पहिरोपीडित दुई महिनादेखि विस्थापित- लुम्बिनी - कान्तिपुर समाचार

पहिरोपीडित दुई महिनादेखि विस्थापित

बस्ती स्थानान्तरण वा पुनःस्थापनाबारे छिटो निर्णय गर्न माग
शमशेरविक्रम जीसी

प्यूठान — पहिरोले विस्थापित भएका ऐरावती गाउँपालिका–४ तिग्रापातलका पोमबहादुर मगर अहिले पनि अस्थायी टहरोमा छन् । गएको असोज १९ मा अविरल वर्षाका कारण पहिरोले बस्ती बगाउने जोखिम बढेपछि गाउँबाट विस्थापित भएको उनले सुनाए । ‘गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको सुनेका छौं,’ उनले भने, ‘बस्ती स्थानान्तरण गर्ने वा गाउँमै पुनःस्थापित गर्नेबारे छिटो निर्णय भए यो जाडोमा कठ्यांग्रिनबाट बच्न सक्थ्यौं कि ।’

असोजमा आएको पहिरोले तिग्रापातलका २५ परिवार विस्थापित भएका हुन् । उनीहरूमध्ये केही विद्यालयमा आश्रय लिएर बसेका छन् भने केही सार्वजनिक र जंगल क्षेत्रमा पाल टाँगेर बसेका छन् । ‘हामी त केही जान्दैनौं, आँखाले हेर्दा बस्तीमा पुनः फर्किएर जाने अवस्था छैन,’ पोमबहादुरले भने, ‘भूगर्भविद् ल्याएर जाँच गर्ने काम अहिलेसम्म भएको छैन ।’ पहिरोका कारण प्यूठानका विभिन्न बस्ती स्थानान्तरण गर्नुपर्ने एकमात्रै विकल्प देखिएको पालिकाहरूको दाबी छ । जिल्लाका चार स्थानीय तहले बस्ती स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेका छन् । चार पालिकाका १६ बस्ती स्थानान्तरणका लागि सिफारिस आएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकाबाट बस्ती स्थानान्तरणका लागि सिफारिस भएको हो ।

पालिकाबाट आएको सिफारिसका आधारमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको प्रजिअ नेपालले बताइन् । ‘प्राविधिक खटाउन माग गर्दै प्राधिकरणलाई सिफारिस गरेका छौं,’ उनले भनिन्, ‘बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्नेबारे प्राविधिक टोलीको अनुगमनपछि मात्रै निर्णय हुनेछ ।’ पहिरोका कारण ऐरावती गाउँपालिकाको तिग्रापातलका २५ परिवारका १ सय ३१ जना विस्थापित छन् । सरुमारानी गाउँपालिका–२ को चुकाहा बस्तीका पाँच घर, वडा नं. ५ को राङवाङ बस्तीका ६५ घर, तारिके बस्तीका चार, तल्लो भीरगाउँका सात घर स्थानान्तरणका लागि गाउँपालिकाले जिल्लामा सिफारिस गरेको हो ।

यसबाहेक सरुमारानी गाउँपालिकाको पाखापानी बस्तीका तीन घर, विरिङकोटका एक, बुडीचौरका १०, पाङकोट, ढलपानीका पाँच, कुटिचौरका दुई र भन्ज्याङका तीन घर स्थानान्तरण गर्न गाउँपालिकाले सिफारिस गरेको छ । सरुमारानी गाउँपालिकाका १ सय ५ घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘गाउँपालिकाभित्रका ४ सय ५० जना विस्थापित छन्,’ उनले भने, ‘कोही बस्ती छाडेर हिंडेका छन् । कोही अझै पनि जोखिम क्षेत्रमै बसेका छन् ।’ थप जोखिम हुन नदिन बस्ती स्थानान्तरण गर्न आग्रह गरिएको उनले बताए ।

स्वर्गद्वारी नगरपालिकाका पनि ४० घर स्थानान्तरणका लागि सिफारिस गरिएको नगर प्रमुख टेकप्रसाद भण्डारीले जानकारी दिए । नगरपालिकाभित्रका तीनवटा बस्ती अति जोखिममा छन् । थप वर्षा भए बस्ती नै बग्ने खतरा रहेकाले स्थानान्तरणका लागि सिफारिस गरिएको उनले बताए । तीन बस्तीका १ सय ७० जना प्रत्यक्ष प्रभावित छन् । उनीहरूको थप सुरक्षाका लागि नगरपालिका–३ को खोलाखर्कका १२ घर, वडा नं. २ का २७ घर र वडा नं. ९ को कालिपोखरीको एक घर स्थानान्तरण गर्नुपर्ने देखिएको भण्डारीले बताए ।

पहिरोले विस्थापित भएकाहरू दुई महिना बितिसक्दा पनि गाउँ फर्किन पाएका छैनन् । भूगर्भविद्को टोलीले बस्तीमा बस्न योग्य भएको बताए विस्थापितलाई गाउँ फर्काउन सकिने ऐरावती गाउँपालिका अध्यक्ष नविलबिक्रम शाहले बताए । सार्वजनिक स्थान र विद्यालयमा बसेका पहिरोपीडितको दैनिकी चिसोले कष्टकर बन्दै जाँदा गाउँ फर्किने वातावरण छिटो बने सहज हुने उनले बताए । विज्ञको टोलीले गाउँको अवस्था बुझ्न ढिलाइ गर्दा आफूहरूको बिचल्ली भएको पीडितले गुनासो गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो प्रभावित क्षेत्र ऐरावतीको तिग्रापातल, माण्डवी गाउँपालिकाको धनचौर र मर्काबाङ बस्तीको अवलोकन गरी असोजमै विज्ञ टोली पठाएर प्रभावित क्षेत्रको जाँच गर्ने आश्वासन दिएका थिए । तर, अहिलेसम्म भूगर्भविद्को टोली नआएको गाउँपालिका अध्यक्ष शाहले बताए । ‘एकैपटक पहिरो गएको ऐरावती र माण्डवी क्षेत्रमध्ये माण्डवीमा टोली आएर फर्किएको सुनेका छौं,’ उनले भने, ‘हाम्रो पालिकामा अहिलेसम्म कसैले केही गरेका छैनन् ।’ भूगर्भविद्को टोली नआउँदा पहिरोपीडितको बिचल्ली भएको उनले सुनाए ।

माण्डवी गाउँपालिकामा असोज १९ को पहिरोमा परी ४ सय २० जना प्रभावित भएका थिए । १ सय २ घर स्थानान्तरण गर्न सिफारिस गरिएको गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले जानकारी दिए । वडा नं. १ को तिराम र वडा नं. २ को धनचौर बस्ती स्थानान्तरण गर्न आवश्यक देखिएको हो । विज्ञको टोली आएर प्रभावित क्षेत्रको अध्ययन गरेर फर्किएको छ । तर, अहिलेसम्म रिपोर्ट सार्वजनिक नभएकाले के गर्ने भन्नेबारे अन्योल रहेको उनले बताए । ‘पहिरो प्रभावित क्षेत्रमा पुग्दा बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखेका छौं,’ उपाध्यक्ष कालाथोकीले भने, ‘सिंगो बस्ती नै भासिएको र चर्किएकाले स्थानान्तरणको विकल्प छैन ।’

प्रकाशित : मंसिर २७, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

वार्षिक ५ सय रुपैयाँभन्दा बढी कर बुझाउनेलाई निःशुल्क इन्डक्सन चुल्हो

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठान नगरपालिकाले नगरपालिकाभित्रका करदातालाई इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकालाई वार्षिक ५ सय रुपैयाँभन्दा बढी कर बुझाउने करदातालाई नगरपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेको नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए ।

करदाताको सम्मान, ग्यास सिलिन्डरमा कमी ल्याउन र देशभित्र उत्पादन भइरहेको विद्युत्को खपत बढाउन नगरपालिकाले इन्डक्सन चुल्हो वितरण गरेको बर्माले बताए । नगरपालिकाभित्रका करिब १४ सय जनालाई निःशुल्क चुल्हो वितरण गरिने नगरपालिकाले जनाएको छ ।

२०७८/०७९मा बुझाएको करको तथ्यांकका आधारमा चुल्हो वितरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्यूठान नगरपालिकाको साझेदारीमा चुल्हो खरिद गरेर वितरण गरिएको बर्माले बताए । इन्डक्सन चुल्हो वितरणका लागि नगरपालिकाले करिब ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : मंसिर २६, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×