कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

समानुपातिकबाट रोल्पाका तीन महिला सांसद

एमालेबाट प्रतिनिधिसभा र प्रदेशमा एक/एक, माओवादी केन्द्रबाट प्रदेशमा एक जना सांसद
काशीराम डाँगी

रोल्पा — प्रदेशसभा र प्रतिनिधि सभाका लागि रोल्पाबाट एमाले र माओवादी केन्द्रले यो पटक नयाँलाई समानुपातिक सांसद बनाएका छन् । एमालेले जिल्लाबाट दुवै तहमा एक/एक जनालाई सांसद बनाएको छ भने माओवादी केन्द्रले प्रदेशसभामा एक जनालाई सांसद बनाएको हो । 

समानुपातिकबाट रोल्पाका तीन महिला सांसद

समानुपातिक सांसद बनाइएकामा तीन जना नै महिला छन् । एमालेले प्रतिनिधि सभामा ईश्वरी घर्तीमगरलाई सांसद बनाएको हो । अघिल्लो वर्षको मंसिरमा सम्पन्न एमालेको १० औं केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी उनी सबैभन्दा कम उमेरकी नेता थिइन् । विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा लागेकी उनी पूर्वपत्रकार र अधिकारकर्मीसमेत हुन् । हाल ३३ वर्षीया ईश्वरी रोल्पा जिल्लाको सहइन्चार्ज हुन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी उनको जन्म गाउँ त्रिवेणी–२ नुवागाउको दहवन हो । विगतमा विद्यार्थी राजनीतिमा संलग्न उनका पति तेजबहादुर बुढाले रोल्पामै विगत १२ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यस्तै एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी अर्की नेतृ यमुना रोका तामाङ हुन् । रोल्पाको थबाङमा जन्मेकी उनी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-इन्चार्जसमेत हुन् । लामो समय तत्कालीन माओवादीमा आबद्ध भई कलाकार बनेकी उनी पछिल्लो पटक एमालेमा प्रवेश गरी राजनीतिमा पुनः सक्रिय भएकी हुन् । माओवादीको वर्चश्व मानिएको थबाङमा एमालेको संगठन विस्तारमा महत्त्वपूर्ण योगदान गरेको मूल्यांकनमा एमालेले उनलाई प्रदेश सांसद बनाएको हो । विगतमा माओवादी प्रभाव रहेकोमा थबाङ गाउँपालिकाको उवामा घर भएका एमाले केन्द्रीय सदस्य एवं रोल्पा इन्चार्ज नवीन रोकामगर र अर्की केन्द्रीय सदस्य यमुना रोकामगरको अगुवाईमा स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकामा एउटा वडा एमालेले जितेको थियो ।

एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट छनोटमा परेका दुई जना नै आदिवासी जनजाति महिला हुन् । एमालेले प्रदेशमा र प्रतिनिधिसभामा सिफारिस गरेका अन्य भने सांसद हुन सकेनन् । एमालेले एक जिल्लाबाट दुवै तहमा सांसद बनाएकोमा जिल्लावासी खुसी भएका छन् । विगतमा पछि पारिएको रोल्पामा एमालेले प्राथमिकता दिएको भनेर कार्यकर्ता हौसिएका छन् । हालसम्म प्रत्यक्षबाट भने एमालेले रोल्पाबाट सांसद पठाएको छैन ।

यसैगरी माओवादी केन्द्रका तर्फबाट रोल्पाको गाम घर भएकी मीना खड्का बुढामगर लुम्बिनी प्रदेश सभामा सांसद चुनिएका छन् । महिला खस आर्य कोटाबाट उनलाई माओवादी केन्द्रले सांसद बनाएको हो । माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य मानबहादुर बुढामगर विकल्पकी पत्नी मीना पनि विगतको सशस्त्र युद्धका बेला भूमिगत राजनीतिमा सक्रिय थिइन् । माओवादी केन्द्रले प्रदेशमा कृष्णबहादुर महराकी छोरीलाई समेत प्रदेश समानुपातिक सांसदमा सिफारिस गरेको थियो । तर मत थोरै आएको भन्दै उनलाई सांसद बनाइएन । प्रतिनिधिसभाका लागि रोल्पाबाट माओवादी केन्द्रले कसैलाई पनि समानुपातिक सांसद बनाउन सिफारिस गरेको थिएन ।

कांग्रेसले पनि रोल्पाबाट प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक जनालाई सिफारिस गरेको थियो । आदीवासी जनजाति पुरुषतर्फ प्रतिनिधिसभाका लागि कृष्णबहादुर घर्तीमगर र प्रदेशसभाका लागि गोपाल घर्तीमगरलाई सिफारिस गरे पनि दुवै जना सांसद हुन सकेनन् । विगतमा माओवादीले थुप्रैलाई समानुपातिक प्रणालीबाट सांसद बनाउदै आएका थिए । २०६४ को पहिलो संविधानसभा सदस्यका लागि रोल्पाबाट माओवादीका १० जना सांसद थिए ।

प्रकाशित : पुस ३, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?