नेपालगन्जमा १३ महिला स्वास्थ्य स्वयंसेवक सम्मानित

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरेको छ। १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रमबीच १३ जना स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरिएको हो।

नेपालगन्जमा १३ महिला स्वास्थ्य स्वयंसेवक सम्मानित

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरेका हुन्। ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० वर्ष उमेर पुगेर अवकास पाएका २ जनालाई सम्मानसहित बिदाइ गरिएको हो।

वडा नम्बर ९ की शिला घर्ती मगर जिसी, वडा नम्बर १३ की शारदा सिंह ठाकुर, वडा नम्बर १४ की विनिता गोडिया, वडा नम्बर १५ की सकुन्तला नेपाली, वडा नम्बर १७ की सरस्वती बाहुन, वडा नम्बर १८ की रामजानकी कादु, वडा नम्बर १९ की विन्देश्वरी जैसवाल, वडा नम्बर २० की सुशीला यादव, वडा नम्बर २१ की किस्मतुल भुजवा, वडा नम्बर २२ की सुनिता राढ र वडा नम्बर १६ की साल्मा बेगम राईलाई सम्मान गरिएको छ।

यस्तै ६० वर्ष पुगेर अवकास पाएका वडा नम्बर २० की रामप्यारी थापा र वडा नम्बर १७ की सावित्री कहारलाई बिदाइसहित सम्मान गरिएको छ। अवकास पाएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित बिदाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेवक कार्यरत छन्।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेवकहरुको जति नै प्रंशसा गरे पनि कम हुने बताए। उनले स्वास्थ्य स्वयंसेवकहरुलाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगन्ज उपमहानगरपालिका गम्भीर रहेको उल्लेख गरे।

उनले उपमहानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरूलाई दिन सकिने सेवा सुविधा तथा समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको बताए।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेवक लगायतको उपस्थिति थियो। कार्यक्रममा उपस्थितहरूलाई महिला स्वास्थ्य स्वयंसेविका कोषकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत गरेकी थिइन्।

प्रकाशित : मंसिर १९, २०७९ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?