कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बुटवलका गैरकृषि जग्गामा कित्ताकाट सुरु

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट गर्न मिल्ने प्रावधान खुला गरेको छ । उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले प्रस्तावित ७ (२) को भूमिको वर्गीकरण सम्बन्धमा प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्न मिल्ने भएको हो ।

बुटवलका गैरकृषि जग्गामा कित्ताकाट सुरु

जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

उपमहानगरको भू उपयोग नीति तथा व्यवस्थापन शाखा प्रमुख विजयदेव भुर्तेलका अनुसार उक्त काम निर्वाचन अघिदेखि नै सुरु गर्ने भनिए पनि निर्वाचनले रोकिँदा अहिले गरिएको हो । उनका अनुसार पालिकामा रहेका १९ वडामध्ये सहरीकरण उन्मुख रहेका १ देखि १३ र वडा १९ वडाबाट सिफारिस भए अनुसार ती क्षेत्रमा कृषियोग्य जमिन नै छैन ।

भूउपयोग ऐन, २०७६ को दफा ४ (१) बमोजिम उक्त क्षेत्रलाई गैरकृषि क्षेत्रमा राखी त्यहाँ जग्गाको वर्गीकरण गर्न मिल्ने सुविधा दिइएको उनले बताए । उक्त क्षेत्रका स्थानियले कृषियोग्य क्षेत्रमा राख्न पुन : विचार गरी निवेदन पेस गर्न सूचना जारी गर्दा समेत निवेदन नपरेपछि त्यहाँका जग्गा गैरकृषिमा समेटिएको उनले बताए ।

त्यस्तै, बाँकी रहेका अन्य वडामध्ये १४, १५, १६ र १७ वडाका ५० जनाले आफ्नो जग्गालाई कृषि क्षेत्रमा राख्नेगरी निवेदन दिएका हुन् । उक्त क्षेत्र पहिलेदेखिकै कृषियोग्य तथा मोतीपुर, सेमलार जस्ता गाउँ क्षेत्र पर्ने भएकाले त्यहाँ कृषि गर्ने गरिएको उनले बताए । स्थानीय जग्गाधनीको निवदेनकै आधारमा उनीहरूको जमिन कृषियोग्य क्षेत्रमा राखिएको उनले जानकारी दिए । भुर्तेलले जनाए अनुसार १४, १६ र १८ का आवासक्षेत्रमा पर्ने ९५ सडकका दायाँबायाँका क्षेत्रमा ३ सय मिटर वरपरको जग्गालाई गैरकृषिमा राख्न परेको निवदेनमा सरकारको नीति अनुरुप १ सय मिटरमा मात्र गैर कृषि क्षेत्र बनाई अन्यलाई कृषि क्षेत्रमै राखिएको छ । जहाँ कित्ताकाट गर्न नमिल्ने उनले बताए ।

कित्ताकाट वर्षको एक पटक मात्र खुला हुँदा पनि बैंकको ऋण बोकिरहेको सामान्य नागरिक वा जमिनको आडमा व्यवसाय थालेको व्यावसायीलाई राहत हुनसक्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजुले बताए । उनले ऋणले थला परेको हरेक क्षेत्रलाई पिंडामुक्त गराउन यो सुविधा उपयोगी हुनसक्ने र यसले बजारमा केही भए पनि आर्थिक चलायमान गर्ने बताए ।

बैंक क्षेत्रका प्रतिनिधिले आर्थिक रुपमा चलायमान हुने विषयमा यो सहयोगी बन्न सक्ने बताउँछन् । उनीहरूले वित्तीय संस्थाबाट ऋण लिई आर्थिक खर्च चलाइरहेको मानिसले जग्गा बिक्री गरी ऋण घटाउन, व्याज तिर्न वा दैनिकी गुजाराको माध्यम बढाउन सकने सुविधा कित्ताकाट बन्न सक्ने बताए । अचल सम्पत्तीलाई चालु बनाएर बिक्री गरी पुँजी प्रयोग गर्न पाउनु आम मानिसको लागि हितकारी हुने उनीहरुको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?