प्रदेशसभाका प्रतिस्पर्धीमा पुरानै अनुहार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभाका प्रतिस्पर्धीमा पुरानै अनुहार

प्रदेश ब्युरो

लुम्बिनी — लुम्बिनीमा प्रदेशसभातर्फका अधिकांश उम्मेदवार पुरानै दोहोरिएका छन् । ठूला दल एमाले, कांग्रेस, माओवादी तीनवटै पार्टीमा पुरानै उम्मेदवारले प्राथमिकता पाएका हुन् । जसपामा नयाँ र पुराना बराबरी छन् । 

कपिलवस्तुमा ६ प्रदेश सभा क्षेत्रमा पाँच जना दोहोरिएका छन् । दोहोरिनेमा सत्ता गठबन्धनका ३ र एमालेका दुई छन् । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन एमालेको प्रदेश सभा सदस्यबाटै राजीनामा दिएर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेले यसपटक टिकट नै पाएनन् । उनको क्षेत्र २ (१) बाट पूर्वएसएसपी विक्रमसिंह थापाले टिकट पाएका छन् । उनी चार वर्षअघि कांग्रेस प्रवेश गरेका थिए । थापासँग एमालेका नवराज लामिछानेले प्रतिस्पर्धा गर्दै छन् । प्रदेश सभा १ (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका डोलकराम घिमिरे नयाँ अनुहार हुन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष रहेका घिमिरेको प्रतिस्पर्धीमा राजनीतिमा खारिएका एमालेका विष्णु पन्थी प्रतिस्पर्धामा छन् । पन्थी दोस्रोपटक प्रदेश सभामा विजयी हुने आकांक्षामा छन् । त्यस्तै १ (२) मा कांग्रेसले जसपाबाट मन्त्री बनेका सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव उम्मेदवार मनोनयनकै दिन जसपा छोडेर कांग्रेस प्रवेश गरेका थिए । २ (२) बाट कांग्रेसका सुधाकर पाण्डे उम्मेदवार छन् । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएको छ । उनी शंकर पोखरेल नेतृत्वमा मन्त्री थिए । ३ (१) मा एमालेले निवर्तमान सभासद अर्जुनकुमार केसीलाई उम्मेदवार बनाएको छ । केसीसँग सत्तागठबन्धनबाट माओवादीका एहसान अहमद खाँ उम्मेदवार छन् । ३ (२) मा सत्ता गठबन्धनबाट कांग्रेसका वीरेन्द्रकुमार कानोडिया उम्मेदवार बनेका छन् । एमालेबाट नयाँ अनुहार रजाउर रहमान खाँलाई उम्मेदवार बनाइएको छ ।

रूपन्देहीमा पनि धेरै अनुहार दोहोरिएका छन् । क्षेत्र नम्बर १ (१) मा कांग्रेसका विश्वनाथ यादव र एमालेको तालमेलमा राप्रपाका आशिषकुमार चौधरी उम्मेदवार छन् । क्षेत्र नम्बर १ (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति अब्दुल रज्जाक उम्मेदवार छन् । पूर्व संघीय मन्त्रीसमेत रहेका रज्जाकसँग एमालेका दधिराम न्यौपाने लड्दै छन् । न्यौपाने नेकपा विभाजनपछि एमालेमा बसेका थिए । यसअघि उनी नेकपा माओवादीबाट प्रदेश सभा सदस्य निर्वाचित हुन् । क्षेत्र नम्बर २ (१) मा कांग्रेसले दीर्घबहादुर केसीलाई उम्मेदवार बनाएको छ । उनीसँग एमालेको शंकर पोखरेल नेतृत्वको सरकारका पूर्वमन्त्री लीला गिरी प्रतिस्पर्धी छन् । खेल क्षेत्रबाट कांग्रेसमा उदाएका केसी नयाँ अनुहार हुन् ।

क्षेत्र नम्बर २ (२) मा एमालेबाट भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् । उनी यसअघि पनि प्रदेशसभामा सोही क्षेत्रबाटै निर्वाचित हुन् । श्रेष्ठसँग गठबन्धनबाट माओवादीका वामदेव क्षत्री उम्मेदवार छन् । उनी प्रदेश सभाका लागि नयाँ अनुहार हुन् । क्षेत्री यसअघि प्रदेश योजना आयोगका उपाध्यक्ष थिए । त्यस्तै क्षेत्र नम्बर ३ (१) मा गठबन्धनबाट लोसपाका सन्तोषकुमार पाण्डेय, एमालेसँगको तालमेलबाट राप्रपाका अर्जुन थापा, जसपाबाट महेन्द्र यादव र जनमत पार्टीबाट सलाउद्दिम आलम उम्मेदवार छन् । ३ (२) एमालेका तुलसीप्रसाद चौधरी र कांग्रेसका पुराना नेता रामचन्द्र ढकाल प्रतिस्पर्धी छन् । चौधरी दोस्रोपटक प्रदेश सभा निर्वाचन लड्दै छन् ।

क्षेत्र नम्बर ४ (१) मा एमालेका सुनिलकुमार गिरी, कांग्रेसका अष्टभुजा पाठक उम्मेदवार छन् । एमालेका गिरी नयाँ हुन् भने कांग्रेसका पाठक यसअघि पन्रि प्रदेशसभा सदस्य हुन् । जसपाबाट रामअवतार यादव र जनमत पार्टीबाट दीपेन्द्रनाथ शुक्ल पनि उम्मेदवार छन् । क्षेत्र नम्बर ५ (१) मा गठबन्धनबाट माओवादी केन्द्रका विनोद पहाडी र एमालेका भूमिश्वर ढकाल छन् । पहाडी संविधान सभा सदस्य हुन् भने ढकाल यसअघि प्रदेश सभा सदस्य हुन् । जनमत पार्टीबाट अनुरागनाथ शुक्ल पनि उम्मेदवार छन् । यो क्षेत्रमा नेमकिपाबाट जगिलाल थापा पनि उम्मेदवार छन् । उनी ११ वर्ष पत्रकारिता गरेर अहिले चुनावी प्रतिस्पर्धामा छन् । ५ (२) मा कांग्रेका फकरुद्धिन खान र एमालेको रामचन्द्र यादव उम्मेदवार छन् ।

पश्चिम नवलपरासीको प्रदेश सभातर्फ अधिकांश अनुहार दोहोरिएका छन् । कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलमा नयाँले स्थान पाएनन् । क्षेत्र नम्बर १ (१) मा नेकपा एमालेले पुण्यप्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका विश्वप्रेम पाठक उम्मेदवार छन् । उपाध्याय पहिलोपटक निर्वाचन लडेका हुन् भने पाठक अघिल्लो स्थानीय तह निर्वाचनमा बर्दघाट नगरपालिकाको प्रमुखमा पराजित हुन् । १ (२) मा एमालेका दीपकराज शर्मा, कांग्रेसबाट देवकरण कलवार, माओवादी केन्द्रबाट रामानन्दन यादव र लोसपाबाट नरेन्द्र गोसाई प्रतिस्पर्धामा छन् । यहाँ जनता प्रगतिशीलले एमालेका उम्मेदवारलाई सहयोग गर्ने र कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनमा कुरा नमिलेपछि एक्काएक्लै चुनावी मैदानमा छन् । कांग्रेस, लोसपा र एमालेबीच प्रतिस्पर्धा छ ।

क्षेत्र नम्बर २ (१) मा एमालेका पुराना नेता थानप्रसाद गैरे उम्मदेवार छन् । गठबन्धनबाट माओवादी केन्द्रका चिनक कुर्मी उम्मेदवार छन् । माओवादीबाट वागी उम्मेदवार पनि छन् । २ (२) मा कांग्रेसका निवर्तमान प्रदेश सभा सदस्य बैजनाथ जयसवाल उम्मेदवार छन् । एमालेले जनता समाजवादी पार्टीलाई सघाएको छ । जसपाका तर्फबाट जिल्ला अध्यक्ष धरेन्द्र यादव चुनावी मैदानमा छन् । लोसपाबाट नगेन्द्र अग्रहरी उम्मेदवार छन् । यहाँ कांग्रेस, जसपा र लोसपाबीच नै प्रतिस्पर्धा छ ।

बर्दियामा प्रदेश सभाका चार सिटका लागि ४० जना उम्मेदवार छन् । क्षेत्र नम्बर १ (१) बाट कांग्रेसका भुवनेश्वर चौधरी, एमालेका बासगढी नगरपालिकाका पूर्वप्रमुख शालिकराम अधिकारी, नागरिक उनमुक्ति पार्टीका खेमबहादुर थारु प्रतिस्पर्धामा छन् । गठबन्धनका उम्मेदवार चौधरी यसअघि प्रदेश सभा सदस्य हुन् । १ (२) मा बारबर्दियाका पूर्व उपप्रमुख अन्जु दहित गठबन्धनबाट र भक्तबहादुर विक एमालेबाट उम्मेदवार छन् । दुवै नयाँ अनुहार हुन् । विक भूमि अधिकार आन्दोलनका अगुवा हुन् । जसपाका कृष्णप्रसाद अहिर पनि प्रतिस्पर्धामा छन् । नेकपा एकीकृत समाजवादीले बखतबहादुर खड्कालाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभामा लुम्बिनीमा एकीकृत समाजवादीले गठबन्धनबाट भाग नपाएपछि छुट्टै उम्मेदवार उठाएको हो । क्षेत्र नम्बर २ (१) मा गठबन्धनबाट कांग्रेसका जन्मजय तिमिल्सिना र एमालेका लहानु थारु उम्मेदवार छन् । दुवै नयाँ हुन् । नागरिक उन्मुक्ति पार्टीले प्रदेशी थारु र जसपाले शान्ता पौडेललाई उठाएको छ । २ (२) माओवादी केन्द्रबाट मानबहादुर थारुले गठबन्धनबाट र कृष्णी थारुले एमालेबाट उम्मेदवारी दिएका छन् । थारु प्रदेश सभाकी पूर्वउपसभामुख हुन् । राप्रपाका धर्मराज शाही, लोसपाका दिलीपकुमार वैश्य उम्मेदवार छन् ।

बाँकेमा प्रदेश सभातर्फका ६ सिटमा ७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँके क्षेत्र नम्बर १ (१) मा जसपाका अमरबहादुर खड्का, माओवादीकी कृष्णा केसी, राप्रपाबाट नरेन्द्रकुमार पौडेल उम्मेदवार छन् । राप्रपाका पौडेल एमालेसँगको तालमेलमा र माओवादीकी केसी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् । १ (२) बाट एमालेले दुर्गाप्रसाद चौधरी, कांग्रेसले फुलाराम थारू र जसपाले लालबहादुर शाहलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ (१) कांग्रेसबाट राजकुमार बर्मा, जसपाबाट एमाले प्रवेश गरेका विजयी यादवले टिकट पाएका छन् । यादव यसअघि जसपाबाट प्रदेश मन्त्री हुन् । बर्मा नयाँ उम्मेदवार हुन् । २ (२) मा सत्ता गठबन्धनबाट दुई उम्मेदवार भएपछि मित्रवत् प्रतिपर्धा गर्दैछन् । कांग्रेसका सुरेन्द्रबहादुर हमाल र नेकपा माओवादीका अकलबहादुर बमको उम्मेदवारी छ । हमाल प्रदेशका वन तथा वातावरण मन्त्री हुन् । एमालेले निरक गुरुङलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ३ (१) मा एमालेबाट रत्न खत्री र गठबन्धनबाट माओवादीका अग्निप्रसाद खरेल उम्मेदवार छन् । ३ (२)बाट एमालेका भीम वली र कांग्रेसका बादशाह कुर्मी उम्मेदवार छन् ।

रोल्पामा गठबन्धनविरुद्ध माओवादी

सत्ता गठबन्धनको निर्णयलाई अस्वीकार गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएपछि रोल्पामा प्रदेशसभा सदस्य निर्वाचन रोचक बन्ने भएको छ । गठबन्धनका साझा उम्मेदवार कांग्रेसका अमरसिंह पुनविरुद्ध दीपेन्द्र पुनले उम्मेदवारी दर्ता गरेपछि स्थानीयदेखि केन्द्रसम्म चर्चा छ ।

कांग्रेसका प्रदेश सभापतिसमेत रहेका पूर्वसिंँचाइ राज्यमन्त्री पुनलाई गठबन्धनबाट टिकट दिएपछि रोल्पा माओवादीमै विवाद भएको हो । जिल्लाका कार्यकर्ताले माओवादीका पुनको उम्मेदवारीको पक्षमा र केन्द्र एवं प्रदेशका नेताले विरुद्धमा छलफल चलाइरहेका छन् । प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवारमा माओवादी केन्द्रका नेता वर्षमान पुन छन् । पार्टीबाट ‘विद्रोह’ गरी निर्वाचनको मैदानमा खटिएका माओवादी केन्द्रका नेता दीपेन्द्रले चुनाव चिह्न पानीको धारा पाएका छन् । उनले माओवादीको आधार क्षेत्रमा १० वर्ष उसैको विरुद्ध लड्नुपरेकाले कांग्रेसलाई साथमा लिई निर्वाचनमा भाग लिनु नैतिकताबाहिरको विषय हुने तर्क गर्दै आएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालानिकट मानिने पुन पहिलोपटक र माओवादी उम्मेदवार दोस्रोपटक प्रदेशसभा लड्दै छन् । एमालेबाट प्रेमबहादुर घर्तीमगर लड्दै छन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । क्षेत्र नम्बर १ (१) मा भने गठबन्धनका साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रका नेता जोखबहादुर महरा छन् ।

माओवादी अध्यक्ष दाहालको निजी सचिवका रूपमा कार्यरत महरा र एमालेका कमलबहादुर बुढाथोकी प्रतिस्पर्धामा छन् । दुवै प्रदेशसभाका लागि नयाँ अनुहार हुन् । यो क्षेत्रमा यसअघि लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी निर्वाचित भएका थिए ।

- मनोज पौडेल (कपिलवस्तु), सन्जु पौडेल (लुम्बिनी), नवीन पौडेल (परासी), कमल पन्थी (बर्दिया), रूपा गहतराज (नेपालगन्ज) र काशीराम डाँगी (रोल्पा)

प्रकाशित : आश्विन ३०, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनका उम्मेदवारलाई 'बागी’ कै चुनौती

गठबन्धनका नाममा पार्टीको संगठन, विचार र अस्तित्व नामेट पार्ने गरी सिट बाँडिएको आरोप लगाउँदै विद्रोह गरेको बागीको तर्क
प्रदेश ब्युरो

विराटनगर — पाँचथरमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई चुनौती दिने गरी कांग्रेस र माओवादी केन्द्रकै नेताहरूले प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्रबाटै ‘बागी’ उम्मेदवारी दिएका छन् ।


सिट बाँडफाँट न्यायोचित नभएको आरोप लगाउँदै कांग्रेसका नेता तथा फालेलुङ गाँउपालिका निर्वतमान अध्यक्ष सञ्चकुमार केरुङले पाँचथरको प्रदेश सभा ‘क’ मा बागी उम्मेदवारी दर्ता गराए ।

गठबन्धनका नाममा पार्टीको संगठन, विचार र अस्तित्व नामेट पार्ने गरी सिट बाँडिएको आरोप लगाउँदै विद्रोह गरेको बागी उम्मेदवारको तर्क छ । गठबन्धनबाट पाँचथर प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) को भागमा परेको थियो । समाजवादीका अध्यक्ष कमलप्रसाद जवेगुले उम्मेदवारी दिए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका केरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका पुराना नेता खड्गसुन्दर लावती चुनावी मैदानमा छन् । लावती कांग्रेसको प्रदेश सभा ‘ख’ का सभापति मैया श्रेष्ठ लावतीका ससुरा पनि हुन । खड्गसुन्दरकी बुहारी मैयालाई कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फबाट दोस्रो नम्बरमा प्राथमिकता दिएर निर्वाचन आयोगमा बन्द सूची बुझाएको थियो ।

उम्मेदवारी दर्ता पछि खड्गसुन्दरले गठबन्धनका कारण लामो समयसम्म पार्टीमा त्याग गरेका नेता कार्यकर्ताको अपमान भएको आरोप लगाए । यस्तै नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) का पूर्वअध्यक्ष बालकृष्ण काफ्लेले पाँचथरबाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यी तिनै जनाको ‘बागी’ उम्मेदवारीले गठबन्धनका उम्मेदवारलाइ असर गर्ने अनुमान गरिएको छ ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बे उम्मेदवार बनेका छन् । गठबन्धनले प्रदेशसभा ‘क’ मा एसका कमलप्रसाद जवेगु र प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो (मौसम) को उम्मेदवारी दर्ता गराएको हो । यस्तै एमालेले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्वभौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई खडा गरेको छ । त्यसैगरी, प्रदेशसभा ‘क’ मा राजकुमार भण्डारी र ‘ख’ मा अइन्द्रसुन्दर नेम्वाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्रतर्फ कांग्रेसका नेता तथा फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र र प्रदेशसभा ‘ख’ मा पनि कांग्रेसकै पुराना नेता खड्गसुन्दर लावतीको पनि उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने प्रतिनिधि सभा सदस्यका लागि पाँचथर जिल्लाबाट ४ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेश सभा ‘क’ मा २ स्वतन्त्रसहित १० र प्रदेशसभा ‘ख’ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।

बागीमा कांग्रेसबाट धेरै

वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारविरुद्ध खोटाङमा कांग्रेस नेता सर्वधन राई र सुवासकुमार पोखरेलले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रले जिल्लाको अपमान हुने गरी टिकट दिएकाले बागी उम्मेदवारी दिनुपरेको उनीहरूले बताएका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादीका रामकुमार राईविरुद्ध पूर्वपर्यटन राज्यमन्त्री सर्वधनले उम्मेदवारी दिएका हुन् । गठबन्धनबाटै प्रदेश १ खोटाङ (क)बाट उम्मेद्वारी दिएका एसका उम्मेदवार विरबलकाजी राईका विरुद्ध कांग्रेस महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल अघि आएका छन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि प्रदेश १ खोटाङ (क) मै उम्मेद्वारी दिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । खोटाङ कांग्रेसको जनमत हुँदाहुँदै पनि केन्द्रले समाजवादीको भागमा पारेकाले कांग्रेस जिल्ला समितिले निर्णय गरेरै उम्मेदवारी दर्ता गराएको पोखरेलले सुनाए । शनिबार काठमाडौंमा उपलब्ध कांग्रेस नेताहरूको भेलाले निर्णय सच्याउन सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएको पोखरेलले जनाए । काठमाडौंमा भएको छलफलपछिका निर्णयलाई खोटाङ कांग्रेसले आइतबार अनुमोदन गरेर उम्मेदवारी दर्ता गरेको हो । प्रदेश १ खोटाङ (ख) मा भने कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् ।

खोटाङमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पाँचौं पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । २०५६ र २०६४ मा हार खेपेका उनले २०७० र २०७४ मा विजयी भएका थिए । माओवादीसँग गठबन्धन भएको बेला २०७४ मा कांग्रेसकी सरस्वती बजिमयलाई १४ हजार मतान्तरले पराजित गरेका थिए । २०७० सालमा कांग्रेसकै विष्णुकुमार राईलाई ५ हजार मतको फरकले जितेका थिए ।

कांग्रेसका बलबहादुरलाई एमालेका मानवीरको टक्कर

सोलुखुम्बुको प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र एमालेका केन्द्रीय सदस्य मानबीर राईबीच प्रतिस्पर्धा हुँदै छ । सातौंपटक सोलुबाट मनोनयन दिएका केसीसँग राई पहिलो पटक चुनावी मैदानमा छन् । उमेरको हिसाबले केसी ७० वर्ष पुगे भने राई ५० वर्षका ।

राईलाई एमालेले २०७४ को आम निर्वाचनमा पनि उम्मेदवारको रूपमा सिफारिस गरे पनि माओवादीसँगको चुनावी तालमेलपछि माओवादीकै हेमकुमार राई सुरवीरले टिकट पाएका थिए । उनै हेमकुमारसँग बलबहादुर २०७४ मा हारेका थिए । कांग्रेस सोलुखुम्बुले केसीको नाम समानुपातिकमा सिफारिस गरेको थियो । अन्तिम समयमा शेखर कोइराला समूहको दबाबका विच टिकट लिन केसी सफल भएका हुन् । यहाँ प्रदेस सभाको दुवै निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएको छ । कांग्रेसको संस्थापन पक्षले कुनै पनि तहमा टिकट नपाउँदा कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।

‘हामीले पुस्तान्तरणको पक्षमा निर्णय गरेर पठाएका थियौँ,’ जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले भने, ‘केन्द्रले भागबन्डाका नाममा यस्तो निर्णय गरेछ ।’ पूर्वमन्त्रीसमेत रहेका केसीले यसअघि लडेका ६ चुनावमध्ये ४ मा जित र २ चुनावमा हार व्यहोरेका छन् । उनी २०६४ र २०७४ सालको निर्वाचनमा पराजित भएका हुन् ।

माओवादीको भागमा परेको दुवै प्रदेशसभाका लागि ‘क’ मा पार्टी नेता गोम्बु शेर्पा कर्ज्याङ र ‘ख’ मा शिवबहादुर बस्नेत राजेन्द्र चुनावी मैदानमा छन् । एमालेले भने प्रदेशसभाको ‘क’ र ‘ख’ मा पुरानै उम्मेदवार दोहोर्‍याएको छ । प्रदेशसभा क मा निवर्तमान प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ मा पनि निवर्तमान प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले एमालेबाट मनोनयन दर्ता गराएका छन् ।

- लक्ष्मी गौतम (पाँचथर), डम्बरसिं राई (खोटाङ), भानुभक्त निरौला (सोलुखुम्बु)

प्रकाशित : आश्विन २५, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×