४९ परिवार तीन दिनदेखि जंगलमा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४९ परिवार तीन दिनदेखि जंगलमा

शमशेरविक्रम जीसी

प्यूठान — घरमा दसैंको रमझम सकिएकै थिएन । कोही आफन्तको हातबाट टीका थाप्दै थिए भने कोही साथीभाइसँग रमाइलो गर्दै थिए । माण्डवी गाउँपालिका–२ धनचौरका दानबहादुर खत्रीलाई भने त्यसै दिन दशा लाग्यो । अविरल वर्षापछि पहिरो गएर उनी घरबारविहीन बने । गाउँभन्दा माथिबाट बस्ती बगाउने गरी पहिरो झर्न थालेपछि अन्नपात, लत्ताकपडा र परिवार जोगाउन उनी सुरक्षित स्थानको खोजी गर्दै जंगलतर्फ उक्लिए ।

‘दसैंमा हामीलाई दशा लागेर आयो, खुसी साट्ने बेला गुहार माग्नु पर्‍यो,’ उनले भने, ‘अहिले गाउँ नै पहिरोले बगाउन लागेको छ ।’

पहिरो जान थालेपछि अहिले उनीसँगै उनको परिवार नजिकैको जंगलमा आश्रय लिएर बसेको छ । पहिरोले धनचौरका सात घर बगाइसकेको छ । अन्य घर जोखिममा रहेको उनले बताए । उनीसँगै ४९ परिवारका ८९ जना तीन दिनदेखि जंगलमा आश्रय लिएर बसेका छन् । बेला न कुबेलाको पानीले उठिबास लगाएको खत्रीले सुनाए ।

पहिरोले स्थानीय दलबहादुर खत्री, ज्ञानबहादुर सार्की, रामबहादुर सार्की, दिलबहादुर सार्की, दिलबहादुर खत्री, हिमलाल खत्री, र वीरबहादुर दमाईको घर बगाएको हो । पानी पर्न नरोकिएकाले पहिरो अहिले पनि झरिरहेको छ । जसका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । धनचौरका चन्द्रबहादुर ठेडी मगर, कमल पुन मगर, बोमबहादुर खत्री, मीनबहादुर खड्का, डिलबहादुर खत्रीलगायतको घर पहिरोको उच्च जोखिममा छन् ।

पहिरो जाँदा गाईबस्तु पुरिएको स्थानीय रामबहादुर सार्कीले बताए । ‘एक्कासि पहिरो जाँदा बालबच्चा बचाउने कि बस्तुभाउ बचाउने भन्ने भयो,’ उनले भने, ‘हतारमा बालबच्चा बोकेर दगुर्न मात्रै पायौं ।’ उनका अनुसार बस्तीका एक दर्जन घर अति जोखिममा छन् । ‘चारैतिरबाट पहिरोले घेरेको छ,’ उनले भने, ‘कतिबेला लैजान्छ, थाहा छैन, गाउँका सबै बेघरबार भएका छौं ।’ पानी पर्न नरोकिएकाले जंगलमा बस्न पनि समस्या भएको उनले सुनाए । उनका अनुसार बोकेर ल्याएको खानेकुरा पनि सकिन थालिसकेको छ । गाउँका वृद्धवृद्धा र बालबालिका सबै जंगलमा त्रिपालको भरमा बस्नुपरेको छ । पानी पर्दा झनै समस्या हुन्छ । रातमा पनि छाता ओढेर बस्ने गरेको उनले सुनाए । पहिरोले सबैभन्दा धेरै माण्डवी गाउँपालिकामा क्षति पुर्‍याएको छ । माण्डवीका तिराम, रातापानी, मर्कावांग अझै उच्च जोखिममा छन् ।

ऐरावती गाउँपालिकाको तिग्रापातलका स्थानीय पनि गाउँमाथिबाट पहिरो झर्न थालेपछि विस्थापित भएका छन् । बस्तीमाथिको जमिन धाँजा फाटेर पहिरो झर्न थालेपछि गाउँका सबै डाँडामा गएर बसेको स्थानीय रवीन्द्र रोकाले बताए । यहाँका २३ घरधुरी पहिरोले विस्थापित भएका छन् । आफूहरूलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकासँग आग्रह गरेको रोकाले बताए । ‘बोकेर कति पो अन्नपात ल्याउन सकिन्थ्यो र ∕ ल्याएको पनि सकिने बेला भयो,’ उनले भने, ‘गाउँ फर्किने अवस्था छैन ।’ पानी नरोकिएकाले गाउँ फर्किने अवस्था नरहेको उनले सुनाए । झिमरुक गाउँपालिका–४ बांगेमरोटका तोरबहादुर विकले पनि लगातारको वर्षाले घर बगाउने जोखिम बढेपछि घरका बस्तुभाउ आफन्तकहाँ सारेको बताए । असोज १८ गते साँझबाट परेको पानीले बस्ती नै बग्ने जोखिम बढेपछि उनले बस्तुभाउ आफन्तकहाँ सारेका हुन् । ‘लगातार पहिरो जाँदा मरिन्छ कि भन्ने लाग्यो,’ उनले भने, ‘आइतबार राती अबेरसम्म पानी पर्न रोकिएको छैन ।’

लगातारको वर्षाले प्यूठानका ९ वटै स्थानीय तहमा क्षति पुर्‍याएको छ । गएको एक सातामा प्यूठानमा पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् । तीन दर्जन बढी घर बगाएको प्रशासनको तथ्यांक छ । यहाँ दर्जनौं घर पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैलाई जोखिम कम नभएको भन्दै सतर्क रहनसमेत आग्रह गरेको छ ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिद्वन्द्वी पुरानै, प्रतिस्पर्धा नयाँ

कुम्भराज राई

ओखलढुंगा — २०७४ को निर्वाचनमा संघीय सांसद निर्वाचित भएपछि यज्ञराज सुनुवारलाई प्रतिद्वन्द्वी रामहरि खतिवडाले अंकमाल गरी बधाई दिए । सुनुवार तत्कालीन वामगठबन्धनका उम्मेदवार थिए । खतिवडा कांग्रेसका प्रत्यासी ।

एमालेका सुनुवारसँग त्यतिखेर माओवादी साथमा थियो । अहिले त्यही माओवादी कांग्रेसको साथमा छ । खतिवडा र सुनुवार पुन: प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएका छन् ।

त्यसो त २०७० को दोस्रो संविधानसभामा तत्कालीन निर्वाचन क्षेत्र ‘१’ बाट सुनुवार र ‘२’ बाट खतिवडा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा वामगठबन्धनसँग खतिवडा ५ हजार २ सय ५३ मत अन्तरले पराजित भए । लगातार दुई पटक चुनाव जितिसकेका सुनुवारले चार पटक सांसदको टिकट पाइसकेका छन् । जिल्लामा कांग्रेस र माओवादी गठबन्धन भई चुनावमा होमिएको छ । एमालेले एक्लै उम्मेदवारी दिएको छ । त्यसैले अघिल्लो चुनावभन्दा यो निर्वाचन रोचक हुने अनुमान छ ।

‘पहिलो कुरा त एमालेको संगठन पहिलेभन्दा बलियो भइसकेको छ,’ एमालेका उम्मेदवार सुनुवारले भने, ‘दोस्रो भनेको मेरो कार्यकालमा धेरै विकासका काम सुरु भएका छन्, त्यसलाई पूरा गर्न पनि मतदाता एमालेलाई जिताउन आतुर छन् ।’ कांग्रेसका उम्मेदवार खतिवडाले सुनुवारकै जस्तो तर्क गर्दै आफू निर्वाचित हुने बताए । ‘जिल्लामा कांग्रेस त्यसै पनि एमालेभन्दा बलियो पार्टी हो, साथै कांग्रेस ०४८ पछि एकताबद्ध भएर निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘अर्कोतिर माओवादी केन्द्र गठबन्धनको रूपमा हाम्रो साथमा भएपछि विजय निश्चित छ ।’ जिल्लाको मुहार फेर्न ठूला विकासका आयोजना भित्र्याउने खतिवडाको मुख्य एजेन्डा छ ।

यी दुवै उमेरले समकालीन हुन् । उनीहरू ५० वर्ष हाराहारीका छन् । सुनुवार विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका हुन् भने खतिवडा ०४८ देखि लगातार कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । खतिवडा १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत हुन् । सुनुवार एमालेमा दोस्रो कार्यकालमा केन्द्रीय सदस्यको रूपमा छन् ।

०१५ को आम निर्वाचनदेखि ०५६ सम्मलाई नियाल्दा ओखलढुंगालाई कांग्रेसको गढ मानिन्थ्यो । ०६४ को संविधानसभामा दुवै निर्वाचन क्षेत्रबाट माओवादी निर्वाचित भएको थियो । यहाँ एमालेको इतिहासमा पहिलोपटक सांसदमा निर्वाचित भई सुनुवारले ०७० मा खाता खोलेका थिए । सुनुवार पार्टी संगठन विस्तारको दृष्टिमा लोकप्रिय युवा नेताका रूपमा चिनिन्छन् ।

जिल्लामा हाल १ लाख १७ हजार ८ सय ९७ मतदाता छन् । प्रतिनिधिसभाका लागि एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । करिब ६० प्रतिशत मतदानको अनुमान गर्दा पनि निर्वाचित हुने उम्मेदवारले ३० हजार हाराहारी भोट ल्याउनुपर्ने देखिन्छ । स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तहमध्ये पाँचवटाको प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित थिए ।

प्रकाशित : आश्विन २५, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×