२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

नाम मात्रका कृषि सडक

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीस्थित ठूलापोखराको जर्रेखोलाबाट मथुरा–बेलाह र गुल्मीको खर्ज्याङसम्मको कृषि सडक खनिएको एक दशक भइसक्यो । सडकको सुरुवात गर्दा दलका नेताले ठूलापोखरा, मथुरा खेतका फाँटमा हिउँदे/बर्खे तरकारी, धान, मकै उत्पादन गरेर बजार पठाउने उद्घोष गरेका थिए । तर, मथुरा क्षेत्रका खेत अहिले बाँझिंँदै गएका छन् ।

यहाँ उत्पादित तरकारी, दुध, खाद्यवस्तु खर्ज्याङ बजार र रिडी बजारमा पुर्‍याउने लक्ष्य थियो । त्यतिबेला नेताले गाडीमा दूध, तरकारी, खसीबोका बाहिर निर्यात गर्ने भनेका थिए । सडक त खनियो । तर, गाउँ कृषिमा आत्मनिर्भर भन्दा परनिर्भर भएको छ । कच्ची सडक ग्रेड नमिलेको, खाल्डाखुल्डी, हिलो र अव्यवस्थित छ । जुन बर्खामा ठप्पै हुन्छ । ‘अहिले यो सडकमा कृषि उत्पादन बोकेका गाडी चल्दैनन्,’ बल्कोटका अगुवा कृषक विष्णुप्रसाद भुसालले भने, ‘उत्पादन केही छैन, कसरी गाडी चल्नू ? बाटो पनि राम्रोसँग निर्माण भएको छैन । यो नाम मात्रको कृषि सडक हो ।’

गाउँमा सडक आएपछि उत्पादित वस्तु सहजै बजार पठाएर आम्दानी लिन सकिन्छ भन्ने कुरा नारामै सीमित भएको किसानको गुनासो छ । जर्रेखोला–मथुरा–बेलाह–खर्ज्याङ सडकअन्तर्गतको मथुरामा कृषि कलेज छ । तर, यहाँ बर्सेनि खेत बाँझिंदै गएका छन् । छत्रदेव गाउँपालिकाको ढिकुरा गाउँबाट १ सय लिटर दूध र तरकारी तम्घास बजार जान्छ । त्यहाँ देउराली भुस्खात–ढिकुरा कृषि सडक निर्माण भएको छ । तर, मकै, धान, गहुँ, चामललगायत खाद्यवस्तुमा सिंगो गाउँ परनिर्भर छ । तम्घासबाट खाद्यान्न बोकेर ट्रक, ट्र्याक्टर गाउँ आउँछन् । कच्ची सडक वर्षामा बिग्रन्छ । ‘कृषि र अन्य नाम दिइएका सडक सञ्जालले बस्ती जोडिएको छ, यातायातको सुविधा सहज छ,’ भुसालले भने, ‘बजेट परेर सुरु भएका यस्ता सडक अहिले अलपत्र छन् ।’ यस्ता सडक ६ वटै पालिकाका गाउँमा धेरै छन् । पाणिनि गाउँपालिकाको पोखराथोक–पणेना खण्डको सडकमा पनि कृषि सडकको नाममा बजेट पर्‍यो । तर, निर्माण सम्पन्न गर्ने गरी पर्याप्त बजेट परेन ।

कृषि ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माले कृषि सडकको अवधारणा भनेको कृषि पकेट क्षेत्र बनाएर एकीकृत विकास गरी कृषि उत्पादन बाहिर पठाएर युवालाई स्वरोजगार बनाउनु भएको बताए । गाउँमा उत्पादन भएको बस्तु बजार पठाउन सहज होस् भनेर कृषि सडकको परिकल्पना गरिएको उनले बताए । ‘कृषि उद्यमबाट युवा तथा समग्र किसानलाई स्वरोजगार बनाउने र उत्पादित वस्तु सहजै बजार पठाउने र चाहिने कच्चा पदार्थ भित्र्याउने भन्ने हो,’ उनले भने, ‘एकीकृत विकासको अवधारणा यही हो । बैंक, सहकारी संस्था, उद्योग, सञ्चार, विद्युत्, सिंचाइ कुलो, मलखाद, बीउमलसहित कृषि उद्यमलाई चाहिने सबै व्यवस्थासहितको विकास गर्ने हाम्रो अवधारणा हो ।’ यही अवधारण अनुसार काम भएको भए पटेक क्षेत्र घोषणा गरेको गाउँको रूप फेरिइसक्ने उनले बताए ।

‘तर, यहाँ त कृषि सडकको शीर्षकमा बजेट छुट्याएर नेताको पहुँचमा मनलाग्दी सडक खनियो,’ उनले भने, ‘त्यसैले न कृषि सडक राम्रो बन्यो, न त उत्पादन । उत्पादनअनुसार पकेट क्षेत्र घोषणा गर्नुपर्ने हो तर भएन ।’ मनपरी खनिएका धेरै सडक अहिले अलपत्र परेको उनले सुनाए । ‘सरकारले नीति बनायो,’ उनले भने, ‘तर, बजेट पर्याप्त भएन । त्यसैले कृषि सडक अलपत्र परे ।

प्रकाशित : पुस १, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?