कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन व्यवसाय उकास्न एकजुट बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

दीपेन्द्र बडुवाल

भैरहवा — रुपन्देही र आसपास क्षेत्रमा पर्यटन गतिविधि वृद्धि र व्यवसाय उकास्न एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोराना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र उकास्न नयाँ प्याकेज कार्यक्रम निर्माणसँगै यस क्षेत्रमा देखिएका समस्या हल गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

पर्यटन व्यवसाय उकास्न एकजुट बन्नुपर्नेमा सरोकारवालाहरूको जोड

लुम्बिनी विकास कोषका पर्यटनविज्ञ डा. हरिध्वज राईले सधैं समस्या मात्र देखाएर पर्यटकबाट धेरै कमाइ गर्ने उद्देश्य परिवर्तन गर्नुपर्ने बताए । यहाँ सञ्चालन भइरहेको आठौं लुम्बिनी महोत्सवअन्तर्गत लुम्बिनी प्रेस क्लबको संयोजन र सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार बिहान भएको छलफलमा पर्यटनबारे जानकारी राख्दै उनले भने, ‘आगन्तुकको भीड बढेर मात्र आर्जन हुँदैन, अहिले हामीलाई स्तरीय पर्यटकहरू आवश्यक छन् । त्यसका लागि वातावरण तयार गर्नुस् ।’ कार्यक्रममा पर्यटनका विभिन्न विद्याबारे उनले जानकारी गराएका थिए । ‘पर्यटकको संख्यासँगै उनीहरूको बसाइ र खर्च बढाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामीले दिने सेवामा सुधार जरुरी छ ।’

कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुवास झाले सीमित स्रोत साधनको भरमा विमानस्थल सञ्चालन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ बढाइरहेको जानकारी दिए । ‘हाम्रोतर्फबाट विमानस्थललाई दीगो र लाभमा सञ्चालन गर्न कोसिस भइरहेको छ,’ उनले भने, ‘अहिले देखिएका समस्या हल गरेर विमानस्थल सञ्चालनमा जोड दिइरहेका छौं ।’ स्थानीय सरकारले हल गर्न सक्ने समस्याबाट यात्रु पीडित बनिरहेको उनले जानकारी दिए । सस्तो होटल र सार्वजनिक यातायातको व्यवस्था नहुँदा मर्का परिरहेको उनले बताए ।

बेलहियास्थित अध्यागमन कार्यालय प्रमुख बासुराम पौडेलले नाकामा पर्यटकलाई कुनै असुविधा नरहेको जानकारी दिए । ‘भारतीय बिचौलियाका कारण हामी बदनाम भइरहेका छौं,’ उनले भने, ‘नेपालतर्फ अध्यागमनमा कुनै समस्या छैन ।’ सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले अध्यागमनले नाकामा पर्यटकसित असुली गर्दै आएको गुनासो पुरानै भएको बताए । ‘मुलुक प्रवेश गर्दा पैसा बुझाउनु परिरहेको गुनासो पुरानै थियो,’ उनले भने, ‘सत्यता के हो ? छानबिन होस् ।’ लामो समयदेखि नाकामै सडक निर्माण अलपत्र रहेकाले कहिले समस्या समाधान हुन्छ भनेर प्रश्न गरे ।

नेपाल टुर एन्ड ट्राभल्स एजेन्ट संघ (नाटा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटनसित सरोकार राखेर उठ्ने गुनासा समाधान गरिनुपर्ने बताइन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले पर्यटकसित सरोकार राख्ने सबै निकायले सही ढंगले काम गरेमा गुनासो सुन्न नपर्ने बताए । ‘आफ्नो जिम्मेवारीभन्दा बाहिर गएर काम गर्ने बानी नै भइसक्यो,’ उनले भने, ‘पर्यटन क्षेत्रमा देखिएका समस्या उठान भए मात्र समाधान गर्न सहज हुन्छ ।’

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले रुपन्देही र आसपासका पर्यटन गन्तव्यमा धेरै समस्या रहेकाले यस्ता छलफल आवश्यक परेको बताए । ‘समस्या रहेका छन्,’ उनले भने, ‘सबै जना मिलेर समाधान गर्दै जाउँ ।’ बेलहिया नाका, विमानस्थल र लुम्बिनी क्षेत्रमा धेरै समस्या रहेकाले विस्तार हल गर्दै जानुपर्नेमा उनले जोड दिए । सिद्धार्थ नगर उद्योग वाणिज्य संघका पर्यटन संयोजक सञ्जय बजिमयले निजी क्षेत्रले कोरोनाबाट थला परेको पर्यटन क्षेत्र उकास्न नयाँ प्याकेज घोषणासँगै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गरिरहेको जानकारी दिए ।

समस्याबारे सरोकारवालाबीच छलफल होस् भनेर कार्यक्रम आयोजना गरिएको उनले बताए । संघका अध्यक्ष भीष्म न्यौपानेले भूकम्प र कोरोनाबाट प्रभावित पर्यटन उकास्न सरोकारवाला एकजुट हुन जरुरी रहेको बताए । ‘अब मिलेरै पर्यटन क्षेत्रका समस्या हल गर्नुपर्छ,’ उनले भने, ‘बैंकको ब्याज तिर्न नसकेर व्यवसायी होटल बन्द गर्ने अवस्थामा पुगेका छन् ।’

प्रकाशित : मंसिर २८, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?