भासिएको पुलका स्पान बगे


बर्दिया — यहाँको जब्दीघाटस्थित पुलका दुईवटा स्पान बगाएपछि गुलरिया र बारबर्दिया नगरपालिकाबीच सम्पर्कविच्छेद भएको छ । गत असोज २० गते एउटा र मंगलबार थप अर्को स्पान बगाएको हो ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको उक्त पुल हस्तान्तरण नहुँदै २०७४ साउन २८ गते भासिएको थियो । पुल भासिए पनि हलुका सवारी साधन र मानिस आउजाउ गर्थे ।
यसपालि स्पान बगाएपछि सम्पर्क टुटेको छ । पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब सवा लाख बासिन्दा प्रभावित भएका छन् । स्पान बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया–रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द भएको छ ।
व्यापारिक, कृषि र सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको उक्त पुल नहुँदा बारबर्दिया र गुलरिया आउजाउ गर्न कतर्निया हुँदै लठुवाघाट र लक्षमणा भएर सवारी साधन आउजाउ गरेका छन् । लठुवाघाट र लक्षमणा हुँदै आउजाउ गर्दा झन्डै ४० किमि फरक पर्छ । ‘पुल भएको भए १५ मिनेटमा आउजाउ हुन्थ्यो,’ निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेलले भने ।
झन्डै १० वर्षअघि काम सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँको लागतमा २०७४ सालमा निर्माण भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीलाई दोषी ठहर गरेको थियो ।
प्रकाशित : आश्विन २७, २०७९ ०८:३७