बिहे भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ भन्दा बढी बिरामी - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहे भोज खाएपछि पाल्पा र प्यूठानमा ८५ भन्दा बढी बिरामी 

माधव अर्याल, शमशेरविक्रम जीसी

पाल्पा,प्यूठान — बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा घोरबन्दा र प्यूठानको प्यूठान नगरपालिकास्थित गुरुङगाउँका ८५ बढी बिरामी परेका छन् । पाल्पामा एकै गाउँका ४० बढी बिरामी परेका छन् । पाल्पामा जन्ती आएर फर्किएका प्यूठानका ४५ भन्दा बढी बिरामी परेका हुन् । 

मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेको स्थानीयले बताए ।

पाल्पाको चिर्तुङधारामा बिरामी परेकाहरू आइतबार र सोमबार तानसेनस्थित मिसन अस्पतालमा उपचार गराएका छन् । मिसन अस्पतालका अनुसार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ ।

अस्पतालका व्यवस्थापक जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएका हुन् । चिर्तुङधारा घोरबन्दाका बिरामी टेकबहादुर गाहाका अनुसार ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या भएको छ । आइतबार खप्न सकिन्छ कि भन्ने भए पनि सोमबार भने सबै बिरामी अस्पताल पुगेको स्थानीयले बताए ।

स्थानीय मुक्ति बस्यालका अनुसार घरमा गएर भोज खाने प्राय: सबै बिरामी परेका छन् । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेको भन्ने सुनेको छु,’ उनले भने, ‘सहनै नसक्ने भएपछि मात्र बिरामी अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न सकेका छैनन् । यहाँ प्यूठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए ।

बिरामी भएकाहरूका अनुसार घरमा ल्याएको बटुकमा कुनै समस्या देखिएन । भोजमा पाडा (राँगो) को मासु, पुलाउ, बटुक, अचार थियो । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् । जन्ती आएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् ।

प्यूठान नगरपालिका–६, गुरुङगाउँका ४५ जना बिरामी परेका हुन् । जन्ती गए घर फर्किएसँगै ४५ जनमा बान्ता आउने, पखाला लाग्ने गरेको वडाअध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । प्यूठान नगरपालिका–६, गुरूङगाउँबाट पाल्पाको चिर्तुङधाराको घोरबन्दा जन्ती गएका ४८ जनामध्ये ४५ जनाले खाना खाएको र खाना खाएका उनीहरू सबै बिरामी भएको वडाध्यक्ष पुनमगरले बताए । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

कालीगण्डकीमा ७ वर्षदेखि पुल निर्माण अलपत्र

नारायण शर्मा

पूर्वी नवलपरासी — दुर्गम पहाडी क्षेत्रको कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ७ वर्षदेखि अलपत्र छ । पूर्वी नवलपरासीको बुलिङटार र तनहुँ जोड्ने पक्की पुल निर्माण थालेको ७ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन नसकेको हो ।

बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीका अनुसार पुल निर्माणका लागि खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदार बेपत्ता भएका छन् । खम्बामा प्रयोग भएका फलामे डण्डीमा खिया लागेर कामै नलाग्ने भइसकेको सुनारीले बताए ।

तीनवटा खम्बा ठड्याएर अलपत्र पारेर ठेकेदारले छोडेका छन् । पुल बनाउन ल्याइएका फलाम खिया लागेर बगरमा लथालिंग छोडिएको छ । कालिगण्डकी नदीमा निर्माणाधीन यो पुलले बुलिङटार गाउँपालिका वडा नम्बर ४ कोखे र तनहुँको रिसिङ गाउँपालिकाको वडा नम्बर ६ को मधुवन गाउँ जोड्ने पुल हो । पुल नजिक पुग्ने दुबै जिल्लाबाट सडक निर्माण भइसकेको छ ।

तनहुँतर्फ जोडिने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार जेभी कन्सट्रक्सन कम्पनीले यो पुल निर्माणका लागि ४० करोडमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीका मालिक जयराम लामिछाने सम्पर्कमा नै नआएको र पटकपटक फोन गर्दा पनि नउठाउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 'मन्त्रालयमा पनि धेरैपटक धाइसकियो सरकारी निकायले नै वास्ता गर्दैनन्,' अध्यक्ष श्रेष्ठले भने ।

ताकेता गर्ने भौतिक पूर्वाधार मन्त्रालयको पुल विभागलाई धेरै पटक जानकारी गराउँदा समेत बेवास्ता भएको उनको भनाइ छ । 'ठेकेदार सम्पर्कमै छैनन् । काम पनि गर्दैनन् हाम्रो प्रयासले केही नहुने भयो,' उनले भने ।

गैंडाकोट बुलिङटार हुँदै मुक्तिनाथ जाने कालीगण्डकी सडक सञ्जालसँग यो पुल नजिक पर्छ । तनहुँ र नवलपरासीको पहाडी भेगमा जाने यो पुल चाँडो निर्माण होस् भन्ने स्थानीयहरूले पनि चासो देखाउँदै आएका छन् ।

प्रकाशित : मंसिर १९, २०७९ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×