पाल्पामा आठ हजारभन्दा बढी मत बदर 

माधव अर्याल

पाल्पा — मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पाल्पामा आठ हजार बढी मत बदर भएको छ । प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा गरी आठ हजार २ सय ३९ वटा मत बदर भएको छ । 

पाल्पामा आठ हजारभन्दा बढी मत बदर 

दुई लाख १ हजार ३ सय २६ मतदाता रहेकामा प्रतिनिधि सभातर्फ एक लाख २१ हजार ५ सय ९७ मत खसेको थियो । जसमा ३ हजार ५ सय ४५ मत बदर भएको छ । प्रदेशसभातर्फ १ लाख २२ हजार ४ सय ४२ मत खसेकोमा ४ हजार ६ सय ९४ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए ।

मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टका अनुसार बदर हुनेमा अधिकांश मतपत्रमा धेरै छाप लगाएका भेटिएको थियो । कतिपय मतदाताले भने मतपत्र बाहिर छाप लगाएका भेटिएको उनले बताए । ‘बदर मतको प्रकृति हेर्दा कतिपयले मतदाता शिक्षाको कमी जस्तो देखिएको छ,’ उनले भने, ‘अधिकांशले भने जानेरै पनि लापरवाही गरेको जस्तो देखिन्छ । किनभने एउटै मतपत्रमा सबै चिन्हमासमेत छाप लगाएका थिए ।’

बदर मतमा प्रतिनिधिसभामा भन्दा पनि प्रदेशसभातर्फ धेरैमा छाप लगाएको भेटिएको गणक दुर्गा थापाले बताए । पाल्पामा २०७० को प्रतिनिधिसभा निर्वाचनमा ३ दशमलव २ प्रतिशत बदरमत थियो । त्यसपछि भएको २०७४ सालमा बढेर ५ प्रतिशत पुगेको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा पनि झण्डै स्थानीय तह अनुसार धेरै र कम मत बदर मत भेटिएको थियो ।

स्थानीय तह निर्वाचनमा १ दशमलव ०९ प्रतिशत मतपत्र पूर्ण रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तर पालिका र फरक फरक पद अनुसार भने धेरै मत बदर भएको थियो । १० स्थानीय तह निर्वाचनमा १ लाख ३७ हजार ६ सय ८५ मध्ये १ हजार ५ सय १ मत पूर्ण रुपमा बदर भएको थियो ।

निस्दीमा ३ दशमलव ६० प्रतिशत, रैनादेवीमा शून्य दशमलव ०४ प्रतिशत, तानसेन नगरपालिकामा १ दशमलव ०३, रामपुर नगरपालिकामा ० दशमलव ७४, तिनाउमा शून्य दशमलव ८३, पूर्वखोलामा १ दशमलव ४३, बगनासकालीमा शुन्य दशमलव ७४, माथागढी गाउापालिकामा १ दशमलव ५७, रम्भामा शून्य दशमलव ९०, रिब्दीकोटमा शुन्य दशमलव ८६ प्रतिशत मत पूर्ण रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कल्पना पौडेलले बताइन् ।

स्थानीय तह निर्वाचनमा सरकारी तवरबाट मतदाता शिक्षा दिइएको थिएन । यसपटकको निर्वाचनमा भने सबै पालिकाका सबै वडामा वडा सचिव र महिला स्वयंसेविकाले मतदाता शिक्षा प्रदान गरेका थिए । दलहरुलेसमेत आफ्नै ढंगले मतदाता शिक्षा दिएका हुन् । यसपटक गठबन्धन गरेर निर्वाचन लडेका थिए । निर्वाचन आयोगले बदरमत, सदर मतका विषयमा सञ्चार माध्यममार्फत् पनि जानकारी गराएको थियो ।

वृद्धवृद्धा, ग्रामीण भेगका कतिपय नागरिकलाई बदरमतका विषयमा जानकारी नै नभएको हुनसक्ने नागरिक समाजका अगुवा चित्रवलीराम सुवालले बताए । ‘मतदाता शिक्षा दिँदा बदर मत कमी आएको थिएन,’ उनले भने, ‘यसपटक अझ अप्ठेरो पनि थियो ।’ मतदातालाई मतदान गर्दा कसरी मत बदर नगर्ने भन्ने जानकारी पूर्ण र प्रभावकारी नदेखिएकाले पनि बदर मतको संख्या बढेको हुन सक्ने उनले बताए ।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभाका ४५ जना उम्मेदवारमध्ये नौ जनाले सय मत कटाउन सकेनन् । विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले सय मत कटाउन नसकेका हुन् । प्रतिनिधिसभातर्फका उम्मेदवार बनेका जनता समाजवादी पार्टीका मेहरमान राना, स्वतन्त्रका राजु सुनार, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, जीवलाल सुवेदी, शिवसुन्दर धुख्वा र केशरबहादुर आलेले सय मत पनि कटाउन सकेनन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभएका राष्ट्रिय जनमुक्ति पार्टीका भीमसेन सुनारीमगर र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले सय मत पनि नकटाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?