गाउँगाउँमै प्राविधिक शिक्षा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँगाउँमै प्राविधिक शिक्षा

गगनशिला खड्का

गुल्मी — गुल्मीको मदाने गाउँपालिका–७ की १८ वर्षीया कमला पन्थीको रहर कानुन पढ्ने थियो । तर, उनी नापी सर्वेक्षककी विद्यार्थी बनेकी छन् । इस्मा गाउँपालिका–५ हुलाकेमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा तीनवर्षे नापी सर्वेक्षकको दोस्रो सेमेस्टरमा अध्ययनरत छन् । गाउँमै प्राविधिक शिक्षालय खुलेपछि पन्थीको सोचाइ एकाएक फेरिएको हो ।

‘बुबाले पहिला पोस्ट अफिसमा काम गर्नु हुन्थ्यो, बुबाको साथीको छोराले नापी सर्वेक्षक नै पढ्नु हुँदो रहेछ, उहाँले मेरो बुबालाई कन्भिन्स गर्नुभएछ,’ उनले भनिन्, ‘अहिले गाउँमै बसेर नापी सर्वेक्षक पढ्न पाउँदा खुसी छु ।’ पन्थी मात्रै होइन, गुल्मीको पश्चिम भेगका १८ जनाले उनीसँगै नापी सर्वेक्षक पढिरहेका छन् । मालिका गाउँपालिका–६, अर्जेका मोहन पोखरेल आफ्नै गाउँ नजिकैको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा सर्भे इन्जिनियरिङ विषयमा डिप्लोमा पढिरहेका छन् ।

‘पहिला यति पढ्न काठमाडौं जानु पर्थ्यो, अहिले घरमै बसेर पढ्न पाएका छौं,’ उनले भने, ‘खर्च पनि जोगियो, राम्रो विषय पनि पढ्न पाइयो ।’ गुल्मीका १ हजार १ सय ४४ जना विद्यार्थीले अहिले विभिन्न विषयमा प्राविधिक शिक्षा पढिरहेका छन् ।

रेसुंगा माध्यमिक विद्यालय तम्घासमा कक्षा ११ मा सिभिल इन्जिनियरिङ पढिरहेका मालिका गाउँपालिका–५ छापहिलेका १७ वर्षीय प्रदीप गिरीले घर छोडेर टाढा पढ्न जानुपर्ने विषय अहिले सदरमुकाममा बसेर पढ्न पाएको बताए । उनी रेसुंगा नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा पढिरहेका छन् । ‘यहाँ सिभिल इन्जिनियरिङ पढाइ हुन्थेन भने मैले यो विषय पढ्न नै पाउने थिइनँ, किनभने पाल्पा, बुटवल र काठमाडौं गएर पढ्न असमर्थ थिएँ ।’

शिक्षाकै लागि युवा तथा विद्यार्थीहरू बाहिरिने क्रम बढेपछि जिल्लामै प्राविधिक शिक्षालयहरूको स्थापनाको क्रम पनि बढेको छ । गुल्मीका १६ माध्यमिक विद्यालयमा अहिले प्राविधिक विषय अध्ययन हुन्छ । जसमध्ये १३ विद्यालयमा सरकारी अनुदानमा निःशुल्क र अन्य ३ विद्यालयमा निजी स्रोतबाट प्राविधिक विषय पढाइ हुन्छ ।

सरकारी अनुदानमा उदय मावि चन्द्रकोट, पाञ्चायन मावि धुर्कोट, हिमालय मावि हस्तीचौर, जनवोध मावि रुरुक्षेत्र, आत्मबोध मावि छत्रकोटमा कृषि, पृथ्वी मावि मदाने, मालिका मावि मालिका, दुर्गाभवन मावि कालीगण्डकी, म्यालपोखरी मावि गैंडाकोटमा भेटेरेनरी, जनज्योति मावि रिमुवा, रेसुंगा मावि तम्घास, महेन्द्र आदर्श मावि मुसिकोटमा सिभिल इन्जिनियर र सरस्वती मावि सत्यवतीमा कम्प्युटर शिक्षा अध्ययन हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताए ।

‘यी १३ विद्यालयमा ८ वटासम्म प्राविधिक दरबन्दी दिएर प्राविधिक धार चलाइएको छ,’ उनले भने, ‘यसबाहेक निजी स्रोतबाट त्रिभुवन मावि कुर्घा र सिद्धबामा मावि तम्घासले कम्प्युटर अनि उपल्लो तम्घास माविले बाली विज्ञान अध्ययापन गराएका छन् ।

त्यसबाहेक दुईवटा प्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा खुलेका छन् । जसमध्ये जीवराज आश्रित बहुप्राविधिक शिक्षालय इस्मामा नापी सर्वेक्षक र तुराङ बहुप्राविधिक शिक्षालय चन्द्रकोटमा कृषि प्राविधिक विषयको डिप्लोमा तहको अध्ययन हुने गरेको छ ।

जिल्ला शिक्षा समन्वय एकाइ गुल्मीले दिएको जानकारी अनुसार जिल्लामा कृषि तथा बाली विज्ञान विषयमा ५ सय १९ जना, सिभिल इन्जिनियरिङमा ३ सय ९० जना, कम्प्यूटर इन्जिनियरिङमा १ सय १२ जना, पशु तथा भेटेरेनरीमा ७२ जना र डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङमा ५१ जना विद्यार्थीले प्राविधिक विषय पढिरहेका छन् ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मी- १ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता भण्डारी विजयी

गगनशिला खड्का

गुल्मी — गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी- १ मा जित हात पारेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ५ सय ९२ रहेको छ ।

एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् । उनले लेखेका छन्, 'अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ । '

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×