३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कठिन दान गर्न लुम्बिनीमा

मनोज पौडेल

लुम्बिनी — श्रीलंकाका अनुराधापुरमका रियल इस्टेट व्यवसायी चामिन्दा गुनशेखर लुम्बिनीको आँगनमा टेक्न पाउँदा निकै खुसी थिए । ‘६ वर्षदेखि लुम्बिनी आउने योजना गर्दै थिएँ,’ बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व कठिन चिबर दानमा सहभागी हुन लुम्बिनी आएका उनले भने, ‘दुई वर्षदेखि श्रीलंकाको आर्थिक अवस्था ठीक रहेन । अहिले केही सुध्रिएपछि लुम्बिनीको माटो छुन पाउँदा खुसी मिलेको छ ।’

कठिन दान गर्न लुम्बिनीमा

श्रीलंकाको क्यान्डीमा जन्मिएर अस्ट्रेलियाको मेलवर्नमा बस्ने इन्टेरियर डिजाइनर रुवान वालासूर्याले पनि लुम्बिनीमा कठिन चिबर दान गर्न पाउँदा निकै खुसी मिलेको बताए । ‘यसले करुणा, मैत्री र सद्भाव बढाउन उत्प्रेरित गर्‍यो,’ उनले भने, ‘विगतमा जान/अन्जानमा भएको गल्ती–कमजोरी क्षमादान भयो ।’

उनीहरूजस्तै श्रीलंकाका आएका १५ र अस्ट्रेलियामा बस्ने गैरआवासीय श्रीलंकाली ११ उपासक/उपासिकाले लुम्बिनी आएर शनिबार कठिन दान गरेका हुन् । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व तीन महिने वर्षावासपछि मनाइने कठिन दानका लागि उनीहरू यहाँ आएका हुन् । महाबोधी सोसाइटी अफ भारत लुम्बिनी शाखाद्वारा कठिन दान कार्यक्रम आयोजना गरिएको हो । तीन महिनासम्म वर्षावासमा बसेका भिक्षुहरू कठिन अनुशासनमा रहन्छन् । भिक्षा मागेर खान्छन् । साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्छन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गर्छन् । निकै कठिनका साथ भिक्षुका नीति नियम पालना गरेर (विनय कर्म) वर्षावास सम्पन्न गरिन्छ । त्यही भएर यसलाई कठिन दान भनिएको हो ।

पहिलो दिन शुक्रबार दिनभरि पूजाआजा गरिएको थियो । साँझ ६ देखि राति १० बजेसम्म मायादेवी मन्दिरमा नेपाली, श्रीलंका, म्यानमार, जापान र थाई भिक्षुले महापरित्रान पाठ गरे । आइतबार बिहानै श्रीलंकाबाट ल्याइएको कठिन चिवरलाई पवित्र बाकसमा राखेर सिंगारेर लगेर मायादेवी मन्दिरमा पूजाआजा गरियो । पवित्र अष्टधातु मायादेवी मन्दिरमा लगेर पूजाआजा गरिएको थियो । मन्दिर परिसरको अशोक स्तम्भ, पुरातात्त्विक भग्नावशेषलाई चारैतिरबाट फूलका मालाले सिंगारेर चिटिक्क बनाइएको थियो । दुई दिन मायादेवी मन्दिर र पुष्करणी पोखरीमा वरिपरि बत्ती बालेर दीपावली गरिएको थियो । मायादेवी मन्दिरबाट महाबोधी विहारसम्म शान्ति पदयात्रा निकालिएको थियो ।

पदयात्रापछि कठिन पूजा गरियो । उक्त अवसरमा शील प्रदान गरियो । धर्मदेशना दिइयो । यसपछि वर्षावास बसेका भन्ते बी नन्दलाई उनका शिष्यले भिक्षुले लगाउने पहेंलो वस्त्र (चिवर) र भिक्षा पात्र, अष्ट परिकार दान गरे । अष्ट परिकारमा भिक्षुका लागि आवश्यक कपाल र दाह्री खौरने सामान, भित्री/बाहिरी कपडा, सियो, धागोलगायत ८ सामग्री हुन्छन् ।

प्रकाशित : आश्विन ३१, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?