सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु- लुम्बिनी - कान्तिपुर समाचार

सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

गगनशिला खड्का

गुल्मी — भूगर्भविद्हरुले गुल्मीमा तामा, फलाम र सिसा खानी रहे–नरहेको बारे अनुसन्धान सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगर्भ शास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ९ जनाको समूहले सत्यवती गाउँपालिका–८ भार्सेमा तामा, फलाम र सिसा खानीको अनुसन्धान सुरु गरेको हो ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवा निवासी पौडेलले आफूले भूगर्भ शास्त्र पढाइरहेका विद्यार्थीमार्फत अध्ययन/अनुसन्धान सुरु गरेको जानकारी दिए । ‘मेरो प्राध्यापनको विषय नै यही भएकाले विद्यार्थीहरूसहित अध्ययनमा लागेको हुँ,’ उनले भने, ‘विद्यार्थीहरु फिल्डवर्क क्रममा भार्सेमा खटिएको र खानीको सम्भाव्यताबारे अध्ययन गर्नेछौं ।’

भार्सेमा राणा शासनकालमा तामा, फलामलगायतका खानीको उत्खनन गरिएको स्थानीयको भनाइ छ । त्यतिबेला खानी उत्खनन गर्दा देउराली, चाहारे, भैंसे, झुलेनी, चालपात, लुराङ्ग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा बनेका ठूल्ठूला खाडल र सुरुङहरू अहिले पनि देख्न सकिन्छ । ‘भार्सेको भैंसेदेउरालीका पुराना मान्छेले पहिले तामा निकालेका खाडल देखाउँछन्,’ पौडेलले भने, ‘अहिले पनि ती ठाउँमा ठूल्ठूला खाडल देख्न सकिन्छ ।’ सो क्षेत्रमा खनिज उत्खननको सम्भावना रहेकाले त्यसको अवस्था, सम्भावना र खनिज पदार्थको परिणाम पत्ता लगाउन अध्ययन जरुरी रहेको उनको भनाइ छ ।

भूगर्भविद्हरूले खानीको अध्ययन सुरु गरेपछि गाउँपालिकाले पनि चासो राखेको छ । अध्ययन टोलीले प्रारम्भिक अध्ययन गरेपछि सम्भावना राम्रो देखिएमा विस्तृत अध्ययन र परीक्षणका लागि आफूहरूले पहल गर्ने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । ‘अनुसन्धानका क्रममा तामा, फलाम र सिसा रहेको साबित भएमा गाउँपालिकाले उत्खनन सुरु गर्नेछ,’ उनले भने, ‘यहाँको खानी उत्खनन गर्न सकियो भने उत्पादन र रोजगारीमार्फत आर्थिक रूपमा सम्पन्न बनाउन सकिनेछ ।’ अहिले नमुना परीक्षणको मात्रै काम सुरु भएकाले अनुसन्धानले तामा र फलामको गुणस्तर पनि पत्ता लाग्ने उनले बताए । अनुसन्धानपछि तामा र फलाम खानीको गहिराई पहिचान हुनुका साथै त्यसको मात्रा पनि निर्धारण हुने उनले जनाए ।

‘अहिले सामान्य नमुना मात्रै परीक्षणका लागि लगिएको छ, त्यसको नतिजा आइसकेपछि पुनः अनुसन्धान हुनेछ,’ उनले भने, ‘यदी गुणस्तरीय तामा र फलाम खानी भेटियो भने केन्द्र सरकारको अनुमतिमा गाउँपालिकाले आफैं वा निजी क्षेत्रलाई उत्खननका लागि दिन पनि सक्छौं ।’ खानी पत्ता लागेमा गाउँपालिकाले रोयल्टी लिने गरी खानीको जिम्मा केन्द्र सरकारलाई नै दिन पनि सक्ने उनको भनाइ छ ।

भार्सेमा पृथ्वीनारायण शाहका पालादेखि राणाकालसम्मै तामा र फलामको उत्खनन भएको भए पनि आधिकारिक इतिहास भने नभएको पौडेलले सुनाए ।

पहिलेदेखि नै भार्सेका तामाखानीबाट तामा उत्खनन भएको अवशेष फेला परेका कारण थप अनुसन्धानका लागि आफूहरूले पहल गरेको सत्यवती–८ भार्सेका वडाध्यक्ष होमबहादुर रानाले बताए । ‘पहिलेदेखि नै यहाँ तामा खनेको ठाउँ भेटिएको छ, यसलाई थप अनुसन्धान गरेर उत्खनन गर्ने गरी पहल गरेका हौं,’ उनले भने ।

तत्कालीन गुल्मी राज्यअन्तर्गतको अर्कुलका लागि तामा र फलाम उत्खनन गर्न विसं १७५० को दशकमा मगर समुदायका ३ परिवार भार्सेमा आई बसेको इतिहास छ । तर, सरकारले खानीजन्य गतिविधिमा प्रतिबन्ध लगाएपछि यहाँ भइरहेको उत्खननकार्य बन्द भएको थियो ।

प्रकाशित : पुस ८, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

गाउँगाउँमै प्राविधिक शिक्षा

गगनशिला खड्का

गुल्मी — गुल्मीको मदाने गाउँपालिका–७ की १८ वर्षीया कमला पन्थीको रहर कानुन पढ्ने थियो । तर, उनी नापी सर्वेक्षककी विद्यार्थी बनेकी छन् । इस्मा गाउँपालिका–५ हुलाकेमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा तीनवर्षे नापी सर्वेक्षकको दोस्रो सेमेस्टरमा अध्ययनरत छन् । गाउँमै प्राविधिक शिक्षालय खुलेपछि पन्थीको सोचाइ एकाएक फेरिएको हो ।

‘बुबाले पहिला पोस्ट अफिसमा काम गर्नु हुन्थ्यो, बुबाको साथीको छोराले नापी सर्वेक्षक नै पढ्नु हुँदो रहेछ, उहाँले मेरो बुबालाई कन्भिन्स गर्नुभएछ,’ उनले भनिन्, ‘अहिले गाउँमै बसेर नापी सर्वेक्षक पढ्न पाउँदा खुसी छु ।’ पन्थी मात्रै होइन, गुल्मीको पश्चिम भेगका १८ जनाले उनीसँगै नापी सर्वेक्षक पढिरहेका छन् । मालिका गाउँपालिका–६, अर्जेका मोहन पोखरेल आफ्नै गाउँ नजिकैको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा सर्भे इन्जिनियरिङ विषयमा डिप्लोमा पढिरहेका छन् ।

‘पहिला यति पढ्न काठमाडौं जानु पर्थ्यो, अहिले घरमै बसेर पढ्न पाएका छौं,’ उनले भने, ‘खर्च पनि जोगियो, राम्रो विषय पनि पढ्न पाइयो ।’ गुल्मीका १ हजार १ सय ४४ जना विद्यार्थीले अहिले विभिन्न विषयमा प्राविधिक शिक्षा पढिरहेका छन् ।

रेसुंगा माध्यमिक विद्यालय तम्घासमा कक्षा ११ मा सिभिल इन्जिनियरिङ पढिरहेका मालिका गाउँपालिका–५ छापहिलेका १७ वर्षीय प्रदीप गिरीले घर छोडेर टाढा पढ्न जानुपर्ने विषय अहिले सदरमुकाममा बसेर पढ्न पाएको बताए । उनी रेसुंगा नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा पढिरहेका छन् । ‘यहाँ सिभिल इन्जिनियरिङ पढाइ हुन्थेन भने मैले यो विषय पढ्न नै पाउने थिइनँ, किनभने पाल्पा, बुटवल र काठमाडौं गएर पढ्न असमर्थ थिएँ ।’

शिक्षाकै लागि युवा तथा विद्यार्थीहरू बाहिरिने क्रम बढेपछि जिल्लामै प्राविधिक शिक्षालयहरूको स्थापनाको क्रम पनि बढेको छ । गुल्मीका १६ माध्यमिक विद्यालयमा अहिले प्राविधिक विषय अध्ययन हुन्छ । जसमध्ये १३ विद्यालयमा सरकारी अनुदानमा निःशुल्क र अन्य ३ विद्यालयमा निजी स्रोतबाट प्राविधिक विषय पढाइ हुन्छ ।

सरकारी अनुदानमा उदय मावि चन्द्रकोट, पाञ्चायन मावि धुर्कोट, हिमालय मावि हस्तीचौर, जनवोध मावि रुरुक्षेत्र, आत्मबोध मावि छत्रकोटमा कृषि, पृथ्वी मावि मदाने, मालिका मावि मालिका, दुर्गाभवन मावि कालीगण्डकी, म्यालपोखरी मावि गैंडाकोटमा भेटेरेनरी, जनज्योति मावि रिमुवा, रेसुंगा मावि तम्घास, महेन्द्र आदर्श मावि मुसिकोटमा सिभिल इन्जिनियर र सरस्वती मावि सत्यवतीमा कम्प्युटर शिक्षा अध्ययन हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

‘यी १३ विद्यालयमा ८ वटासम्म प्राविधिक दरबन्दी दिएर प्राविधिक धार चलाइएको छ,’ उनले भने, ‘यसबाहेक निजी स्रोतबाट त्रिभुवन मावि कुर्घा र सिद्धबामा मावि तम्घासले कम्प्युटर अनि उपल्लो तम्घास माविले बाली विज्ञान अध्ययापन गराएका छन् ।

त्यसबाहेक दुईवटा प्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा खुलेका छन् । जसमध्ये जीवराज आश्रित बहुप्राविधिक शिक्षालय इस्मामा नापी सर्वेक्षक र तुराङ बहुप्राविधिक शिक्षालय चन्द्रकोटमा कृषि प्राविधिक विषयको डिप्लोमा तहको अध्ययन हुने गरेको छ ।

जिल्ला शिक्षा समन्वय एकाइ गुल्मीले दिएको जानकारी अनुसार जिल्लामा कृषि तथा बाली विज्ञान विषयमा ५ सय १९ जना, सिभिल इन्जिनियरिङमा ३ सय ९० जना, कम्प्यूटर इन्जिनियरिङमा १ सय १२ जना, पशु तथा भेटेरेनरीमा ७२ जना र डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङमा ५१ जना विद्यार्थीले प्राविधिक विषय पढिरहेका छन् ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×