कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रोग लुकाएर बस्छन् ग्रामीण महिला

घरायसी काममा व्यस्त, स्वास्थ्य संस्था जानै डराउने प्रवृत्ति, स्वास्थ्यकर्मी र औषधि पर्याप्त नहुँदा रोग बल्झिँदै

प्यूठान — ‘तल्लो पेट दुख्न थालेको वर्षौं भयो,’ गौमुखी गाउँपालिका–२ अर्खाकी मुना सुनारले दुखेसो पोखिन्, ‘घाँस–दाउरा गर्दागर्दै आधा जीवन बितिसक्यो । उपचार गर्न जाने भनेर सोचेको पनि त्यस्तै भयो ।’ अधिकांश समय चुलोचौको र घरायसी काममा बित्ने गरेको उनले बताइन् ।

रोग लुकाएर बस्छन् ग्रामीण महिला

‘गाउँमा जन्मिएपछि यस्तै रहेछ,’ उनले भनिन्, ‘आफ्नो शरीरको ख्यालै नहुने रहेछ ।’ दुई वर्षअघि गाउँमा शिविर सञ्चालन भएको थियो । ‘त्यही बेला हो मैले पहिलो पटक डाक्टर भेटेको,’ उनले भनिन् ।

डाक्टरले पाठेघरमा समस्या छ, अस्पताल जानुपर्छ भने पनि अहिलेसम्म अस्पताल जान नपाएको उनले सुनाइन् । पाठेघरको समस्या बोकेर बाँचेकी सुनारलाई अहिले व्यथाले च्याप्दै लगेको छ । कहिले घर त कहिले गोठको काम गर्दागर्दै समय बितेको र रोग बल्झिंदै गएको उनले बताइन् । समयमै उपचार पाए निको हुने आशा उनलाई छ । गाउँमा अस्पताल नहुँदा आफूजस्ता धेरै बिरामी अस्पताल जानबाट वञ्चित भएको उनले बताइन् । ‘गाउँमा मजस्ता धेरै बिरामी दिदीबहिनीहरू छन् । जो अहिलेसम्म अस्पताल पुगेका छैनन्,’ उनले भनिन्, ‘सहज यातायातको व्यवस्था नहुँदा र आर्थिक अभावकै कारण यहाँका अधिकांश दिदीबहिनी अस्पताल जानबाट वञ्चित छन् ।’ यहाँका महिलामा मुख्य समस्या तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र पाठेघरको समस्या छ ।

गौमुखी–२ मा दुई वर्षअघि गाउँपालिका र जिल्ला अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । त्यसबेलाको शिविरमा स्वास्थ्य जाँच गर्न आएका अधिकांश महिलामा पाठेघरको समस्या देखिएको गौमुखी गाउँपालिका–२ का वडाध्यक्ष डोरबहादुर रानाले बताए । ‘यहाँ त पहिलो प्राथमिकता भनेकै काम हो,’ उनले भने, ‘बिरामी पर्दा पनि काम छ भनेर अस्पताल जाँदैनन् ।’ गाउँका महिलालाई नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने पनि जानकारी छैन । यहाँका महिला रोग लागे पनि लुकाएर बस्ने गरेको गौमुखी गाउँपालिका–१ का वडाध्यक्ष दिलबहादुर थापाले बताए । ‘सानो समस्या पनि लुकाएर बस्दा पछि विकराल बनिरहेको छ,’ उनले भने, ‘घरायसी कामको बोझले महिला खुल्न सकेका छैनन् ।’

बिहान उठेदेखि साँझ ननिदाउँदासम्म कामकै चिन्ता हुने अर्खाकी इन्द्राकुमारी थापाले बताइन् । उमेरले ७० पुगे पनि थापा नियमित घरायसी काममा व्यस्त हुन्छिन् । ‘कान सुन्न छाडेको चार वर्ष बढी भयो,’ उनले भनिन्, ‘आँखाले पनि धमिलो देख्छु । तर, घाँस–दाउरा नगरी सुख छैन ।’ २०७३ सालमा घाँस काट्ने क्रममा रुखबाट लडेकी थापालाई पिठ्यूँ र ढाड दुख्ने समस्या छ । तर, उनी अहिलेसम्म अस्पताल पुगेकी छैनन् । ‘अस्पतालमा उपचार गर्न जाने भनेर भन्न थालेको वर्षौं भयो,’ उनले भनिन्, ‘गोठका डिंगाबाच्छा कहाँ छाडेर जाने ? त्यसैले गाउँमा शिविर आउँदा मात्रै जँचाएकी थिएँ । त्यसपछि कतै गएकी छैन ।’ आफूजस्ता वृद्धवृद्धा र ग्रामीण क्षेत्रका महिलाका लागि समय–समयमा गाउँमै स्वास्थ्य शिविरहरू सञ्चालन हुनुपर्ने उनले बताइन् ।

जिल्लाका नौवटै स्थानीय तहका ६४ वटै वडामा स्वास्थ्य संस्थाहरू छन् । तर, स्वास्थ्य संस्थासम्म नागरिकको सहज पहुँच छैन । स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था नहुनु, औषधिको पर्याप्त व्यवस्था नहुनुजस्ता कारणले पनि बिरामीहरू स्वास्थ्य संस्थासम्म पुग्दैनन् । ग्रामीण क्षेत्र र त्यसमा पनि भौगोलिक रूपमा विकट हुँदा सामान्य बिरामी पर्दा पनि घण्टौं लगाएर स्वास्थ्य संस्थासम्म आउनुपर्ने हुन्छ । बिरामी घण्टौं लगाएर अस्पताल वा स्वास्थ्य संस्थासम्म आउन नसक्नु, यातायातको सहज व्यवस्था नहुनु र आर्थिक समस्या मुख्य कारण हुन् । जसले रोग पालेर बस्न बाध्य पारेको छ ।

पछिल्लो समय स्थानीय तहहरूले गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवाको विस्तार गरेका छन् । तर, त्यो सेवा ग्रामीण क्षेत्रका नागरिकको पहुँच बाहिर छ । गाउँपालिका केन्द्रसम्म आउनै डराउने ग्रामीण महिलालाई त्यहाँसम्म आउने वातावरण सिर्जना गर्न जनचेतना फैलाउने खालका कार्यक्रमको आवश्यकता रहेको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाह बताउँछन् । ‘जिल्लासम्म पुग्न नसक्ने बिरामीलाई अहिले पालिकाको केन्द्रमै ल्याबसहित एमबीबीएस डाक्टरको व्यवस्था पालिकाले गरेका छन्,’ उनले भने, ‘जिल्लामा हुने धेरै जाँच र उपचार गाउँपालिकाको केन्द्रमै हुन्छन् । तर, बिरामीहरू घर छाड्नै मान्दैनन् ।’

जिल्लाको गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाका ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या बढी छ । गौमुखी–१, २ र ३ का महिलामा यस्तो समस्या बढी देखिएको छ । त्यसबाहेक स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका वडाका महिलाहरू पनि यो समस्याबाट अछुतो छैनन् । अझ कतिपय गाउँमा त बिरामी हुँदा धामीझाँक्री बिरामीको पहिलो प्राथमिकतामा पर्छन् । बिरामी हुँदा पहिले धामीझाँक्रीकहाँ जाने र रोगले च्यापेपछि मात्रै अस्पताल आउने समस्या रहेको ओखरकोट स्वास्थ्य केन्द्र मच्छीका अहेब मीनबहादुर जीसीले बताए । ‘बिरामी स्वास्थ्य संस्थासम्म आइपुग्दा थला नै परेका हुन्छन् । रोग बल्झिसकेको हुन्छ,’ उनले भने, ‘तसर्थ, उपचारमा समस्या हुने गरेको छ । स्वास्थ्य समस्याका बारेमा जनचेतना फैलाउन सके केही सुधार ल्याउन सकिएला ।’

प्रकाशित : पुस ३, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?