सुन्तला भण्डारण सुरू

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–२, पोखराथोकका वडाध्यक्ष एवं कृषक चन्द्रकान्त पौडेलले बारीमा फलेका सुन्तला विगतमा बोटमा नपाक्दै बिक्री गरिहाल्थे । छिटोछिटो बुटवल र तराईका व्यापारीलाई कम मूल्यमै निर्यात गरिसक्थे । अहिले बिक्री गर्न हतार छैन । बाटमै पहेंलपुर हुन दिएर छिप्याउने र टिपेर सिधै स्टोरमा राख्ने गरेका छन् । 


‘यो बेला सिजन भएकाले जहाँ पनि सुन्तला पाइन्छ, त्यसैले छिटफुट मात्रै बिक्री गरेका छौं,’ उनले भने, ‘धेरैजसो सुन्तला स्टोरमा राख्ने र बेसिजनमा बिक्री गर्ने हो । त्यो बेला भाउ दोब्बर हुन्छ ।’ उनले २० क्विन्टल सुन्तला स्टोरमा राखेको बताए । ‘बोटमै राम्रोसँग पकाएर मात्रै टिप्दै स्टोरमा राखेको छु,’ उनले भने, ‘बिक्री नहोला कि भन्ने चिन्ता छैन । आएका ग्राहकलाई दिएका छौं, खोजेका छैनौं ।’ उनले ४ सयभन्दा बढी सुन्तलाका बोटले उत्पादन दिएको बताए । प्रदेश सरकार र पाणिनि गाउँपालिकाको आर्थिक सहयोगमा पोखराथोकमा ४ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भएको छ । यसपालि मौसमले साथ दियो । रोग, किराले आक्रमण गरेन । गत वर्षभन्दा झण्डै दोब्बर सुन्तला फलेका छन् । गाउँका धेरैजसो कृषकले सुन्तला बोटमै छिप्याएको पौडेलले बताए ।

अहिले काठमाडौंमा प्रतिकिलो १ सयदेखि १ सय २० र बुटवलमा ८५/९० रुपैयाँमा बिक्री भएको शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले बताए । गत वर्ष परीक्षणका लागि केही सुन्तला राखिएको थियो । गत वर्ष कोल्ड स्टोरमा राखेको सुन्तला फागुन/चैतमा बिक्री गर्दा डेढ सय रुपैयाँ किलोमा बिक्री भएको थियो । यसपालि त्यति मूल्यमा बिक्री होला भन्ने अनुमान उनको छ । ४ सय मेट्रिक टन क्षमता रहेको कोल्ड स्टोरमा अहिलेसम्म ३ सय मेट्रिक टन सुन्तला राखिसकेको उनले बताए । अहिलेसम्म २९ जनाले स्टोरमा सुन्तला भण्डारण गरेका छन् । ‘कोल्ड स्टोरले किसानलाई फाइदै भयो,’ उनले भने, ‘यो सिजनको बेला मूल्य घटेर जतिमा झरे पनि बिक्री गर्नुपर्थ्यो, अहिले त्यो चिन्ता छैन । गाउँमा आएका ग्राहकलाई बेचेर बाँकी रहेको सुन्तला स्टोरमा राखेका छौं ।’ पाणिनि गाउँपालिका–१ सिम्लेमा अत्यधिक मात्रामा सुन्तला उत्पादन हुन्छ । यहाँ झन्डै ५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको उनले बताए ।

दुग्ध उत्पादन केन्द्र निर्माण गरिँदै

लुम्बिनी– दूध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा प्रवर्द्धनका लागि रूपन्देहीमा दुग्ध उत्पादन केन्द्र निर्माण गरिने भएको छ । किसानलाई पशुपालनमा आकर्षित गर्न तथा रोजगारलाई बढावा दिने उद्देश्यले दुग्ध उत्पादन केन्द्र स्थापना गर्न लागिएको हो । दुग्ध उत्पादन केन्द्र स्थापनाका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सञ्चालित सहकारी संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

बर्दियाको ठाकुरबाबा–१ स्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रूपन्देहीमा ५ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ । उक्त लगानी प्रदेशका १२ वटै जिल्लाको संगमको नमुना लुम्बिनी विशिष्टीकृत सहकारी संघमा रहेको अध्यक्ष भरत अधिकारीले बताए । तिलोत्तमा–६ मा लुम्बिनी विशिष्टीकृत सहकारी संघको स्थापना भएको छ । यसमा लुम्बिनी प्रदेशका १ सय १५ वटा सहकारी संलग्न छन् । ती सहकारीले संघमा आबद्ध भई लगानी समेत गरेका हुन् । उक्त लगानी कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि रहेको अधिकारीको भनाइ छ । ‘प्रदेशस्तरकै सहकारीको साझा संघ बनाई उद्योग स्थापना गर्न अग्रसर हुनु नमुनाको काम हो,’ अधिकारीले भने, ‘यसमा हाम्रो सहकारीमा आबद्ध किसानले दुहेको दूधले समेत बजार पाउँछ । युवा रोजगारी बढ्छ, हामीले ढुक्क भएर लगानी गरेका छौं ।’

संघको १४ सदस्यीय कार्यसमितिले दुग्ध उत्पादन केन्द्र निर्माणदेखि सञ्चालनसम्मको काम सम्हाल्ने संघका अध्यक्ष डा. खगराज शर्माले बताए । यूएचटी प्रविधिको प्रयोग गरी विदेशमा जस्तै नेपालमा पनि ६ महिनासम्म दूध तरल भई रहने र नबिग्रने गरी भण्डारण गरिने उनको भनाइ छ ।

प्रकाशित : पुस १३, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

पढाइ रोकेर विद्यालयमा महोत्सव

महेश केसी

रुकुम पश्चिम — जाजरकोटको भेरी नगरपालिका–३ खलंगामा रहेको एक विद्यालयले पढाइ नै रोकेर सोमबारदेखि मेला आयोजना गरेको छ । तल्लो थाप्लेमा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ गतेसम्म मेला आयोजना गरेको हो ।

मेलाको सोमबार जिल्ला समन्वय समिति प्रमुख कालीबहादुर खत्रीले उद्घाटन गरे, जसका लागि शुक्रबारदेखि नै मञ्च निर्माणलगायतका काम थालिएको स्थानीय हेमन्त केसीले बताए । ‘आज (सोमबार)देखि मेला लागे पनि पढाइ त २/३ दिनअघिदेखि नै रोकिएको थियो,’ उनले भने, ‘कहिले मेला, कहिले कुनै दिवस त कहिले कुनै कार्यक्रम, यस्तोमा विद्यार्थीले कसरी पठनपाठन गर्न पाउँछन् ?’ २०३५ सालदेखि तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका आयोजना गरिने उत्सव नै केही वर्षयता महोत्सवका रूपमा परिणत गरिएको उनको भनाइ छ ।

विद्यालय हाताभित्र शैक्षिक बाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यसविपरीत पढाइ रोकेर मेला आयोजना गरिएको स्थानीय हरिबहादुर खत्रीले बताए । उनका अनुसार विद्यालयमा बर्सेनि यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । ‘तर यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको छ,’ उनले भने, ‘विद्यार्थीहरू विभिन्न बहानामा पढाइबाट वञ्चित भइरहेका छन् ।’

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–२०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

बर्सेनि विद्यालयमा आयोजना हुने यो महोत्सवका कारण पठनपाठनमा प्रत्यक्ष असर परेको भनेर विरोध भएपछि २०७६ सालमा महोत्सव विद्यालय बाहिर आयोजना गरिएको थियो । त्रिभुवन माविका प्रधानाध्यापक भक्तबहादुर मल्लका अनुसार त्यसपछि ०७७ मा कोरोना संक्रमणका कारण कार्यक्रम आयोजना भएन । ‘अघिल्लो वर्ष र यो वर्ष भने पुनः विद्यालयमै महोत्सव आयोजना गरिएको छ,’ उनले भने, ‘मेला आयोजना गर्छौं भनेर संघका पदाधिकारीहरू आएपछि पठनपाठन केही दिनका लागि स्थगित गरेका हौं ।’

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक मल्लले यसमा आफ्नो गम्भीर असहमति रहेको बताए । ‘यसमा मेरो आपत्ति छ, यसको विरोध गर्ने म मात्रै भएकाले अल्पमतको कदर भएन,’ उनले भने, ‘महोत्सव हुँदा विद्यालयको पठनपाठनमा मात्रै नभइ भौतिक सम्पत्तिमा पनि क्षति पुग्ने भएकाले मैले सुरुदेखि नै असहमति जनाइरहेको छु ।’ महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

प्रकाशित : पुस १३, २०७९ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×