जम्मा गरेको रकम नपाएपछि सहकारीविरूद्ध धर्ना

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका—५ का जितबहादुर केसी आफूले जम्मा गरेको ४० लाख रुपैयाँ झिक्न नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडमा पुग्दा हैरान भए । सहकारीमा रकम मौज्दात नभएको भन्दै केसीलाई सहकारीले फर्कायो ।

उनी जस्तै दिपेशकुमार गुप्ता ७ लाख रकम बुझ्न चेक लिएर सहकारी संस्था पुगे । उनलाई पनि सहकारीमा रकम अभाव भएको भन्दै भुक्तानी दिइएन । गुलरिया—६ का शिव गुप्ताको २० लाख जम्मा गरेको रकमसमेत सहकारीले दिन मानेन । केसी, गुप्ता जस्ता सैयौं सेवाग्राहीले जम्मा गरेको रकम नपाएपछि आक्रोशित भई सहकारी संस्थाविरुद्ध प्रदर्शनमा उत्रेका छन् । प्रहरीले सहकारी संस्थामा अप्रिय घटना नहोस् भन्दै पहरा दिइरहेका छन् । थुप्रै सेवाग्राही आफ्नो रकम असुल गरिदिन बुधबार प्रहरी कार्यालय पुगेका थिए । बिहीबार बिहान पनि यस्तै अवस्था रह्यो ।

आर्कषक ब्याज पाउने आशामा दर्जनौं सेवाग्राहीको रकम हिनामिना भएको आशंका प्रहरीको छ । केही सेवाग्राहीले डेढ करोडसम्म रकम जम्मा गरेका छन् । स्थानीय व्यवसायी सपना डिसीले श्रीमान् र आफ्नो गरी ५ वर्षदेखि दैनिक ५/६ हजारका दरले उक्त सहकारीमा रकम जम्मा गरेको बताइन् ।

दैनिक ज्यालादारीदेखि काम गर्ने मानिसले जम्मा गरेको लाखौं रुपैयाँ भुक्तानी नपाएपछि सहकारी संस्थामा घेराउ गरेका छन् । सहकारीका प्रबन्धक सञ्जिवकुमार महतोसहित सञ्चालक सम्पर्कविहीन भएको भन्दै उनीहरुमाथि कारबाही र रकम फिर्ताको माग राख्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हिक्मत सिंह बोहोराले बताए ।

‘सबैको मोबाइलको स्विच अफ छ,’ उनले भने, ‘सहकारीका प्रबन्धकसहित सञ्चालकमाथि अनुसन्धान भइरहेको छ ।’ बारबर्दियास्थित उक्त सहकारीका एक कर्मचारीलाई महतोले आफू मुटुको उपचारमा लखनउ आएको र थप उपचारका लागि दिल्ली गएको मेसेन्जरमा खबर पठाएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

धनगढीका अवैध संरचनामा चल्यो उपमहानगरको डोजर 

कान्तिपुर संवाददाता

काठमाडौँ — कैलालीको धनगढीमा मापदण्डविपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर-१ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो । तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो ।

संरचना हटाउन कार्यस्थलमा पुगनुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन् । बुधबारदेखि सुरु भएको अभियानलाई निरन्तरता दिइने उनको भनाइ छ ।

मापदण्डविपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापी रूपमा बढ्दै गइरहेको छ । यसअघि काठमाडौं, पोखरा ममहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनाहरूमा डोजर चलाएका थिए ।

प्रकाशित : कार्तिक १७, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×