३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

किशोरकिशोरीको मृत्यु पासोमा परेर भएको प्रहरी निष्कर्ष‚ ४ जना पक्राउ

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँस्थित जंगलमा गाडिएको अवस्थामा फेला परेका किशोरकिशोरीको मृत्यु जंगली जनावरलाई थापेको पासोमा परेर भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

किशोरकिशोरीको मृत्यु पासोमा परेर भएको प्रहरी निष्कर्ष‚ ४ जना पक्राउ

असोज २७ गते राति जंगली जनावरका लागि थापिएको विद्युतीय पासोमा परेर तुलसीपुर- १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र दंगिशरण गाउँपालिका ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । प्रत्यक्ष ७० र अप्रत्यक्ष ४ सय ७८ जनालाई निगरानी राखी अनुसन्धान गरिएको र अन्तमा घटनाको तथ्य फेला परेको उनले बताए ।

असोज २८ गते बिहान पासोमा परेर मृत्यु भएको देखेपछि पासो थाप्ने स्थानीय चार जना व्यक्तिले किशोरकिशोरीलाई जंगलमा खाल्डो खनेर गाडेको एसपी वलीले बताए । किशोरकिशोरीलाई गाडेको अभियोगमा तुलसीपुर १३ का ३९ वर्षीय हरिशचन्द्र पौडेल, ४७ वर्षीय अमरराज कार्की, ३८ वर्षीय नुमानन्द कार्की र ३१ वर्षीय खिमबहादुर बुढा पक्राउ परेका छन् ।

पौडेलको कुखुराको खोरबाट बिजुलीको लाइन तानेर जंगली जनावर मार्न जनकल्याण सामुदायिक वनमा विद्युतीय पासो थापिएको र त्यसमा किशोरकिशोरीको मृत्यु भएको देखेपछि घटना ढाकछोप गर्न उनीहरूले जंगलमा खाल्डो खनेर गाडेको एसपी वलीले बताए ।

पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले आइतबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक २०, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?