अर्घाखाँचीमा १४ घरका ५७ जना विस्थापित 

वीरेन्द्र केसी

अर्घाखाँची — पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । घर वरपर जमिन चर्किने, घर माथिबाट लेदो बग्ने कारणले ती घर परिवारलाई प्रहरीले स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको छ ।

सन्धिखर्क नगरपालिका-६ जगतका ३ घरका १३ जनालाई आफन्तको घरमा सारिएको छ । जगतका टामलाल सुनारका ६ जना, बाबुराम सुनारका श्रीमती र छोरा, गोपाल सुनारका ५ जनालाई आफन्तको घरमा लगेर राखिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार गोपाल र बाबुराम भारतमा रोजगारीमा छन् । उनीहरू तीनै जना दाजुभाइ हुन् । उनीहरूको घर वरपर जमिन चर्केका कारण पहिरोको उच्च जोखिम भएकोले तत्काल सुरक्षित स्थानमा सारिएको उनले बताए ।

छत्रदेव गाउँपालिकाका १० घर परिवारका ३१ जना घर छाडेर अन्यत्र गएका छन् । वडा ८ मा ८ घरका ३१ जना र वडा ५ को २ घरका ११ जनालाई स्थानीय सरस्वती मावि भुस्खातामा सारिएको प्रहरी निरीक्षक पौडेलले बताए । पाणिनी गाउँपालिका-८ को १ घरका बुढाबूढीलाई छोराको घरमा राखिएको छ ।

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न जिल्लावासीलाई अर्घाखाँची प्रहरीले सूचना जारी गरेको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?