बाँके- २ की उम्मेदवार शर्मा कारागारमा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँके- २ की उम्मेदवार शर्मा कारागारमा

जे पाण्डे

बाँके — बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्मा सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ परेकी छन् । उम्मेदवारी दर्ता गराएको केही बेरमै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी शर्माको चुनाव चिह्न भने 'घर' तय भएको हो । शर्मालाई छोरीको जन्मदर्ताका कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

यससँगै बाँके कारागारमा महिला राख्ने स्थान अभाव भएको भन्दै शर्मालाई बर्दिया कारागार चलान गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत नुमानन्द अधिकारीले भने दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।

शर्माको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उनका बाबुआमाको घर छ । शर्माले छोरीको जन्मदर्तामा आफैंले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेको प्रहरीले जनाएको छ । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बरद माग गर्दै तुलसिपुर उच्च अदालत नेपालगन्ज इजसालमा रिट दायर गरेकी छन् । थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दा सुनुवाइ हुन भने बाँकी छ ।

प्रकाशित : कार्तिक २०, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

एक दर्जन गाउँ बाढीको जोखिममा

जे पाण्डे

नेपालगन्ज — तटबन्ध भत्काएर राप्तीको बाढी बस्तीतर्फ सोझिएपछि बाँकेको देउपुराका बासिन्दाको भोक–निद्रा हराएको छ । ‘५ दिन भयो, सुतेको छैन । कुन बेला घरखेत बगाउने हो भन्ने चिन्ता छ,’ तटीय क्षेत्रमा दिनरात गस्ती र निगरानीमा खटिँदै आएका फारुक अलि शेषले भने, ‘दिनदिनै तटबन्ध भत्काउँदै छ । राति निद्रा पर्दैन । नदी बस्तीतिर पस्ने खतरा बढेको छ । बगाउने डरले कोही सुत्न सकेका छैनन् ।’

यस्तै अवस्थमा छन् रामरूप सिंह यादव पनि । बाढीले तटबन्धमाथिको बाटोसमेत भत्काइ सकेको छ । ‘सबैतिर हारगुहार गरेका छौं । कसैले सुन्दैनन् । घरमा सुत्दा बगाउने त्रास छ । दिनरात नदीमा पहरा लगाउने गरेका छौं,’ नरैनापुर–७ का यादवले भने, ‘हाम्रो जिन्दगी भगवान् भरोसामा छ ।’

जोखिम बढेपछि हरेक बस्ती र घरबाट निस्केर बाढी र कटानको अवस्था हेर्न आउनेको नदी तटमा लामो लस्कर लाग्ने गर्छ । ‘बगाउन थालेको तटबन्धमा मानिसको भीड कुनै मेला वा जुलुसको जस्तै देखिन्छ,’ गेंदुवाका राजेन्द्रकुमार दुवेले भने, ‘यो खेती हाम्रो जीवन हो । यो पनि बग्यो भने जीवन नै नष्ट हुन्छ । पूरै गाउँ बगेर जान्छ ।’ उर्लंदो बाढीको पूर्वसूचना दिएर संकटबाट ज्यान जोगाउन तटीय क्षेत्रमा स्थानीयले निरन्तर गस्ती गर्दै आएका छन् ।

‘स्थानीय सरकार मूकदर्शक बनेको छ’ जोखिमयुक्त बस्ती देउपुराका दुर्गालाल पाण्डेयले भने, ‘बेलैमा केन्द्रीय सरकारले नदी नियन्त्रण गरेन भने हाम्रो त अकालमै ज्यान जाने भयो ।’

नदीले देउपुरानजिकै तटबन्ध कटान तीव्र पारेको छ । दिनदिनै तटबन्ध भत्किंदै छ । भइरहेको कटनाका कारण देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेँदुवा, गंगापुर, सोनवर्सा, खुदरवेटवा, कुँडुवालगायतका बस्ती उच्च जोखिमा छन् । २०७१ सालमा आएको बाढीले पनि सोही क्षेत्र कटानसँगै डुबानमा परेको थियो । नदीको बाढी नियन्त्रण गर्न सरकारले तटबन्ध निर्माण गरेको थियो । तर, अहिले पुनः कटान र डुबानको समस्या दोहोरिएको छ ।

उक्त क्षेत्रमा उत्पन्न जोखिम नियन्त्रण गरिएन भने ठूलो क्षति हुन सक्ने देखिएको छ । वडा नम्बर ७ सँगै ५ र ६ मा पनि तटबन्धसँगै बाढीले घरखेत नै बगाइरहेको छ । भोजभगवानपुर बस्ती सबैभन्दा जोखिममा छ । नदीको बाढी बस्तीनजिकै पुगेको छ । उर्वर भूमि बगरमा परिणत भएको छ । पाकेर भित्र्याउने बेलाको सयौं बिघा धानबाली पूरै नष्ट भएको छ ।

‘यस्तै अवस्था रहे ठूलो मानवीय क्षतिसमेत हुन सक्छ,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साहले भने, ‘नरैनापुर राप्ती सोनारीमा हुँदै आएको डुबान र कटानको दीर्घकालीन समाधान खोजिनुपर्छ ।’ अहिलेसम्म नरैनापुरमा बाढी तथा डुबानबाट ३ हजार घर प्रभावित भएको र २ सय घर पूर्ण रूपमा क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ६ करोड ४३ लाख ८० हजार रुपैयाँ डब्लुएफपीको कार्यक्रमबाट नरैनापुर र डुडुवा गाउँपालिकाका प्रतिपरिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउन रकम निकासा भइसकेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

‘राप्ती सोनारीका डुबानपीडितलाई भने राहत दिने सम्बन्धमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘अझै भयावह अवस्था आउन सक्ने खतरा देखिएकाले नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रमलाई आग्रह गरेका छौं ।’ सबै बाढीपीडितको यकिन तथ्यांक संकलन भएपछि पीडितलाई राहत उपलब्ध गराउने उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७९ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×