स्वास्थ्य सेवाविहीन चान्जा गाउँ


प्यूठान — प्यूठान नगरपालिका–५, चान्जा गाउँकी खुवी खड्काले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेको लामो समय भयो । गाउँका लागि पहिलो चिकित्सकीय सेवा दिने उनै हुन् । नजिक न स्वास्थ्य संस्था छन्, न त कुनै मेडिकल । ‘यहाँ त बिरामी भए मर्नुको विकल्प छैन,’ उनले भनिन्, ‘स्वास्थ्य संस्था पुग्न बिरामीलाई सहज छैन । दुई घण्टाभन्दा बढी समय लगाएर स्वास्थ्य चौकी पुग्नु पर्छ ।’
भिरको बाटो हिंडेर जुर्मिकाँढा स्वास्थ्य संस्थासम्म जानुभन्दा घरमै थला परेर बिरामीहरू बस्छन् । ‘सम्झाएर केहीलाई स्वास्थ्य संस्थासम्म पुर्याउँछु । कसैलाई यो समस्या छ भनेर आफैं औषधि ल्याइदिन्छु,’ उनले भनिन्, ‘यसरी नै गाउँ चलेको छ ।’
२५ घरधुरी रहेको चान्जा गाउँ प्यूठान नगरपालिकाकै विकट गाउँ हो । लिस्नेको लेकले ढाकेको गाउँमा झट्ट कसैको आँखा पुग्दैन । रोल्पासँग सीमा जोडिएको यस गाउँलाई चारैतिरबाट जंगलले घरेको छ । घरमा सुत्केरी गराउन हुँदैन भनेर सरकारले भन्छ । तर, यहाँ जंगल र बाटोमै धेरै सुत्केरी हुन्छन् । स्वास्थ्य संस्था टाढा हुँदा लैजाँदा लैजाँदै बाटोमै सुत्केरी हुने गरेको खड्काले बताइन् । ‘अहिलेसम्म सुत्केरी बेथा लागेका थोरैलाई मात्रै स्वास्थ्य संस्थासम्म पुर्याएका छौं,’ उनले भनिन्, ‘धेरै त बाटोमै सुत्केरी हुने गरेका छन् ।’ शिक्षा, यातायात, खानेपानीको पहुँचभन्दा बाहिर छ चान्जा गाउँ । यहाँ अहिलेसम्म सडक पुगेको छैन ।
जुर्मिकाँढा आएर गाडी चढ्नुपर्ने बाध्यता रहेको स्थानीय कुस्मती बैजालीले बताइन् । पानी र रासन बोक्दा बोक्दा ढाड खुइलिसक्यो । कुवाको पानी प्रयोग गर्दै आएका उनीहरूले कहिलेकाहीं खोलाको पानी प्रयोग गर्दा बिरामी पर्ने गरेको उनले बताइन् । ‘नगरबासी भन्नेमात्रै छ, सेवा सुविधा केही छैन,’ उनले भनिन्, ‘कर मात्रै तिर्छौं, सेवा पाउँदैनौं ।’ उनका अनुसार आँखैअघिका गाउँहरू कहाँ पुगिसके, हाम्रो अवस्था जंगली जस्तै छ । गाउँमा विकास नहुँदा स्थानीय सरकारको आभास गर्न पाएका छैनौं । शिक्षा, स्वास्थ्यजस्ता विषय त छैनन्, रोजगारी, जीविकोपार्जनका कुरा त उखान–टुक्काजस्तै लाग्ने उनले बताइन् । हरेक पाइलामा संघर्ष गर्नुपरेको छ । खान लाउनकै समस्या रहेको उनले बताइन् ।
गाउँनजिकै विद्यालय छैनन् । कक्षा ३ सम्म पढाइ हुने आधारभूत विद्यालय छ । ४ कक्षा पढ्न दुई घण्टा बढी समय लाग्ने स्थानीय देवीराम खड्काले बताए । विद्यार्थीहरू ५० जना बढी छन् । २५ जना बढी कक्षा ३ सम्म यहीं पढ्छन् । ४ कक्षाबाट पढ्न कि रोल्पा पुग्नुपर्छ कि प्यूठान नगरपालिकाको जुर्मिकाँढा पुग्नुपर्ने बाध्यता छ । ‘दुवैतिर पढ्न जाँदा दुई घण्टा बढी समय एकतर्फी लाग्छ,’ उनले भने, ‘अझ जंगलको बाटो, साना नानीबाबुलाई कसरी पठाउनू ।’ बाटो अप्ठ्यारो हुँदा साना बालबालिलाई विद्यालय पठाउन समस्या हुने उनी बताउँछन् । कही विद्यार्थीले विद्यालय नजिकै कोठा भाडामा लिएर समेत राख्ने गरेका छन् । विद्यालय टाढा हुँदा गाउँमा अहिलेसम्म कक्षा १० पास गरेको एक जना पनि नभएको देवीरामले बताए । बीचमै पढाइ छाड्नेहरू पनि त्यस्तै छन् । अशिक्षाकै कारण थप समस्या भइरहेको उनले बताए । ‘पढाइ छाडेपछि के गर्नु, छोराहरू लाहुर जाने र छोरीको बिहे हुन्छ,’ उनले भने, ‘बीचमै पढाइ छाड्ने किशोरीहरू उमेरै नपुगी विवाह गर्न वाध्य छन् ।’ अशिक्षाकै कारण बालविवाह हुने गरेको छ । उनका अनुसार गाउँमा उमेरै नपुगी विवाह गर्नेको संख्या पनि दर्जन बढी छ ।
भिरालो जमिन छ । उब्जनी पनि राम्रो हुँदैन । यहाँ उब्जाएको अन्नले तीन महिना पनि परिवारलाई खान नपुग्ने स्थानीय बताउँछन् । गाउँको अन्नले खान नपुगेपछि केही अर्घाखाँचीतिर मजदुरी गर्न जाने गरेका छन् । केही भारतका विभिन्न सहरमा रोजगारी खोज्दै पुग्ने गरेका छन् । जसले यहाँको गुजारा चलेको छ । २५ घरधुरीमध्ये भारत नगएको कुनै घर छैन । अझ कुनै कुनै घरका त दुई–तीन जनासम्म भारत पुगेको स्थानीय बुद्धिराम पैजालीले सुनाए । सडक नभएकै कारण खाने अन्नलाई गाउँसम्म ल्याउँदा १ हजार ५ सय रुपैयाँ पर्ने चामललाई २ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ । ‘हाम्रो समस्या कसलाई सुनाउनू,’ स्थानीय पैजालीले भने, ‘चुनाव भएको आठ महिना भइसक्दासमेत एकजना पनि जनप्रतिनिधि गाउँमा आएका छैनन् ।’
गत वर्ष बल्ल गाउँमा विद्युत् आएको छ । खानेपानीको समस्या धेरै पटक सुनाए पनि सुनुवाइ नभएको उनले बताए । गाउँसम्म पुग्ने गोरेटो बाटो गत वर्ष जंगलमै बास बसेर महिनौं लगाएर खनेको उनले सुनाए । ‘पहिले त साह्रै समस्या थियो, भिरको साँघुरो बाटो हिँड्नुपर्दा लड्ने डरले गाउँले मिलेर बाटो खनेका हौं,’ उनले भने, ‘मोटर त आउँदैन तर हिंड्न सजिलो भएको छ ।’ गाउँमा ट्याक्टरसम्म आउने व्यवस्था भए खाद्यान्न ढुवानी गर्न सहज हुने बताउँछन् । नगरबासी भन्न नि लाज लाग्ने यहाँका स्थानीय बताउँछन् । जंगलको बीचमा बस्ने हुँदा बजारसित यहाँका बासिन्दाको खासै सम्बन्ध छैन ।
प्रकाशित : पुस १०, २०७९ ०८:५२