एक दर्जन गाउँ बाढीको जोखिममा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक दर्जन गाउँ बाढीको जोखिममा

जे पाण्डे

नेपालगन्ज — तटबन्ध भत्काएर राप्तीको बाढी बस्तीतर्फ सोझिएपछि बाँकेको देउपुराका बासिन्दाको भोक–निद्रा हराएको छ । ‘५ दिन भयो, सुतेको छैन । कुन बेला घरखेत बगाउने हो भन्ने चिन्ता छ,’ तटीय क्षेत्रमा दिनरात गस्ती र निगरानीमा खटिँदै आएका फारुक अलि शेषले भने, ‘दिनदिनै तटबन्ध भत्काउँदै छ । राति निद्रा पर्दैन । नदी बस्तीतिर पस्ने खतरा बढेको छ । बगाउने डरले कोही सुत्न सकेका छैनन् ।’

यस्तै अवस्थमा छन् रामरूप सिंह यादव पनि । बाढीले तटबन्धमाथिको बाटोसमेत भत्काइ सकेको छ । ‘सबैतिर हारगुहार गरेका छौं । कसैले सुन्दैनन् । घरमा सुत्दा बगाउने त्रास छ । दिनरात नदीमा पहरा लगाउने गरेका छौं,’ नरैनापुर–७ का यादवले भने, ‘हाम्रो जिन्दगी भगवान् भरोसामा छ ।’

जोखिम बढेपछि हरेक बस्ती र घरबाट निस्केर बाढी र कटानको अवस्था हेर्न आउनेको नदी तटमा लामो लस्कर लाग्ने गर्छ । ‘बगाउन थालेको तटबन्धमा मानिसको भीड कुनै मेला वा जुलुसको जस्तै देखिन्छ,’ गेंदुवाका राजेन्द्रकुमार दुवेले भने, ‘यो खेती हाम्रो जीवन हो । यो पनि बग्यो भने जीवन नै नष्ट हुन्छ । पूरै गाउँ बगेर जान्छ ।’ उर्लंदो बाढीको पूर्वसूचना दिएर संकटबाट ज्यान जोगाउन तटीय क्षेत्रमा स्थानीयले निरन्तर गस्ती गर्दै आएका छन् ।

‘स्थानीय सरकार मूकदर्शक बनेको छ’ जोखिमयुक्त बस्ती देउपुराका दुर्गालाल पाण्डेयले भने, ‘बेलैमा केन्द्रीय सरकारले नदी नियन्त्रण गरेन भने हाम्रो त अकालमै ज्यान जाने भयो ।’

नदीले देउपुरानजिकै तटबन्ध कटान तीव्र पारेको छ । दिनदिनै तटबन्ध भत्किंदै छ । भइरहेको कटनाका कारण देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेँदुवा, गंगापुर, सोनवर्सा, खुदरवेटवा, कुँडुवालगायतका बस्ती उच्च जोखिमा छन् । २०७१ सालमा आएको बाढीले पनि सोही क्षेत्र कटानसँगै डुबानमा परेको थियो । नदीको बाढी नियन्त्रण गर्न सरकारले तटबन्ध निर्माण गरेको थियो । तर, अहिले पुनः कटान र डुबानको समस्या दोहोरिएको छ ।

उक्त क्षेत्रमा उत्पन्न जोखिम नियन्त्रण गरिएन भने ठूलो क्षति हुन सक्ने देखिएको छ । वडा नम्बर ७ सँगै ५ र ६ मा पनि तटबन्धसँगै बाढीले घरखेत नै बगाइरहेको छ । भोजभगवानपुर बस्ती सबैभन्दा जोखिममा छ । नदीको बाढी बस्तीनजिकै पुगेको छ । उर्वर भूमि बगरमा परिणत भएको छ । पाकेर भित्र्याउने बेलाको सयौं बिघा धानबाली पूरै नष्ट भएको छ ।

‘यस्तै अवस्था रहे ठूलो मानवीय क्षतिसमेत हुन सक्छ,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साहले भने, ‘नरैनापुर राप्ती सोनारीमा हुँदै आएको डुबान र कटानको दीर्घकालीन समाधान खोजिनुपर्छ ।’ अहिलेसम्म नरैनापुरमा बाढी तथा डुबानबाट ३ हजार घर प्रभावित भएको र २ सय घर पूर्ण रूपमा क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ६ करोड ४३ लाख ८० हजार रुपैयाँ डब्लुएफपीको कार्यक्रमबाट नरैनापुर र डुडुवा गाउँपालिकाका प्रतिपरिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउन रकम निकासा भइसकेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

‘राप्ती सोनारीका डुबानपीडितलाई भने राहत दिने सम्बन्धमा कुनै निर्णय भएको छैन,’ उनले भने, ‘अझै भयावह अवस्था आउन सक्ने खतरा देखिएकाले नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रमलाई आग्रह गरेका छौं ।’ सबै बाढीपीडितको यकिन तथ्यांक संकलन भएपछि पीडितलाई राहत उपलब्ध गराउने उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

भासिएको पुलका स्पान बगे

कमल पन्थी

बर्दिया — यहाँको जब्दीघाटस्थित पुलका दुईवटा स्पान बगाएपछि गुलरिया र बारबर्दिया नगरपालिकाबीच सम्पर्कविच्छेद भएको छ । गत असोज २० गते एउटा र मंगलबार थप अर्को स्पान बगाएको हो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको उक्त पुल हस्तान्तरण नहुँदै २०७४ साउन २८ गते भासिएको थियो । पुल भासिए पनि हलुका सवारी साधन र मानिस आउजाउ गर्थे ।

यसपालि स्पान बगाएपछि सम्पर्क टुटेको छ । पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब सवा लाख बासिन्दा प्रभावित भएका छन् । स्पान बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया–रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द भएको छ ।

व्यापारिक, कृषि र सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको उक्त पुल नहुँदा बारबर्दिया र गुलरिया आउजाउ गर्न कतर्निया हुँदै लठुवाघाट र लक्षमणा भएर सवारी साधन आउजाउ गरेका छन् । लठुवाघाट र लक्षमणा हुँदै आउजाउ गर्दा झन्डै ४० किमि फरक पर्छ । ‘पुल भएको भए १५ मिनेटमा आउजाउ हुन्थ्यो,’ निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेलले भने ।

झन्डै १० वर्षअघि काम सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँको लागतमा २०७४ सालमा निर्माण भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित : आश्विन २७, २०७९ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×