छन् । गाउँका धेरैजसो कृषकले सुन्तला बोटमै छिप्याएको पौडेलले बताए ।

अहिले काठमाडौंमा प्रतिकिलो १ सयदेखि १ सय २० र बुटवलमा ८५/९० रुपैयाँमा बिक्री भएको शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले बताए । गत वर्ष परीक्षणका लागि केही सुन्तला राखिएको थियो । गत वर्ष कोल्ड स्टोरमा राखेको सुन्तला फागुन/चैतमा बिक्री गर्दा डेढ सय रुपैयाँ किलोमा बिक्री भएको थियो । यसपालि त्यति मूल्यमा बिक्री होला भन्ने अनुमान उनको छ । ४ सय मेट्रिक टन क्षमता रहेको कोल्ड स्टोरमा अहिलेसम्म ३ सय मेट्रिक टन सुन्तला राखिसकेको उनले बताए । अहिलेसम्म २९ जनाले स्टोरमा सुन्तला भण्डारण गरेका छन् । ‘कोल्ड स्टोरले किसानलाई फाइदै भयो,’ उनले भने, ‘यो सिजनको बेला मूल्य घटेर जतिमा झरे पनि बिक्री गर्नुपर्थ्यो, अहिले त्यो चिन्ता छैन । गाउँमा आएका ग्राहकलाई बेचेर बाँकी रहेको सुन्तला स्टोरमा राखेका छौं ।’ पाणिनि गाउँपालिका–१ सिम्लेमा अत्यधिक मात्रामा सुन्तला उत्पादन हुन्छ । यहाँ झन्डै ५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको उनले बताए ।

दुग्ध उत्पादन केन्द्र निर्माण गरिँदै

लुम्बिनी– दूध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा प्रवर्द्धनका लागि रूपन्देहीमा दुग्ध उत्पादन केन्द्र निर्माण गरिने भएको छ । किसानलाई पशुपालनमा आकर्षित गर्न तथा रोजगारलाई बढावा दिने उद्देश्यले दुग्ध उत्पादन केन्द्र स्थापना गर्न लागिएको हो । दुग्ध उत्पादन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सञ्चालित सहकारी संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

बर्दियाको ठाकुरबाबा–१ स्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रूपन्देहीमा ५ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ । उक्त लगानी प्रदेशका १२ वटै जिल्लाको संगमको नमुना लुम्बिनी विशिष्टीकृत सहकारी संघमा रहेको अध्यक्ष भरत अधिकारीले बताए । तिलोत्तमा–६ मा लुम्बिनी विशिष्टीकृत सहकारी संघको स्थापना भएको छ । यसमा लुम्बिनी प्रदेशका १ सय १५ वटा सहकारी संलग्न छन् । ती सहकारीले संघमा आबद्ध भई लगानी समेत गरेका हुन् । उक्त लगानी कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि रहेको अधिकारीको भनाइ छ । ‘प्रदेशस्तरकै सहकारीको साझा संघ बनाई उद्योग स्थापना गर्न अग्रसर हुनु नमुनाको काम हो,’ अधिकारीले भने, ‘यसमा हाम्रो सहकारीमा आबद्ध किसानले दुहेको दूधले समेत बजार पाउँछ । युवा रोजगारी बढ्छ, हामीले ढुक्क भएर लगानी गरेका छौं ।’

संघको १४ सदस्यीय कार्यसमितिले दुग्ध उत्पादन केन्द्र निर्माणदेखि सञ्चालनसम्मको काम सम्हाल्ने संघका अध्यक्ष डा. खगराज शर्माले बताए । यूएचटी प्रविधिको प्रयोग गरी विदेशमा जस्तै नेपालमा पनि ६ महिनासम्म दूध तरल भई रहने र नबिग्रने गरी भण्डारण गरिने उनको भनाइ छ ।

प्रकाशित : पुस १३, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?