कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हत्या अभियोगका दोषी २९ वर्षपछि पक्राउ

काशीराम डाँगी

रोल्पा — अदालतले हत्या अभियोगमा दोषी ठहर गरेको २९ वर्षपछि रोल्पामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्या अभियोगको फैसलापछि फरार त्रिवेणी–७ गैरीगाउँको राम्मी धुलसीबोट निवासी ५३ वर्षीय अमरबहादुर डाँगी मंगलबार रोल्पाको डुब्रिङबाट पक्राउ परेका हुन् ।

हत्या अभियोगका दोषी २९ वर्षपछि पक्राउ

पक्राउ परेका उनलाई अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले अदालतमा उपस्थित गराइएको जनाएको छ । २०५० असोज ३१ को घटनामा डाँगीसमेतले आफ्नै छिमेकी अमरबहादुर झाँक्रीमाथि ढुंगा, लाठी, छुुरी, भालाको प्रयोग गरी हत्या गरेको अदालतको फैसलामा उल्लेख छ । उक्त दिन राति भएको घटनापछि फरार रहेका उनी विरुद्ध रोल्पा अदालतले २०७० बैशाख ३१ मा फैसला सुनाएको थियो । प्रहरीका अनुसार हत्यामा संलग्न अमरबहादुर डाँगीलाई सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) गर्न रोल्पा जिल्ला अदालतले फैसला सुनाएको थियो । हत्या हुँदा झाँक्रीको उमेर ३३ वर्षको थियो भने अभियुक्त डाँगी २४ वर्षका थिए ।

स्थानीयका अनुसार राजनीतिक विषयमा दुई पक्षबीच विवाद भएपछि डाँगी लगायतले कुटपिट गर्दा झाँक्रीको मृत्यु भएको थियो । झाँक्रीको हत्या रिसिइबीका कारण गरिएकाले अदालतमा मुद्दा चलाइएको स्थानीयले बताए ।

फरार व्यक्तिको खोजी गर्न परिचालित प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी परिचालित थिए । उनलाई प्रहरीले रुन्टीगढी गाउँपालिका–६ डुब्रिङमा गत मंसिर २८ मा फेला पारेको थियो । प्रहरी नियन्त्रणमा लिइएका डाँगीलाई २९ गते नै रोल्पा अदालतमा उपस्थित गराई कैद सजाय भुक्तानका लागि रोल्पा कारागार चलान गरिएको हो ।

प्रकाशित : पुस १, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?