तडकभडक रोक्न अदालतमा बिहे- लुम्बिनी - कान्तिपुर समाचार

तडकभडक रोक्न अदालतमा बिहे

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जका एक जोडीले विवाहमा गरिने तडकभडकको शैलीलाई चुनौती दिंदै शालिन शैलीमा विवाह गरेका छन् । अघिल्लो शुक्रबार अदालतमा रजिस्टेसन गराएर उनीहरू आइतबार जिल्ला अदालत पुगेका हुन् । रजिस्टेसन कार्यालय पुगेर दुवैले हस्ताक्षर गरेपछि विवाहको औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।

‘कागजपत्र लिएर न्यायाधीशकहाँ पुग्यौं,’ उनीहरूले भने, ‘न्यायधीशले हामीलाई हेर्दै कागजपत्र हेर्नुभयो अनि बिहे भएको फैसला सुनाइदिनुभयो ।’

नेपालगन्ज–१२ बेलासपुरका ३२ वर्षीय प्रनय जलान र काठमाडौं निवासी २७ वर्षीया डा. सिम्रन अग्रवालले कोट म्यारिज (अदालती विवाह) पछि मात्र दुबोको माला एकअर्कालाई लगाइदिए । यो उनीहरूको मागीविवाह हो । १० महिनाको चिनजानपछि उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरू एकसरो लुगामा अदालतमा उपस्थित भएका थिए । साथमा दुवैका परिवारमात्र थिए । सामान्य शैलीमा बिहे गर्नका लागि उनीहरूले अदालती विवाह रोजेको बताए । ‘बरू, बिहेको खर्च कुनै सकारात्मक काममा लगाउने सोच छ,’ उनीहरूले भने ।

एउटा बिहेमा परिवारले आफ्नो पूरै पुँजी खर्च गर्नुपर्छ । जमाना फेरिएको छ । लाखौं पैसा भोजका नाममा खर्च गर्नुपर्छ । ‘त्यो सबै तडकभडकलाई रोक्न अदालती विवाह रोजेका हौं,’ बेहुला प्रनयले भने, ‘यसमा दुवैको सहमति भएपछि अदालती प्रक्रियामा विवाह गर्ने निर्णय गरेका हौं ।’ मारवाडी समुदायमा विवाह निकै धुमधामका साथ हुन्छ । विवाहपूर्व नै चार–पाँचवटा कार्यक्रम गर्नुपर्छ । तर, उनीहरूले कुनै कार्यक्रम गरेनन् । दुवै केटाकेटी सम्पन्न परिवारका भए पनि उनीहरूले विवाहका नाममा हुने फजुल खर्च रोक्न सन्देश दिन खोजेको बताए । दुवै परिवारको सहमतिमा सामान्य शैलीमा विवाह गर्ने निर्णय गरेको उनीहरूले सुनाए ।

बेहुलीको पोसाकमा नभए पनि लेहंगा लगाएर सामान्य शैलीमा विवाह गर्दा आफूलाई खुसी मिलेको बेहुली सिम्रनले बताइन् । ‘हामीले आ–आफ्नो चाहनाको सम्मानका लागि यो बाटो रोजेका हौं,’ साथीभाइ रिसाएनन् भन्ने प्रश्नमा उनले भनिन्, ‘सबैको चित्त बुझाउन कहाँ सकिन्छ र ?’ बेहुलाकी आमा अल्का जलानले छोराको चाहनालाई नकार्न नसकेपछि कोट म्यारिज गर्न राजी भएको सुनाइन् । ‘जेठो छोराको विवाह धुमधामका साथ गर्ने चाहना थियो । तर, छोरोले नमानेपछि कोट म्यारिजका लागि राजी भयौं,’ उनले भनिन् । बेहुलीकी आमा रेखा अग्रवाल छोरीको विवाह कसरी गर्ने भन्दा पनि छोरीको भविष्य राम्रो होस् भन्ने चाहना रहेको बताइन् ।

साउनयता मात्रै १९ जोडीले अदालती विवाह गरेको जिल्ला अदालत नेपालगन्जका शाखा अधिकृत तथा सूचना अधिकारी नुमानन्द अधिकारीले बताए । ‘कोर्ट म्यारिज गर्नेमा घर–परिवारबाट विवाहका लागि स्वीकृति नपाएका धेरै छन्,’ उनले भने, ‘तर, विवाहका नाममा हुने तडकभडक र यसले निम्त्याउने हिंसा आदिलाई भने अदालती विवाहले अवश्य नियन्त्रण गरेको छ ।’

प्रकाशित : पुस ३, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्रभाव क्षेत्रमै कांग्रेस उम्मेदवारको जमानत जफत

पूर्वपार्टी सभापति सुशील कोइरालाले निर्वाचन जितेकै क्षेत्रमा ५ दलका साझा उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको लज्जास्पद पराजय
रूपा गहतराज

नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो । उसले एक्लै चुनावी मैदानमा होमिँदा पनि १७ हजार १ सय ९५ मत पाएको थियो ।


६ महिनापछि भएको संसदीय निर्वाचनमा ५ दलीय गठबन्धनबाट कांग्रेसले साझा उम्मेदवार मैदानमा उतारेको थियो । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला २०७० मा यसै क्षेत्रबाट निर्वाचित हुँदै प्रधानमन्त्रीसमेत बनेका थिए । तर, पार्टीको ‘गढ’ मानिने यो क्षेत्रमा यसपालि कांग्रेसले जमानत पनि जोगाउन सकेन । कांग्रेसका राणाले ४ हजार ४ सय ३ मात्रै मत पाएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिने यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धवलशमशेर राणा निर्वाचित भए । उनको पक्षमा २९ हजार ५ सय ७७ मत खसेको थियो । उनलाई एमालेको समर्थन थियो । उनका निकटतम प्रतिस्पर्धी रहेका जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत प्राप्त गरे । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ६२ हजार ४ सय ६९ मत सदर भएको थियो । जसमध्ये १० प्रतिशत मत पाउन नसकेपछि राणाको जमानत जफत हुने भएको हो । सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी रकम जफत हुने कानुनी प्रावधान छ ।

लेखा शाखाले रिपोर्ट अडिट गराएपछि मात्र कसलाई धरौटी फिर्ता दिने र कसको जफत गर्ने यकिन हुने बाँके निर्वाचन कार्यालय प्रमुख रमा पन्तले बताइन् । ‘सदर मतको १० प्रतिशतभन्दा कम ल्याउने उम्मेदवारको धरौटी फिर्ता हुँदैन, यो वैधानिक प्रावधान हो,’ उनले स्पष्ट पारिन् ।

कांग्रेस बाँकेका पूर्वसभापति सनत रेग्मी कमजोर उम्मेदवार उठाएकाले यो परिणाम आएको दाबी गर्छन् । ‘राईको साम्राज्य चल्न दिने कि विकल्प रोज्ने भन्ने विषयमा कांग्रेसको मन मात्र होइन, मत पनि बाँडियो,’ उनले भने, ‘कांग्रेस उम्मेदवारले कांग्रेसीकै भोट पाएनन् । त्यसैले शर्मनाक पराजय बेहोर्नुपर्‍यो । राम्रो उम्मेदवार उठाएको भए परिणाम बेग्लै आउँथ्यो ।’

तत्कालीन सभापति कोइरालापछि कांग्रेसले यस क्षेत्रमा बलियो उपस्थिति जनाउन नसकेको रेग्मी पनि स्विकार्छन् । ‘२०५१ सालमा गणेशमान सिंह नै स्वयं कांग्रेस हराउन लाग्नुभयो,’ उनले भने, ‘मधेस आन्दोलनको रापमा पनि कांग्रेसले हार बेहोर्नुपर्‍यो । सुशील कोइरालापछि कांग्रेसले आफैंले आफैंलाई भोट हाल्न पाएको छैन ।’ अब पार्टीले प्रभाव क्षेत्र कायम राख्न संगठन मजबुत बनाउन सक्रिय हुनुपर्ने उनले सुझाए ।

कांग्रेस महासमिति सदस्य महेन्द्र मल्लले पार्टीको आन्तरिक द्वन्द्वका कारण हार बेहोर्नुपरेको औंल्याए । ‘कनिष्ठ उम्मेदवारलाई टिकट दिइएपछि भोटरमा आएको नैराश्यको परिणाम हो यो,’ उनले भने, ‘जुन पार्टीका संस्थागत क्रियाशील सदस्य मात्रै यस क्षेत्रमा १४ हजार छन्, अझै ५ दलीय गठबन्धनबाट जाँदा पनि त्यही पार्टीको उम्मेदवारले ४ हजार मात्रै भोट पायो । केन्द्रले आफ्नो मान्छे भनेर टिकट दिँदाको परिणाम हो ।’

भूगोलको दायराका कारण पनि मत परिणाममा फराकिलो अन्तर देखिएको कांग्रेसकी अर्की महासमिति सदस्य माया पुनले सुनाइन् । ‘२०७४ अघि जानकी गाउँपालिका क्षेत्र–२ अन्तर्गत थियो, संघीयता कार्यान्वयनसँगै त्यो रहेन । डुडुवा र उपमहानगरका संगठित मतदाताले पनि हाम्रा उम्मेदवारलाई सहयोग गरेनन्,’ उनले भनिन्, ‘पार्टीको आन्तरिक द्वन्द्व मतमा प्रकट भयो । यो निकै दुर्भाग्य हो ।’

प्रकाशित : मंसिर १६, २०७९ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×