नि:सन्तानलाई सामाजिक अवगालको पीर- लुम्बिनी - कान्तिपुर समाचार

नि:सन्तानलाई सामाजिक अवगालको पीर

विवाहको लामो समयसम्म सन्तान नहुँदाको फिक्रीमा रहेका दम्पतीलाई समाजमा उल्टै हेलाहोचो
सन्जु पौडेल

लुम्बिनी — प्रेमविवाहको निर्णय उनीहरूका लागि आफैंमा साहसिक निर्णय थियो । लुकीछिपी गरेको प्रेमलाई विवाह बन्धनमा बाँधेर रूपन्देहीको तिलोत्तमा–१७ का दम्पती सुरुका केही वर्ष निकै खुसी थिए । तर, जति वर्ष बिते, उति नै अर्को चिन्ता बढ्यो, सन्तान नहुनुको । जोडी बाँधेको ११ वर्ष बित्यो । दु:खको केन्द्र छ नि:सन्तानपना ।

सन्तानको आसमा उनीहरूले बेहोरेका हैरानीको लामो कथा छ । खान, लाउनको संघर्ष त गरेकै थिए । स्याङ्जा घर भएका उनीहरू विवाहपछि रोजगारीका क्रममा जोडी नै डेढ वर्ष भारत बसेर फर्के । त्यसपछि श्रीमान् रोजगारीका क्रममा कोरिया गए । तर त्यही बेला श्रीमतीको मनोरोग झनै बल्झियो । नि:सन्तान हुनुको पीर त थियो नै, छोराछोरी छैनन् भनेर चिने–जानेकाले गर्ने प्रश्न, आफन्तले राख्ने चासोले उनलाई बारबार आहत तुल्याउँथ्यो । पत्नीको बिग्रँदो स्वास्थ्यकै कारण युवकले उनलाई माइती नजिकै डेरा खोजेर राखिदिएका थिए । तर पनि समस्या सुल्झिएन । उनले भने, ‘श्रीमतीको स्वास्थ्य बिग्रिँदै गए पनि भन्नेबित्तिकै न आउन सकें, न त सम्झाउन नै ।’ चारवर्षे रोजगारी सकेर स्वदेश फर्केपछि उपचारका क्रममा उनले थाहा पाए, पत्नीलाई मानसिक रोगको समस्या गहिरिइसकेको रहेछ ।

शंकापूर्ण सामाजिक व्यवहार, पेचिला पारिवारिक प्रश्न र विभेदका कारण उनमा मानसिक समस्या बढेको देखिन्छ । पछिल्ला दुई वर्षयता उनी चिकित्सकको सल्लाहमा औषधि सेवन गर्दै छिन् । युवकले बह पोखे, ‘धेरै औषधि गरियो, सबका कुरा सुनेर जे–जे गर्नुपर्छ गरियो तर केही पार लागेन ।’ हिजोआज उनलाई एउटा मात्र सन्तान भइदिए श्रीमती निको हुन्थिन् भन्ने लाग्छ । ‘जसले देखे पनि अब बेला भएन र ? किन बच्चा नजन्माएको भन्ने प्रश्नको ओइरो लगाउँछन्,’ उनले भने, ‘श्रीमती कसैका बच्चा देखेर भक्कानिन्छे, उसले नदेखोस् भनी म एक्लै कोठामा रुन्छु ।’

कुनै पनि जोडीका लागि सन्तान रहर हो । कुनै शारीरिक समस्याका कारण हुन सकेन भने चिकित्सकीय परामर्शमा पुगेकै हुन्छन् । नि:सन्तान हुनु रहर होइन । तर विवाहको केही वर्ष बितेपछि पनि सन्तानको रहर नगर्ने वा नभएका दम्पतीलाई समाजले तिखो कटाक्ष मात्र गर्दैन, अवगालयुक्त व्यवहार पनि गर्छ । आफन्तले नै प्रश्न गर्छन् । माथि उल्लिखित जोडी समाजमा भएका धेरै नि:सन्तानमध्येका प्रतिनिधि पात्र हुन् । सामाजिक, पारिवारिक प्रश्न र आक्षेपले दम्पतीको आत्मसम्मानमाथि चोट पुग्छ । सन्तानको आसमा वर्षौं भौंतारिएका दम्पतीहरू सामाजिक व्यवहारका कारण मानसिक समस्या भोगिरहेका छन् । तिलोत्तमा–६ का एक दम्पतीले सन्तानको आसमा खर्चेको २२ वर्ष जीवनभरिलाई पुग्ने गरी थकानको विषय बनेको बताए ।

१५ लाख रुपैयाँ खर्च गरेर धेरै अस्पताल, धामीझाँक्री, आयुर्वेदिक औषधालय धाउँदा पनि बच्चा नभएकाले हार मानेको उनीहरूले बताए । ‘हामीले जसले जे भन्यो, ती सबै उपाय अपनायौं,’ उनीहरूले भने, ‘केही उपाय लागेन, मानसिक रोगी बन्यौं, औषधि चलिरहेको छ ।’ सामाजिक अवगाल र मानसिक अशान्तिबाट बच्न सकिन्छ कि भनेर यो दम्पती अहिले एक धार्मिक समूहको संगतमा पुगेको छ । ‘चाहेर मात्र नहुने रहेछ,’ उनीहरूले भने, ‘रुँदा–रुँदा आँखा थाके, सुन्दा–सुन्दा कान टट्याए । तर, हामीले सन्तानको खुसी पाउन सकेनौं ।’

घरका अन्य सदस्यका सन्तान खेलाउनसमेत बच्चा नभएकी भनेर नदिने कारणले धेरै पटक एकान्तमा रोएको, मर्ने प्रयास गरेको र श्रीमान्/श्रीमतीबीच मनमुटाव पनि भएको पत्नीले बताइन् । अनेकौं चोट सहँदा पनि जोडीमा एकअर्काप्रतिको विश्वासकै कारण आफूहरू जिउन सकेका उनीहरूले बताए । उनले भनिन्, ‘अहिले एकअर्काको सहारा बनेर दिन बिताइरहेका छौं ।’

यी दम्पतीहरूको भन्दा भिन्नै भोगाइ छ रूपन्देहीको दक्षिण मधेस क्षेत्रका नि:सन्तानको समस्या । कोटहीमाई गाउँपालिका–३ मा एकै घरमा तीन नि:सन्तान दम्पती छन् । उमेरले ४० नाघेका उनीहरूले सन्तानको आसमा चिकित्सकले भनेअनुसारको औषधि सेवन गरिरहेको बताए । चार दाजुभाइमध्ये जेठोका मात्रै सन्तान भएको र अन्य तीन भाइको सन्तान नभएपछि उनीहरू सबैले अनेकन सामाजिक अवगाल बेहोरिरहेका छन् ।

तीनमध्ये माइला जोडीले औषधि उपचारमा ५ लाख बढी खर्च गरेको सुनाए । बुटवलबाहेकको अस्पताल नगएका उनीहरूले अन्यत्र जाने पैसा नभएकाले वर्षौंदेखि एउटै अस्पतालमा एउटै चिकित्सकलाई देखाइरहेको बताए । वर्षौंदेखि सन्तानको आसमा अस्पताल धाउँदा–धाउँदै श्रीमतीलाई मानसिक समस्याजस्तो लक्षण देखिएको छ । माइलाले भने, ‘मानसिक समस्या जस्तो छ, न माइती आफन्त, न त सडक किनारा, बच्चाको कुरा हुने र बच्चा देखिने ठाउँमै कम बस्छे ।’ घरछेउ सानो किराना पसलबाट जोगाएको सबै कमाइ उनले औषधोपचारमा खर्चेर सकेको बताए । पछिल्ला केही समययता भने आफू वर्षको तीन महिना भारतमा काम गर्न जाने र कमाएको पैसा उपचारमा खर्च गर्ने गरेको उनले सुनाए ।

उनका ४५ वर्षीय साइँलाको पनि कथा उनको भन्दा फरक छैन । नि:सन्तान दम्पतीका रूपमा उनीहरूले भोगेको सास्ती, उपचारमा क्रममा भएको ठूलो खर्च दुवैले उनीहरूलाई मानसिक रूपमा कमजोर बनाएको छ । ‘औषधिले नै फाइदा गर्छ भन्दै वर्षौंसम्म त्यसैमा भर परें,’ उनले भने, ‘केही भएन, पैसा सकियो, अनि म विदेश पसें ।’ १२ वर्ष साउदी अरब बसेर फर्किएका उनले सन्तानका लागि पैसा कमाउन गएको बताए । बीचमा आउने, जाँच गराउने, प्रयास गर्ने गरे पनि सन्तान नभएको उनले सुनाए । उनकी पत्नीलाई सधैं सन्तान नभएको पिरलोले छोपेको छ । स्थानीय महिलालाई सिलाइकटाइको तालिम दिने उनले आफूलाई यही पीरले काममा मन नलाग्ने सुनाइन् । बाटोमा स–साना केटाकेटी देखे पनि आफूलाई भक्कानो छुट्ने गरेको उनले बताइन् । समाजले गर्ने प्रश्न र हेलाहोचोको व्यवहारले आजित भएको बताउँदै उनले भनिन्, ‘बाँझी आई भन्छन्, म कसैसँग बोल्न सक्दिनँ । यस्तो सुन्न बानी परे पनि प्रत्येकपल्ट मन रुन्छ । पीडा त हुन्छ नि †’

माइला र साइँलाजस्तै कान्छाका दम्पती पनि नि:सन्तान हुनुको पीडा भोग्दै छन् । उनीहरूले पनि सामाजिक प्रश्न र अवगाल सहेर बाँचिरहेको सुनाए । ‘बालबच्चा देख्दा दुवै जना रुन्छौं,’ उनले भने, ‘आफ्नो काख रित्तै भएको व्यथा कसले देख्छ ?’ यी तीन दाजुभाइको छिमेकमै छन्, उस्तै कथाव्यथा भएका अर्का एक जोडी । विवाहको १० वर्ष भयो, सन्तन छैन । श्रीमतीले हिजोआज उनलाई ‘अर्को बिहे गर्नुस्’ भन्न थालेकी छन् । ठेलामा फलफूल बेचेर गुजारा गर्ने युवकले वर्षांैदेखि दु:ख गरेर कमाएको पैसा उपचारमा खर्चेर सक्दा पनि उपलब्धि नभएको दुखेसो गरे । ‘केही पैसा जम्मा हुन्छ र श्रीमतीले औषधि गर्न खोज्छे,’ उनले भने, ‘मैले जग्गा जोडेर घर बनाम्ला भनेको सक्ने भइनँ ।’ नि:सन्तान हुनुको पीडा आफूले भन्दा श्रीमतीले धेरै भोगिरहेको उनले बताए । उनले भने, ‘नि:सन्तान जोडीलाई समाजले घोचपेच गरेरै बिरामी पार्ने रहेछ ।’

नि:सन्तान दम्पतीमा बढी घोचपेच महिलालाई गरिन्छ । तर कारण महिलाकै मात्र शारीरिक समस्या नभई पुरुषको पनि कमजोरी कारण हुने गरेको छ । सन्तान नहुनुका धेरै कारणहरू हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विष्णु गौतम बताउँछन् । नि:सन्तानलाई भाग्य वा पाप अथवा धर्मसँग जोडेर हेर्ने गरे पनि डा. गौतम डिम्बाशय, पाठेघर तथा नलीमा हुने समस्याले बच्चा नरहने समस्या हुने प्रस्ट पार्छन् । उनका अनुसार पाठेघर, नली र डिम्बाशयमा हुने ट्युमर, क्यान्सर, नलीमा पिप जम्ने, थाइरोइड, डिम्बाशयमा रगत जम्नेजस्ता लक्षणले बच्चा नजन्मने समस्या आउन सक्ने उनले बताए । क्षयरोग र महिनावारी जन्मजात नै गडबडी भएमा समेत बच्चा जन्माउन सक्ने क्षमता नरहने पनि कारण हुने उनको भनाइ छ । ‘सन्तान जन्माउने क्षमता नहुनुका पछाडि महिला मात्रै जिम्मेवार नभएर पुरुष पनि जिम्मेवार हुन्छन्, यसका अनेकन स्वास्थ्यजन्य कारणहरू जिम्मेवार हुन्छ,’ उनले भने ।

पुरुषमा हुने अण्डाशयको समस्या, शुक्रकिट बन्ने प्रक्रियामा हुने समस्या, गानोरिया, भिरिंगीजस्ता रोगका कारण पनि बच्चा नबस्ने समस्या आउन सक्ने डा. गौतमले बताए । रूपन्देहीलगायत नेपालका हरेक जिल्लाका दम्पतीले ‘ए लेभल’ को उपचार गरे पनि निरन्तर खर्च गर्ने बजेट प्रविधिअनुसार बढ्दै जाने तर आफूहरूको आर्थिक स्थिति बलियो नहुने भएकाले एक/दुई पटकमै जाँच गराउन छोड्ने गरेको उनको भनाइ छ । ‘जाँच राम्रो नभई समस्या पत्ता लाग्दैन,’ उनले भने ।


प्रकाशित : मंसिर ५, २०७९ ००:२४
प्रतिक्रिया
पठाउनुहोस्

उद्घाटन खेलमा आयोजक कतारको हार

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारमा आजबाट सुरु भएको विश्वकप उद्घाटन खेलमा आयोजक कतारले हार बेहोरेको छ ।

अल बायात रंगशालामा सुरु भएको इक्वेडरसँगको खेलमा कतार २–० ले पराजित भएको हो । इक्वेडरका लागि दुवै गोल एनर भ्यालेन्सियाले गरेका हुन् ।

प्रकाशित : मंसिर ५, २०७९ ००:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×