बर्दिया-१ (२) मा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित

बर्दिया — बर्दिया क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् । उनले एमालेका भक्तबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । चौधरीले १३ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी विश्वकर्माले १२ हजार १ सय ८३ मत पाएका छन् । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी अन्जु दहितले ११ हजार ४ सय ९० मत पाएकी छिन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपमेयर हुन् ।
बर्दियामा २ प्रतिनिधिसभा र ४ प्रदेशसभाकै मत परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा-१ मा कांग्रेसका संजयकुमार गौतम, क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नम्बर १(१) का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १(२)मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नम्बर २(१)मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नम्बर २ (२)मा विजयी बनेका छन् ।
प्रकाशित : मंसिर ९, २०७९ ००:३९