बिचौलियालाई धान बेचिसकेपछि खाद्यद्वारा खरिद प्रक्रिया सुरू- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिचौलियालाई धान बेचिसकेपछि खाद्यद्वारा खरिद प्रक्रिया सुरू

रूपा गहतराज, कमल पन्थी

बाँके, बर्दिया — बाँकेको खजुरा–२ गौघाटका खगेन्द्र सुवेदीले दसैंलगत्तै १६ क्विन्टल धान बिक्री गरे । १५ कट्ठामा लगाएको धान उनले बिक्री गरेका हुन् । मूल्य राम्रो पाएपछि थन्क्याउनुभन्दा बिक्री गर्नु फाइदा देखेर धान बिक्री गरेको उनले सुनाए ।

‘भण्डारण गर्न समस्या छ,’ उनले भने, ‘पैसाको समस्या थियो, त्यसैले दसैंलगत्तै घरखर्च र गर्जो टार्न धान बिक्री गरेको हुँ ।’ अहिले प्रायः किसानका भकारी खाली रहेको उनले सुनाए ।

किसान महासंघका पूर्व जिल्ला सदस्यसमेत रहेका सुवेदीले गाउँकै व्यापारीले यहाँबाट २५ हजार क्विन्टल धान खरिद गरेको सुनाए । ‘किसानको सबै धान व्यापारीको गोदाममा पुगिसक्यो,’ उनले भने, ‘व्यापारीले मूल्य निर्धारण गरेर किनिसके । अब खाद्यका गोदाम कसरी भरिएलान् ?’ दसैंअगावै चिउराका लागि भन्दै धेरै व्यापारीले किसानको धान खरिद गरिसकेको उनले बताए । ‘असोजभित्रै धान खरिद प्रक्रिया सुरु भए मात्र किसानले राम्रो मूल्यमा धान बेच्न पाउँछन्,’ उनले भने ।

सरकारले किसानको धान किन्नका लागि बाँकेमा कोटामार्फत धान खरिद प्रक्रिया सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले २५ हजार क्विन्टल धान किन्ने लक्ष्य लिएको छ । धानजति सबै व्यापारीले लगिसकेको खजुराका किसान कर्णबहादुर वीसीले बताए । ‘अब त खानेबाहेकको धान बाँकी छैन,’ उनले भने, ‘मल–बीउको पैसा तिर्नुपर्छ । खर्च जोहो गर्न बेलैमा धान नबेची सुखै छैन ।’

एक जना किसानले कम्तीमा ३० क्विन्टल धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेच्न पाउने व्यवस्था छ । खाद्य व्यवस्था नेपालगन्जका प्रमुख रामशरण लामिछानेले किसानको संख्यामा कोटा कम भएका कारण संख्या बढाउनुपर्ने किसानले गुनासो गरेको बताए । ‘धान बेच्न आउने किसानको संख्यामा कमी छैन, बरु हामीसँग सीमित कोटा छ,’ उनले भने, ‘एउटै किसानले ३०/४० क्विन्टल धान बेच्न ल्याउँछन् ।’ उनका अनुसार धानको राम्रो मूल्य पाएपछि दसैंपछि धेरै किसानले व्यापारीलाई धान बेचेका हुन् । त्यही धान संकलन गरेर अहिले व्यापारी खाद्यमा धान बेच्न आइरहेको उनले बताए । ‘त्यसैले व्यापारीको भन्दा किसानको धान खरिद गर्न परिचय पत्र बनाएका हौं,’ उनले भने, ‘वास्तविक किसानको पहिचान गर्न स्थानीय तहको सिफारिसमा कुपन बाँडेका छौं ।’ गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने अपेक्षा गरिएको उनले बताए । पुस ५ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको खाद्यले बिहीबारसम्म ६ सय क्विन्टल धान गरिद गरिसकेको प्रमुख लामिछानेले सुनाए ।

तीन महिनासम्म धान खरिद हुनेछ । गत वर्ष कम्पनीले २ हजार ३ सय क्विन्टल धान खरिद गरेको थियो । गत वर्ष पनि २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको थियो । अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुँदा थप धान खरिद गर्नुपर्ने किसानको माग छ । एकदमै ढिला गरी धान खरिद गर्ने निर्णय गरिएको र त्यसमा पनि विभिन्न बाधा र चेकजाँच कुपनले झन्झटिलो हुँदा समस्या भइरहेको किसानको गुनासो छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका वरिष्ठ गुण नियन्त्रक सहायक रोशन श्रेष्ठले गुणस्तर मापदण्डलाई ध्यान दिएर किसानको धान खरिद गरिएको सुनाए । ‘उपकरणबाट धानको गुणस्तर परीक्षण गर्छौं,’ उनले भने, ‘त्यसैले किसानलाई गुणस्तरीय धान ल्याउन आग्रह गरेका छौं ।’ जानकी गाउँपालिकाका गोरखे सुनारले किसानलाई बीउ र मलखाद आवश्यक पर्ने बेला धान खरिद गर्दा किसानले राहत पाउने बताए । ‘मल र बीउ खरिद गर्न बाध्य भएर पहिल्यै न्यून मूल्यमा धान बेच्यौं,’ उनले भने, ‘घरमा ल्याए धान राख्ने ठाउँ नै छैन । खेतबाटै बेच्यौं ।’ सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ ।

उत्पादन बढ्यो

यस वर्ष बर्दियामा धानको उत्पादन बढेको छ । मनसुनी वर्षा ढिलो भए पनि धानको उत्पादन बढेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ । यस वर्ष ५० हजार २ सय ५० हेक्टरमा लगाइएको धान १ लाख ८९ हजार ९ सय ४५ मेट्रिक टन उत्पादन भएको हो । पशुपंक्षी विकास कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले यस वर्ष प्रतिहेक्टरमा ३ दशमलव ८ मेट्रिक टन उत्पादन भएको हो । गत आर्थिक वर्षमा ५० हजार २ सय ५० हेक्टरमा धान खेती भएकामा १ लाख ८ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । सूचना अधिकारी पाठकले जनाएअनुसार गत वर्ष प्रतिहेक्टर २ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको थियो । ‘गत वर्ष समयमा वर्षा भए पनि बाढीले क्षति पुर्‍याएका कारण उत्पादन घटेको हो,’ उनले भने, ‘यस वर्ष भने साउनमा परेको वर्षाले धान सप्रेको हो ।’

प्रकाशित : पुस ११, २०७९ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

बडघर चयनमा राजनीतिकरण

रूपा गहतराज, कमल पन्थी

नेपालगन्ज,बर्दिया — समुदायले पत्याएको र जिम्मेवारी वहन गर्न सक्ने आँट भएको मानिस नै हरेक वर्ष माघी पर्व सकिएलगत्तै थारू समुदायमा बडघर छानिने परम्परा छ । समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्नेले मात्र यो पद लिने गर्दै आएका छन् । तर, विगतदेखि बडघर राजनीतिक दलका सदस्यबाट चयन हुन थालेपछि यो प्रथाको मर्म हराउँदै गएको यहाँका बूढापाकाले बताउन थालेका छन् ।

मुक्त कमैया आन्दोलनका अगुवा बिन्तीराम थारूले बडघरको मर्म राजनीतिका कारण धुमिल भएको बताए । ‘बडघर कुनै पनि पार्टीको पूर्णकालीन सदस्य हुनु हुँदैन,’ उनले भने, ‘अहिले पार्टीमा आबद्ध नभएका बडघर पाउनै छाडियो ।’ बारबर्दिया–५ धोबियाका लालबहादुर चौधरीले अहिले बडघर चयन राजनीतिक दलका प्रतिनिधिबाट हुने गरेको बताए । ‘हाम्रो गाउँमा माओवादीको पकड भएकाले बडघर माओवादी केन्द्रका सदस्य नै चुनिन्छन्,’ उनले भने ।

कृषि क्षेत्रमा उत्कृष्ट काम गरेबापत २०७२ सालमा राष्ट्रपतिबाट पुरस्कृत राजापुरका शर्मा चौधरीले समाजमा राम्रो छवि बनाएको मानिस बडघर हुने गरेको बताए । ‘अहिले राजनीतिक आस्थाका आधारमा बडघर चयनले प्रतिष्ठा घटेको छ,’ उनले भने, ‘यो पद सम्मानित भएकाले राजनीतिबाट टाढै राख्नु जरुरी छ ।’ जिल्लाका केही ठाउँमा बडघरलाई राजनीतिबाट टाढै राखिएको दाबी स्थानीयको छ । समाजेवी थारू अगुवा राजापुर–२ का नरेन्द्र चौधरीले अझै पनि धेरै ठाउँमा बडघर प्रथा राजनीतिबाट टाढा राखिएको दाबी गरे । कहींकतै त्यस्ता गतिविधि भए पनि धेरै ठाउँमा सामाजिक रूपमा प्रतिष्ठित मानिस बडघर चयन हुने गरेको उनले बताए । बडघर चयन माघ मसान्तभित्रै गरिसक्नुपर्ने नियम छ ।

बडघरले स्थानीय निकायमा दलको भूमिका जस्तै अधिकार माग गर्दै आएको दुई दशकपछि बारबर्दिया नगरपालिकाले गत वर्ष कानुनी मान्यता दिएको थियो । कार्यपालिकाको बैठकले ‘बारबर्दिया बडघर सञ्चालन ऐन, ०७७’ पारित गरेको हो । कानुनी मान्यता पाए पनि जनप्रतिनिधिले सरह तलब–भत्ता वा सरकारी सुविधा भने बडघरले पाउने छैनन् । बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारूले बडघरले जननिर्वाचित प्रतिनिधिसँग सहकार्य गरेर प्रचलित कानुनमा रही गाउँघरका झैंझगडा आपसी समझदारीमा समाधान गर्न पाउने व्यवस्था ऐनमा राखिएको बताए ।

मौलिकता हराउँदै

थारु समुदायले मनाउने माघीको आफ्नै मौलिकता छ । तर, त्यो मौलिकता नयाँ पुस्तासँगै बदलिएको छ । एक दिन मनाइने माघी अहिले तीन दिनसम्म मनाइन थालेको छ । आफन्त अनि इष्टमित्र भेटघाट र खानपिनमा माघीको रौनक सीमित छ । ‘खासमा एक दिन मनाइने पर्व हो । अहिलेकाले धेरै दिनसम्म मनाउँछन्,’ बैजनाथ गाउँपालिका–६ गरगईका दयाराम थारुले भने, ‘बडघर चुन्ने प्रतिस्पर्धा नै हराइसक्यो ।’

बाँकेको बैजनाथ गाउँपालिका थारू समुदायको बाक्लो बस्ती भएको क्षेत्र हो । जहाँ ८ वटा वडामा तीन जना थारू समुदायका वडाध्यक्ष छन् । ‘पहिला मेलाहरू लाग्थे, साथीभाइहरू जम्मा हुन्थ्यौं,’ दयारामले भने, ‘अहिलेको नयाँ पुस्ता एक्लै रमाउँछ । सबै मोबाइमा व्यस्त हुन्छन् ।’ मौलिकता अब सम्झनामा बाँकी रहेको थारू अगुवाले अनुभव सुनाए । आफन्तसहित थरीथरीका परिकार पकाएर खानु, आफ्नो संस्कृति झल्कने पोसाकमा सजिनु, थारू भाषाका गीतमा नाच्नु माघीको विशेषता रहेको अभियन्ता कृष्ण चौधरीले बताए । ‘यो पर्व मात्र होइन, संस्कार पनि हो । बिहानै सूर्य हेरी नुहाएर चामल, दाल आदि छोएर चेलीबेटीलाई दान दिएपछि मात्रै खाना पकाएर खाने चलन आफैंमा महत्त्वपूर्ण मानिन्छ,’ उनले भने, ‘जुन महिलाहरूलाई दिइने सम्मान पनि हो ।’ राप्तीसोनारी गाउँपालिका–३ का ५५ वर्षीय सीताराम थारुले शनिबार घरमा खिचडी खाएर परिवारसँग माघी मनाएको बताए ।

प्रकाशित : माघ ३, २०७८ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×