२० वर्षदेखि बेपत्ता फर्कने आसमा परिवार

‘सोधपुछ गर्नुछ’ भन्दै माओवादीले नियन्त्रणमा लिएका त्रिसन अझै घर फर्किएनन्
काशीराम डाँगी

रोल्पा — पश्चिम रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँ निवासी तत्कालीन हुलाक कार्यालयका कर्मचारी त्रिसन घर्तीमगरलाई घरैबाट तत्कालीन माओवादी कार्यकर्ताले कब्जामा लिई बेपत्ता बनाएको २० वर्ष पुग्यो । धेरैपटक हारगुहार गर्दा पनि परिवारले न न्याय पायो, न त त्रिसनको शव नै । घरमूली नै हराउँदा परिवारले चारैतिरबाट क्षति व्यहोर्नुपर्‍यो । 

२० वर्षदेखि बेपत्ता फर्कने आसमा परिवार

त्रिसनकी श्रीमती त्रिपनाले न्यायका लागि सबैतिर पहल गरिरहेको बताइन् । ‘बेपत्ता पार्नेबित्तिकै बचाउन पहल गर्‍यौं,’ उनले भनिन्, ‘अहिलेसम्म पनि कि आस देखाऊ कि त लास देखाऊ भन्दै आएका छौं, तर कसैले सुनेनन् ।’

त्रिसनलाई आफ्नो पार्टीको नीति र नियम नमानेको आरोपमा २०५९ कात्तिक १८ गते ७/८ जनाको समूहमा आएका माओवादी कार्यकर्ताले ‘सोधपुछ गर्नुछ’ भन्दै घरबाट नियन्त्रणमा लिएका त्रिपनाले सुनाइन् । उक्त समूहको नेतृत्व माओवादीमा लागेका गाउँकै एक अगुवाले गरेको उनको भनाइ छ । ‘तिहारको लक्ष्मीपूजाको दिन थियो । बाबुनानीले भाइटीका मनाउने तयारी गरेका बेला अघिल्लो राति ८ बजे नै उहाँलाई माओवादीले कब्जामा लिएका थिए,’ उनले भनिन् ।

हुलाक कार्यालयको सामान्य नोकरी गर्दै परिवार पाल्दै आएका त्रिसनमाथि पार्टीको नीति नमानेको गम्भीर आरोप लगाइए पनि खास कारण माओवादीबाटै विस्थापित भएका २ आफन्तलाई घरमा बास दिइएको कसुर थियो । माओवादीका कारण विस्थापित भएका त्रिसनका २ आफन्त साबिकको भावाङ गाविस अध्यक्ष अमरबहादुर बूढा र कोर्चाबाङका शिक्षक महेन्द्र पुन थिए । ज्यान मार्ने धम्की दिएपछि प्रहरीको सुरक्षा पाउने गरी महेन्द्र र फुपूका छोरा अमर आफ्नो घरमा आएर बसेका त्रिपनाले सुनाइन् ।

अमर केही समयपछि घर्तीगाउँबाट पनि विस्थापित भएर सदरमुकाम लिवाङ बस्न थालेका थिए । अन्नतः माओवादी कार्यकर्ताले उनलाई लिवाङमै गोली हानि हत्या गरेका थिए । महेन्द्र भने लामो समयसम्मै विस्थापित जीवन बिताइरहे । उनको पनि द्वन्द्वको पीडाकै बीच लिबाङमै मृत्यु भयो । त्रिसनलाई भने माओवादी कार्यकर्ताले कब्जा लिए र बेपत्ता बनाए ।

छोरा पशुपतिका अनुसार बुबालाई बेपत्ता बनाएपछि त्यसबेलाको सरकार, पत्रकार, मानवअधिकारकर्मी, संघसंस्था र दलका नेतासमेतलाई जानकारी दिइएको थियो । ‘चार महिनापछि बुबाले माओवादीको नीति नमानेको आरोपमा कारबाही गर्नुपरेको सुन्नमा आएको थियो । उहाँको अवस्थाबारे अहिलेसम्म आधिकारिक जानकारी पाएका छैनौं,’ पशुपतिले भने ।

त्रिसनसँगै कब्जामा लिइएका वीरबहादुर घर्तीमगरलाई भने ३ महिनापछि माओवादीले मुक्त गरे । यातना धेरै पाएका उनको पछि क्यान्सरका कारणले मृत्यु भयो । त्रिसन माओवादी कब्जामा परेको र कुनै जानकारी नपाएको २०५९ पुस १९ मा घरैमा आएका मानवअधिकारवादीको टोलीलाई त्रिपनाले जानकारी दिएकी थिइन् । श्रीमान्को हुलियासहितको उजुरी त्रिपनाले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पनि दर्ता गराएकी छन् ।

२०७३ वैशाख १६ मा दिइएको उक्त उजुरीमा उनले कब्जामा लिएपछि श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाएकामा सत्यतथ्य पत्ता लगाइदिन आग्रह गरेकी छन् । आयोगसमक्ष उनले त्रिसनका बारेमा माओवादीले २०६० असार ६ मा लेखी पठाएको ‘आरोपपत्र’ पनि सम्मिलित गरेकी छन् । पत्रमा त्रिसनका विरुद्ध ज्यान मुद्दा लगाइएको र माओवादीविरुद्ध सुराकी गरेको आरोपमा अनुसन्धान गरिएको उल्लेख छ ।

तत्कालीन इन्सेक जिल्ला प्रतिनिधि घनश्याम आचार्यको सम्झनामा त्यसबेला माओवादीले अनुसन्धान गर्ने नाममा धेरै निहत्था नागरिकलाई कब्जामा लिएको थियो । ‘आफ्नो नियम नमानेको, नीति उल्लंघन गरेको र सुराकी गरेको जस्ता आरोप लगाएर माओवादी कार्यकर्ताले जसलाई पनि नियन्त्रणमा लिन सक्थे,’ उनले सम्झिए, ‘राज्य सदरमुकाम र राजधानीमा केन्द्रित भएको त्यो अवस्थामा धेरै मानिसको ज्यान अनाहकमा गयो ।’ त्यस अवधिमा राज्य र माओवादीको दोहोरो चेपुवामा परेर थुप्रै मानिसको ज्यान गएको उनको भनाइ छ । त्रिसनका सम्बन्धमा पनि माओवादीले अमानवीय कार्य गरेको उनको निष्कर्ष छ ।

त्रिसनलाई बेपत्ता पारेपछि सबैभन्दा ठूलो पीडा उनका सन्तानमाथि पर्‍यो । ‘बुबालाई कब्जा गरेपछि डरैडरमा हामी हुर्कियौं,’ छोरा पशुपतिले भने, ‘पढ्न लेख्न पाएनौं । दुःखमा हुर्किनुपर्‍यो । न्याय पाउने कहिले हो, अझै ठेगान छैन ।’ माओवादी शान्ति प्रक्रियामा आएको १७ वर्ष पुगेको छ । यसबीच माओवादी थुप्रै पटक सरकारमा पुगिसकेको छ ।

द्वन्द्वपीडितलाई न्याय दिलाउने दुई आयोगहरू सत्य निरुपण तथा मेलमिलाप र बेपत्ताको खोजी आयोगले काम गर्न सकेका छैनन् । जिल्लामा द्वन्द्वका क्रममा करिब १ हजारले ज्यान गुमाएका थिए । श्रीमान् गुमाउने करिब ३ सय महिला अझै न्यायाको आसमा छन् ।

प्रकाशित : मंसिर १७, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?