बाढीले ४९४ बिघाको धान बालीमा क्षति

कमल पन्थी

बर्दिया — जिल्लाको गुलरिया नगरपालिका–११ इन्द्रपुरका शौखत अली गद्दी बबईमा आएको बाढीले पाक्न लागेको धान डुबाएपछि चिन्तित छन् । वर्ष दिनलाई जोहो गरेर राख्ने र केही बिक्री गरेर घर खर्च टार्ने उनको सोच थियो । ‘मल र ज्यालासमेत खेर गयो,’ उनले भने, ‘अब धान किनेर खानुपर्ने भयो ।’ अहिलेसम्म धान बेचेर आम्दानी गर्थे । यस वर्ष किनेर परिवार पाल्ने अवस्था आएको उनले दुखेसो पोखे ।

बाढीले ४९४ बिघाको धान बालीमा क्षति

स्थानीय शाहदात गद्दीले विगतमा बाढीपीडितलाई आफूले खाद्यान्न सहयोग गर्दै आएकामा अहिले आफैं पीडित बनेको बताए । ‘पाक्न लागेको धान डुबेको छ,’ उनले भने, ‘गुलरिया–११ का दर्जनौं किसान बाढीले धान डुबाएपछि भोकभोकै बस्ने अवस्थामा पुगेका छन् ।’ चाडपर्व मनाइरहेको समय बाढी आएपछि धान बाली डुबानसँगै घरमा जोहो गरी राखेको खाद्यान्नसमेत सुरक्षित स्थानसम्म पुर्‍याउन नसकेको उनीहरूले बताए । गुलरिया–४ की लक्ष्मी वलीको ४ बिघा खेतमा पाक्न लागेको धान बालीमा क्षति भएको छ । बाढीले २०७१ र २०७४ मा पनि यस्तै अवस्था भोगेको उनले सुनाइन् । ‘सरकारले क्षतिपूर्ति दिने आश्वासन दिएको थियो,’ वलीले भनिन्, ‘क्षतिपूर्ति त टाढैको कुरा, फर्केर पनि कोही आएका छैनन् ।’

एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बुधबारदेखि धान बाली क्षतिको लगत लिन थालेको बताए । गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४ सय ९४ बिघा धान बालीमा क्षति पुगेको उनले जनाए । जसअनुसार ३ सय ९ बिघामा लगाइएको धान बाली पूर्ण क्षति भएको छ भने १ सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको छ ।

राजापुर–३ की प्रसादी थारूले भकारीमा राखेको चामल र गहुँ बाढीले डुबाएको बताइन् । ‘परिवारका सदस्यलाई सुरक्षित ठाउँमा पुर्‍याउँदा पुर्‍याउँदै घरभित्र पानी पस्यो,’ उनले भनिन् । यहाँका जञ्जिरे थारुको अवस्था पनि उस्तै छ । कर्णाली नदीमा आएको बाढीले करिब १ हजार ५ सय परिवार विस्थापित भएका छन् । घरभित्र हिलो थुप्रिएकाले केही स्थानीय अझै घर नफर्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

प्रकाशित : आश्विन २८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?