मोतिपुरका कोही पनि घरबारविहीन बन्नु पर्दैन : गृहमन्त्री खाँण

भैरहवा — गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गरेका परिवार घरबारविहीन हुनु नपर्ने बताएका छन् । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई घरविहीन हुन नदिने बताएका हुन् ।

मोतिपुरका कोही पनि घरबारविहीन बन्नु पर्दैन : गृहमन्त्री खाँण

‘मोतिपुरमा बसोबास भएका व्यक्तिको घर त के, आँगनमा रहेको बोटसमेत उखेल्न दिइने छैन,’ उनले भने, ‘ढुक्क भएर सुत्नुस्, गठबन्धन तपाईंको साथमा छ । म तपाईंको साथमा छु ।’ औद्योगिक क्षेत्र निर्माणका क्रममा जनतालाई पुग्ने पीडामा मल्हम नलगाए नेता खरानी हुने समेत उनले चेतावनी दिएका थिए ।

‘साढे दुई महिनाअघि बुटवल उपमहानगर पालिकामा मैले आह्वान गरेर सरोकारवालाबीच औद्योगिक क्षेत्रको पुन: नक्सांकन गरेर क्षेत्रफल घटाउने औपचारिक निर्णय गरिसकेका छौं,’ उनले भने, ‘मोतिपुरबाट नागरिक नहटाउने निर्णय भएको छ ।’

जनतालाई प्रताडित गरेर हुने विकासप्रति आफ्नो समर्थन नरहने पनि उनको भनाइ थियो। ‘३० वर्षअघि सांसद हुँदा म युवा थिएँ, त्यो बेला भएको भए आक्रोशमा निर्णय गर्थेँ होला । अहिले नागरिकका पीडाले मलाई गम्भीर तुल्याउँछन् । म नागरिकलाई मर्का पर्ने निर्णय गर्न सक्दिनँ ।’ औद्योगिक क्षेत्र निर्माणमा तत्कालीन सरकारले हतार गरेकाले समस्या निम्तिएको पनि उनको भनाइ थियो ।

यसैबीच उनले देश र समाज गोलीले नभइ बोली र संवादले चल्ने भएकाले जनताका धारणा स्पष्ट राख्न र संवाद गर्नसक्ने नेतालाई जिताउनुपर्ने बताएका थिए।

यस्तै उनले आफ्ना प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहोराप्रति व्यंग गर्दै देशभरमा ६ स्थानमा मात्रै उम्मेदवार बनाएको पार्टीलाई जिताएर सरकारमा पठाउने र जनताका काम हुने अपेक्षा राख्न नसकिने बताए ।

‘जम्मा ६ ठाउँमा उम्मेदवार छन् । त्यस्ता दलका नेताले जितेर देशमा के गर्लान् ? जनताका लागि के गर्लान् ?’ खाणले प्रश्न गरेका थिए । यस क्रममा उनले रुपन्देहीमा सुरु भएका धेरै विकास आयोजना अलपत्र परेकाले अब चुनाव जितेपछि त्यसलाई पूरा गर्नुपर्ने बताए ।

खाँणले मोतिपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर, सिद्धबाबा सुरुङ मार्गदेखि कृषि बजार स्थापना लगायतका काम आफ्नो अगुवाइमा पूरा गर्ने बताएका थिए । ‘अबको ५ वर्ष नागरिकको अवस्था फेरिने गरी काम गर्नेछु । भनेजस्तो काम नभए अब फेरि मत माग्दै आउने छैन,’ खाँणले भने ।

प्रकाशित : कार्तिक २९, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?