नदीको घेराबन्दीमा दैनिकी !- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीको घेराबन्दीमा दैनिकी !

‘डुबानमा जनता कसरी बाँचे होलान् ? के खाए होलान् ? कुनै नेता, मन्त्री र सांसद हेर्न आएनन् । अहिले भोट माग्न आएका छन्, हात जोड्छन्, गिड्गिडाउँछन् । कसैले त खुट्टा समातेर एकपटक मौका दिनोस् भन्दै भिखारीले झैं माग्छन् ।’
जे पाण्डे

चौफेरी, बाँके — राप्ती नदी उर्लंदै गाउँतर्फ सोझिएपछि ज्यान जोगाउन काखमै निदाएकी सानी छोरीलाई च्यापेर अनिता केवट हतारहतार फुसको घरको छानामा चढिन् । बाढीले घर भत्काउन थाल्यो । दुवैको ज्यान संकटमा पर्‍यो । ‘घाँटीघाँटी पानीमा हाम्फालें । अनि नजिकै अर्को घरको छतमा गएर बस्यौं,’ अनिताले भनिन्, ‘त्यही घरमा भोकभोकै ४ दिन बित्यो ।’

खाने अनाज र ओभानो ठाउँ बचेन । चारैतिर बाढीले घेरेको थियो । जीउ निथ्रुक्क भिजेको थियो । उनको सामुन्ने बस्ती डुब्यो । त्यसबेला चौफेरीका बासिन्दाले ज्यानको माया मारिसकेका थिए । स्थानीयलाई घरबास छाडेर जाने ठाउँ थिएन । त्यतिबेलै आसन्न निर्वाचनका लागि जिल्लाका उम्मेदवारहरू आफ्नो मनोनयन दर्ता गर्दै थिए ।

यो वर्षको मनसुन सकिनै लाग्दा भएको लगातारको वर्षा र बाढीले गत असोज २१–२३ सम्म चौफेरी डुब्यो । ‘ज्यान बचाउन रुखमा चढेर बसें । तिर्खा लाग्दा खाने पानी पाइनँ । नल्की बाढीले डुबाएको थियो । हिलो पानी खाएर पनि प्राण धान्यौं,’ नक्के चाइले भने, ‘त्यो डुबानमा जनता कसरी बाँचे होलान् ? के खाए होलान् ? कुनै नेता, मन्त्री र सांसद हेर्न आएनन् । अहिले भोट माग्न आएका छन्, हात जोड्छन्, गिड्गिडाउँछन् । कसैले त खुट्टा समातेर एकपटक मौका दिनोस् भन्दै भिखारीले झैं माग्छन् ।’

डुडुवा गाउँपालिकाको कृषि चौफेरी र रामनगर पाझामा करिब ५ सय परिवारको बसोबास छ । निम्नवर्गीय परिवारसँग अहिले भोट माग्नेहरूको लस्कर बिहानदेखि साँझसम्मै लाग्दै आएको छ । २०५५ देखि हरेक वर्षायाममा बस्ती जलमग्न हुँदै आएको छ । बर्सेनि खेत बालुवाले पुरिन्छ । बिजुली, खानेपानी र बाटोघाटो छैन । स्कुल नहुँदा अधिकांश बालबालिका शिक्षाबाटै वञ्चित छन् । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्था छैन । हिउँदमा जसोतसो खेतखेतै र बगरैबगर हिँड्छन् । बर्खा लागेपछि उनीहरू सबैतिरबाट सम्पर्कविहीन हुन्छन् ।

‘मरे बाँचेको खबरसमेत पठाउने उपाय हुँदैन,’ आज्ञाराम गोडियाले भने, ‘नदीले बस्ती डुब्दा मोबाइल फोनमा चार्ज गर्ने ठाउँ हुँदैन । कसरी खबर पठाउनू ?’ पछिल्ला २५ वर्षमा चौफेरी र रामनगर बाढीले ५५ पटकभन्दा बढी डुबिसक्यो । धेरै मानिसले बग्दाबग्दै ज्यान जोगाए पनि ।

‘कतिपटक बगायो, बगायो । पुस्तौंदेखिको समस्या यही छ,’ आज्ञारामले भने, ‘जतिपटक बगाए पनि अहिलेसम्म कुनै नेता, मन्त्री र सांसदले हाम्रा समस्या देखेका छैनन् । बाढी सुकेपछि आएर पानीमा गोहीले आँसु झारेजस्तो गर्छन्, फर्किन्छन् ।’ २०७१ सालमा आएको बाढीमा आज्ञारामले रुखमा बसेर ज्यान जोगाएका थिए । रुखबाट झर्दा छाप्रो र भएको अनाज बगिसकेको थियो । ‘त्यतिबेला ३ दिनपछि मात्रै मुखमा अन्न परेको थियो,’ उनले सम्झिए ।

यहाँका बासिन्दा राज्यबाट उपेक्षित छन् । ‘म सानै थिएँ । त्यतिबेलैदेखि डुब्न थालेको हो । २०७१ सालको बाढीमा त हेलिकप्टरले आकाशबाट चाउचाउ र चिउरा झारेको थियो । त्यो पनि पानीमा डुब्यो,’ दीपराज लोनियाले विपद्का दिनहरू सम्झिँदै भने, ‘कतिले त बगाउँदै गरेका चाउचाउका पोका छोपेर खाए । अहिले त त्यो पनि पाइएन ।’

नेताहरूले धेरै वर्षदेखि यसैगरी ‘उल्लु’ बनाएर भोट माग्न आउने गरेको डुडुवा–२ रामनगर पाझाका सुन्दरलाल लोनियाले सुनाए । ‘पीडा खेप्नै जन्म लिएजस्तो लाग्छ,’ उनले भने । यस्तै गुनासो सुनाउँछन्, कृषि चौफेरीका भिखाइ पासी । ‘चुनावमा भोट माग्न आउँछन् । बाढी आउँदा कोही आउँदैनन्,’ उनले भने, ‘त्यति बेला मानिससँगै गाईवस्तु चिच्याउने कराउने गर्छन् । सुनिदिने कोही हुँदैन ।’

बाँकेको होलियानजिक भारतले निर्माण गरेको तटबन्धका कारण डुबान समस्या निम्तिएको स्थानीय बताउँछन् । विश्व बाँध आयोगको प्रतिवेदनअनुसार लक्ष्मणपुर तटबन्ध अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । तर, राजनीतिक दल र नेतृत्व प्रतिबद्ध नहुँदा डुबान प्रभावित क्षेत्रमा सबैले आ–आफ्नो स्वार्थको खेती गर्न पाएका छन् । कलकलवा तटबन्धका कारण बेतहनी, होलिया, मटेहिया, फत्तेपुर र गंगापुरका बासिन्दाले २९ वर्षदेखि डुबानको समस्या झेल्दै आएका छन् ।

भारतको जल संशाधन नदी विकास एवं गंगा संरक्षण विभाग र नेपालको जलस्रोत तथा सिँचाइ विभागबीच गत असारमा राप्तीमा तटबन्ध निर्माणसम्बन्धी सम्झौता भएको थियो । जसमा भारतले प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने र १ अर्ब रुपैयाँ नेपालले व्यहोर्ने सहमति भएको थियो । तर, सम्झौता गरेको ४ महिना भइसक्दा डुबान अवस्थाको अन्तिम सर्वेक्षण नहुँदा तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ । यसलाई उम्मेदवारहरूले चुनावी मुद्दा बनाएका छन् । खासगरी डुबान प्रभावित क्षेत्रका उम्मेदवारले तटबन्ध निर्माणलाई प्रमुख मुद्दा बनाएका छन् ।

नदीको दुवैतिर ३५ किलोमिटर पक्की र ६ किलोमिटर माटोको तटबन्ध निर्माण गर्ने सहमति भएको थियो । त्यसअघि भारतले कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधबाट सिर्जित डुबान समस्याको अध्ययन गरेको थियो । तर, अन्तिम सर्भेक्षण अहिलेसम्म भएको छैन । कात्तिक दोस्रो सातासम्ममा टेन्डर आह्वान गर्ने सहमति भएको थियो । तर, राजनीतिक स्तरबाट पहल नहुँदा ढिलाइ भएको छ ।

प्रकाशित : मंसिर ३, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

बाँके- २ की उम्मेदवार शर्मा कारागारमा

जे पाण्डे

बाँके — बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्मा सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ परेकी छन् । उम्मेदवारी दर्ता गराएको केही बेरमै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्माको चुनाव चिह्न भने 'घर' तय भएको हो । शर्मालाई छोरीको जन्मदर्ताका कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

यससँगै बाँके कारागारमा महिला राख्ने स्थान अभाव भएको भन्दै शर्मालाई बर्दिया कारागार चलान गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत नुमानन्द अधिकारीले भने दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उनका बाबुआमाको घर छ । शर्माले छोरीको जन्मदर्तामा आफैंले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेको प्रहरीले जनाएको छ । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बरद माग गर्दै तुलसिपुर उच्च अदालत नेपालगन्ज इजसालमा रिट दायर गरेकी छन् । थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दा सुनुवाइ हुन भने बाँकी छ ।

प्रकाशित : कार्तिक २०, २०७९ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×