१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गृहमन्त्री निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग नगर्नुस् : पूर्वगृहमन्त्री थापा

अमृता अनमोल

बुटवल­ — पूर्वगृहमन्त्री निरञ्जन थापाले निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका छन् ।

गृहमन्त्री निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग नगर्नुस् : पूर्वगृहमन्त्री थापा

गृहमन्त्री बालकृष्ण खाँणले गोप्य अनुसन्धान भन्दै निर्वाचन पूर्वका सर्वेक्षण सार्वजनिक गर्ने र सुरक्षाका लागि भन्दै प्रहरी प्रशासनको अनावश्यक प्रयोग गर्ने गरेको बताउँदै उनले सरकारमा हुँदैमा निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग गर्न नहुने बताए । ‘निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग धेरै भएको छ । यो सह्य छैन,’ उनले भने ।

रुपन्देहीमा सोमबार आयोजित एक कार्यक्रममा राप्रपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले निर्वाचन आचारसंहिता सरकारमा बस्ने र नबस्ने दुवै उम्मेदवारले पालना गर्नुपर्ने बताए । ‘निर्वाचन क्षेत्रमा उहाँ गृहमन्त्रीको हैसियतमा होइन कांग्रेस उम्मेदवारको हैसियतमा मात्रै हुनुपर्छ । आफ्ना योजना र चुनावी एजेन्डाबीच प्रतिस्पर्धा गर्नुपर्छ,’ पूर्वगृहमन्त्री थापाले भने, ‘सत्तामा हुँदैमा सीमा नाघ्न पाइँदैन ।’

शनिबार रुपन्देहीमा आयोजित एक चुनावी कार्यक्रममा गृहमन्त्री खाँणले आगामी निर्वाचनमा कांग्रेस सहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १ सय ३१ सिट जित्ने सुनिश्चित भइसकेको बताएका थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता पक्षीय गठबन्दनबाट खाँण र एमाले सहितको गठबन्दनबाट राप्रपा नेता दीपक बोहोराबीच प्रतिस्पर्धा छ । थापा बोहोराको पक्षबाट निर्वाचन परिचालनमा खटिएका छन् ।

प्रकाशित : कार्तिक २८, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?