कोहलपुरमा अनधिकृत होडिङ बोर्ड हटाइयो

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ । नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ बोर्ड तथा फल्यास बोर्डहरू हटाइएको हो ।

कोहलपुरमा अनधिकृत होडिङ बोर्ड हटाइयो

विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होडिङ बोर्ड र ६५२ वटा फ्ल्यास बोर्डहरू हटाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । 'अनधिकृत रुपमा होडिङ बोर्ड राख्नेलाई कारबाहीको दायरामा समेत ल्याएको छौं,’ कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले भने, 'अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना अशुल गरिएको छ । ’

होडिङ बोर्डहरू जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको थापाले बताए । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फ्ल्यास बोर्डहरू जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरिएको छ । यदी ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

यस्तै कोहलपुर नगरपालिकाभित्रका सडकपेटी खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडकपेटी कब्जा गर्ने, पसल तथा ठेलाहरू राख्ने गरेको पाइएपछि नगर प्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो । मानिसहरूलाई हिँडडुलमै समस्या पर्नेगरी सडक पेटीहरू कब्जा गरिएपछि नगर पालिकाले सात दिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो ।

सोही अनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत नगर प्रहरीले कब्जा गरिएका सडकपेटी पनि खाली गराउन थालेको हो ।

नगरपालिकाबाट खटिएका अमिनहरूले नगरक्षेत्रभित्रको सडकपेटीलाई मार्किङ गरिसकेका छन् । यसअघि नगरक्षेत्रभित्रको फुटपाथ कब्जा गरी बसेका ठेलाहरूलाई नगर प्रहरीले हटाइसकेको छ । फुटपाथ खाली गराउने अभियानलाई अटेरी गर्ने ५४ ठेला व्यवसायीलाई कारबाहीको दायरामा समेत ल्याउने काम भएको नगर प्रहरी प्रमुख थापाले बताए ।

सडकको मापदण्ड अनुसार राजमार्गको क्षेत्राधिकारभित्र थापेका करिब ६० वटा घुम्ती पसल, टहर तथा ठेला व्यवसायीहरूलाई हटाइएको हो ।

प्रकाशित : मंसिर ११, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?