२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाँकेमा अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभातर्फ ३ क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित
रुपा गहतराज

नेपालगन्ज — बाँकेमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ क्षेत्रमा अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् । 

बाँकेमा अधिकांश नयाँ अनुहार

प्रदेशसभाका ६ सिटमा जसपाका दुई, एमालेका दुई, कांग्रेस र नेकपा माओवादीका एक/एक जना उम्मेदवार निर्वाचित भएका छन् । माओवादी केन्द्रकी कृष्णा केसीबाहेक निर्वाचित सबै नयाँ अनुहार हुन् । क्षेत्र नं. ३ (१) बाट प्रदेश सभामा निर्वाचित कृष्णा लुम्बिनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनी बाँकेबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला हुन् ।

यसपटक बाँकेमा बहालवाला मन्त्री एवं माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई पराजित गर्दै एमाले नेता सूर्य ढकाल निर्वाचित भएका छन् । बाँके–१ मा ढकालले सत्ता गठबन्धनका उम्मेदवार गहतराजलाई ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरी प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

बाँके–२ मा निवर्तमान मन्त्री एवं जसपाका नेता मोहम्मद इस्तियाक राईलाई दोब्बर मतले पछि पार्दै नेपालगन्जका पूर्वप्रमुख धवलशमशेर राणा निर्वाचित भएका छन् । राणाले २९ हजार ५ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राईले २३ हजार ५ सय २० मत ल्याए । क्षेत्र नं ३ प्रतिनिधिसभामा कांग्रेसका महामन्त्रीसमेत रहेका किशोरसिंह राठौरले खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कक्षपतिलाई पराजित गरे ।

राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतिले २४ हजार २ सय ४७ मत पाएका थिए । कक्षपति नेकपा एमाले बाँकेका अध्यक्षसमेत हुन् । बाँके–१ (१) बाट माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार केसी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई १ हजार १ सय ३७ मतान्तरले पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनले ९ हजार १ सय ३ मत प्राप्त गरेकी छन् ।

बाँके–१ (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारूलाई ८ सय ७७ मत अन्तरले पराजित गरेका हुन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुर्गाले १५ हजार ६ सय ५७ प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार ७ सय ८० मत प्राप्त गरेका थिए । क्षेत्र नं. १ (२) मा ६५ हजार २ सय ५५ मतदाता रहेकामा ४१ हजार २ सय ४३ मत खसेको थियो । प्रदेससभा सदस्यमा विजयी चौधरी माओवादीका पूर्वडेपुटी कमान्डर हुन् ।

बाँके–२ (१) मा जसपाका भण्डारीलाल यादव निर्वाचित भएका छन् । उनी ११ हजार ५ सय ४ मत ल्याएर निर्वाचित भए । यस्तै बाँके–२ (२) मा जसपाकै आदेशकुमार अग्रवाल जित हासिल गरेका छन् । प्रदेशसभामा पहिलोपटक निर्वाचित भएका अग्रवालले माओवादी केन्द्र त्यागेर निर्वाचनकै समयमा जसपा प्रवेश गरेका थिए । उनले पूर्व वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका सुरेन्द्र हमाललाई पराजित गरेका हुन् । कांग्रेसले २०७४ सालको निर्वाचनमा बाँकेका अन्य क्षेत्रमा हार बेहोर्दा हमालले मात्रै जित हासिल गरेका थिए ।

बाँके–३ (२) मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । कुर्मीले एमालेका भीम वलीलाई पराजित गरेका हुन् । २०४८ र २०५६ सालमा कांग्रेसको किल्ला बनेको बाँके–३ मा कुर्मीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन लडे पनि जित भने हासिल गर्न सकेका थिएनन् । संघीय संसदको उम्मेदवार बने पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवारले उनलाई झिनो मतान्तरले पराजित गरेका थिए । कुर्मी २०६४ र २०७० सालमा समानुपातिक सभासद भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?