अर्घाखाँचीमा १४ घरका ५७ जना विस्थापित - लुम्बिनी - कान्तिपुर समाचार

अर्घाखाँचीमा १४ घरका ५७ जना विस्थापित 

वीरेन्द्र केसी

अर्घाखाँची — पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । घर वरपर जमिन चर्किने, घर माथिबाट लेदो बग्ने कारणले ती घर परिवारलाई प्रहरीले स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको छ ।

सन्धिखर्क नगरपालिका-६ जगतका ३ घरका १३ जनालाई आफन्तको घरमा सारिएको छ । जगतका टामलाल सुनारका ६ जना, बाबुराम सुनारका श्रीमती र छोरा, गोपाल सुनारका ५ जनालाई आफन्तको घरमा लगेर राखिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार गोपाल र बाबुराम भारतमा रोजगारीमा छन् । उनीहरू तीनै जना दाजुभाइ हुन् । उनीहरूको घर वरपर जमिन चर्केका कारण पहिरोको उच्च जोखिम भएकोले तत्काल सुरक्षित स्थानमा सारिएको उनले बताए ।

छत्रदेव गाउँपालिकाका १० घर परिवारका ३१ जना घर छाडेर अन्यत्र गएका छन् । वडा ८ मा ८ घरका ३१ जना र वडा ५ को २ घरका ११ जनालाई स्थानीय सरस्वती मावि भुस्खातामा सारिएको प्रहरी निरीक्षक पौडेलले बताए । पाणिनी गाउँपालिका-८ को १ घरका बुढाबूढीलाई छोराको घरमा राखिएको छ ।

लगातार तीन दिनदेखि अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न जिल्लावासीलाई अर्घाखाँची प्रहरीले सूचना जारी गरेको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

समानुपातिकको बन्दसूचीबाट २९ जनाले लिए नाम फिर्ता

रासस

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो ।

उक्त प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नौ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन् ।

उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई आयोगले असोज १७ गते नै जानकारी दिइसकेको छ । यही असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम छ ।

प्रकाशित : आश्विन २०, २०७९ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×