२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

झाडापखाला फैलिएको पानीमा कोलिफर्म भेटियो

माधव अर्याल

पाल्पा — पाल्पाको बगनासकाली बिहे भोजमा प्रयाेग भएकाे पानी दूषित रहेकाे प्रयोगशालाबाट पुष्टि भएकाे छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा हैजा फैलाउने जीवाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

झाडापखाला फैलिएको पानीमा कोलिफर्म भेटियो

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्य एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए ।

उनका अनुसार दुई वटा ड्रमको पानी परीक्षण गर्दा एउटा ड्रमको पानीमा कोलिफर्म जीवाणु भेटिएको हो । ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए ।

पानीको मूलमा वा अन्य समस्या हो भन्ने अझै पत्ता लागेको छैन । ड्रममा मात्र समस्या पनि हुन सक्ने उनले बताए ।

मंसिर १७ गते शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर पाल्पा र प्यूठानमा गरी २ सय जनाभन्दा बढी गाउँले, आफन्त तथा जन्ती बिरामी भएका थिए । बिहेको भोज खाएपछि पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।

पाल्पा मिसन अस्पतालमा बिरामीको दिशा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानी कै खराबी भएको हुन सक्ने बताएका थिए । गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घर घरमा स्वास्थ्यकर्मी खटाएर १ सय ५० बढीको उपचार गरेको गाउँपालिका अध्यक्ष सरस्वती चिदिले बताइन् ।

प्रकाशित : मंसिर २२, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?