फलफूलमा सेतो औंसा कीराको प्रकोप

शमशेरविक्रम जीसी

प्यूठान — बारीभरि पहेँलपुर बनेका मौसम र सुन्तला बेचेर घरखर्चको जोहो गर्ने सोचेकी झिमरुक गाउँपालिका–७ तुषाराकी सुन्तलादेवी पोखरेल अहिले निराश छन् । पाकेका अमिला जातका फलफूलमा औंसा कीरा लागेपछि यसपटक बजार पठाउनै नपाइने उनले बताइन् ।

‘टिप्ने बेला हुनै लागेको थियो । धमाधम रोग लागेर झर्ने समस्या देखिएको छ,’ उनले भनिन्, ‘यो समस्या गाउँभरिका किसानका फलफूलमा देखिएको हो । मौसम त एक दाना पनि काम लाग्ने भएन, भित्र सेता किरा परेका छन् ।’

सुन्तला, मौसमलगायत फलफूलका लागि झिमरुकको तुषारा गाउँ प्रख्यात छ । अमिला जातका फलफूल बिक्री गरेरै यहाँका किसानले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । यो समय यहाँबाट जिल्लाका विभिन्न बजार क्षेत्रमा फलफूल पुग्ने गर्थ्यो । तर, यस वर्ष फलफूलमा रोग लागेपछि बजारमा पनि कम देखिएको छ । मौसममा लागेको रोग बिस्तारै सुन्तलामा पनि सरेको तुषाराकै अर्की किसान पूर्णमाया सुवेदीले बताइन् । ‘मौसमका २५ बोट थिए । रोग देखिन थालेपछि बोट नै मासें, अहिले एक–दुईवटा मात्रै छन्,’ उनले भनिन्, ‘रोग लाग्न थालेपछि यहाँका किसानले फलफूलका बगैंचा नै मास्न थालेका हुन् ।’ झिमरुकलाई फलफूलको पकेट क्षेत्र घोषणा गरिए पनि किसानका समस्यामा सरोकारवाला निकायले चासो नदिएको किसानको गुनासो छ ।

किसानले लगाएका फलफूलमा सेतो प्रकारको औंसा कीरा देखिएको हो । जसले फल पाक्नुअघि नै झर्ने समस्या छ । विशेष गरेर यो रोग मौसम, जुनारलगायतका फलफूलमा देखिएको किसान असिम जीसीले बताए । ‘यो समस्या देशैभर देखिएको छ भन्ने सुनेका छौं, हामी पनि समस्या लिएर कतै गएका छैनौं, जनप्रतिनिधिलाई मात्रै गुनासो सुनाएका छौं,’ उनले भने, ‘अझैसम्म समाधान भेटिएको छैन ।’

सेतो औंसा कीरा फलफूलमा देखिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका अधिकृत केशव खनालले बताए । ‘हामीले अनुगमनका क्रममा यस्तो समस्या भेट्टाएका छौं तर किसान समस्या लिएर आउनु भएको छैन,’ उनले भने, ‘फल लाग्ने बेलामै विषादी छर्कन सके यसलाई रोकथाम गर्न सकिन्छ ।’

जिल्लामा उत्पादन हुने अमिलो जातका फलफूलमध्ये ४० प्रतिशत हिस्सा झिमरुक गाउँपालिकाको तुषारामा उत्पादन हुन्छ । यसबाहेक प्यूठान नगरपालिकाको छेपाने, झिमरुक गाउँपालिकाकै चुधारालगायत क्षेत्रमा फलफूलको व्यावसायिक खेती गरिंदै आएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

उद्योगी राठी ‘अपहृत’

विनोद भण्डारी

विराटनगर — नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक तथा उद्योगी अरुणकुमार राठीले मिडियाका अन्य सञ्चालकबाट अपहरणमा परेको र फिरौती रकम बुझाएर फुत्किन सफल भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

अर्का सञ्चालक शहेन शाह भन्ने अब्दुल खताबले आफ्नै मिडिया हाउसमा भिडियो सुटिङ गर्ने भन्दै गत बुधबार आफूलाई घरबाटै लिएर गएको र विराटनगर–६, सरौचियास्थित मिडिया हाउसको पुरानो कार्यालयमा लगेर अन्य अपरिचितको सहयोगमा हातखुट्टा बाँध्दै ३० लाख रुपैयाँ माग गरेको राठीले बताएका छन् । उक्त रकम नदिए भारत पुर्‍याउने धक्की दिँदै उनीहरूले विराटनगर–५ स्थित एभरेस्ट बोर्डिङ स्कुलअगाडिको नयाँ कार्यालय पुर्‍याएर कुटपिट गरेको उनको दाबी छ । राठीको छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । यो मिडिया हाउसमा राठीसहित चार जना सञ्चालक छन् ।

उनीहरूले भारतमा लगेर मार्ने धम्की दिएपछि राठीले तत्काल १५ लाखको चेक दिएको र १५ लाख एक साताभित्र दिने सर्तमा अपहरणमुक्त हुन सफल भएको बताएका छन् । ‘मैले उनीहरूलाई मेरो परिवारलाई पनि तिमीहरूले मलाई आफ्नै मिडिया हाउसमा भिडियो सुटिङका लागि लगेको भन्ने थाहा छ, मलाई यस्तो व्यवहार नगर भनेर सम्झाउन खोजें,’ उनले भने, ‘१५ लाख दिएर यो कुरा परिवारसहित कसैलाई पनि भन्दिन भनेपछि फुत्किन दिए ।’

नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका खताबसहितका सञ्चालकले आफूलाई अपहरण शैलीमा घरबाट उठाएर फिरौती रकम मागेको भन्दै राठीले आइतबार उजुरी दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । राठीले सिरहा नगरपालिका–४ स्थायी घर भई हाल विराटनगर–६ बस्ने मिडिया हाउसका सञ्चालकसमेत रहेका खताबको टोलीले भिडियो सुटिङका नाममा आफूलाई घरबाट अपहरण गरेर फिरौती मागेको र नदिए भारत पुर्‍याउने धम्की दिँदै हातपात गरेको उजुरीमा उल्लेख भएको डीएसपी श्रेष्ठले बताए ।

‘राठीले तत्काल १५ लाखको चेक दिएको र बाँकी १५ लाख एक साताभित्र दिन्छु भनेर फुत्किन सफल भएछन्,’ श्रेष्ठले भने । उनका अनुसार प्रहरीले अनुसन्धान सुरु गरेको र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि वास्तविकता बाहिर आउनेछ । प्रहरीले घटनामा संलग्न कसैलाई पनि आइतबार साँझसम्म पक्राउ गरेको छैन ।

प्रकाशित : मंसिर १९, २०७९ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×