दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दुर्गालाल केसी

दाङ — मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  दाङका ३ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं. १ मा मानबहादुर विष्ट, क्षेत्र नं. २ मा कृपासुर कार्की र क्षेत्र नं. ३ मा डोलनाथ न्यौपाने मुख्य निर्वाचन अधिकृत छन् ।

घोराहीमा कार्यालय स्थापना गर्दै क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैको सहयोग जरूरी रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन सुरक्षा योजना तयार गरेर काम गरिरहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली, राजनीति दलका प्रतिनिधि र पत्रकारको उपस्थिति थियो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्ष निर्वाचनको उम्मेदवारी दर्ताको समय तोकेको छ ।




प्रकाशित : आश्विन २०, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्

'समानुपातिक सूची व्यक्तिगतजस्तो भयो, अब टिकट वितरण न्यायोचित होस्'

मणि दाहाल

काठमाडौँ — नेपाली कांग्रेसभित्र आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभामा क-कसलाई उम्मेदवार बनाउने भन्नेमा ठूलो रस्साकस्सी चलिरहेको छ । कांग्रेसभित्रको विवादको असरले ५ दलीय गठबन्धनको सीट बाँडफाँटमा समेत सकस परिरहेको छ ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको इत्तर समूहले न्यायोचित रुपमा सीट वितरण नभए विद्रोह गर्ने चेतावनी दिँदै आएका छ । विद्रोहको चेतावनीपछि कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारको सूची सच्याइएको छ । यसै विषयमा ईकान्तिपुरका मणि दाहालले असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका गुरु घिमिरेसँग गरेको संक्षिप्त कुराकानी:

तपाईंहरुले आज पुन: भेला आयोजना गर्दैहुनुहुन्छ के-का लागि हो ?

यो खबरदारी अभियानकै निरन्तरता हो । जसमा हामी आजसम्मको गतिविधिको संक्षिप्त समीक्षा गर्नेछौं । अर्को विषय प्रत्यक्षतर्फको उम्मेदवारी चयनको हो । प्रत्यक्षतर्फको उम्मेदवार छान्दा प्रभावशाली, लोकप्रिय, अवसर नपाएका, चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिनु पर्‍यो र टिकट वितरण पनि न्यायोचित हुनुपर्‍यो । त्यति गर्न सकियो भने कहिँबाट पनि प्रश्न उठ्दैन । हाम्रोमा विगतदेखि समस्या हुने गरेको भनेको गुटगत र व्यक्तिगत रुपमा टिकट वितरण हुँदै आएकाले हो । विगतको समानुपातिकको अनुभवलाई दृष्टिगत गरेर अब हामीले न्यायोचित रुपबाट टिकट वितरण गर्नुपर्छ । त्यसका लागि लोकप्रियता, निरन्तरता, सक्रियता र प्रभावकारितालाई हेरेर टिकट वितरण होस् भन्ने आग्रह गर्नका लागि भेला आयोजना गर्दैछौं ।

तपाईँले भनेको जस्तो क्षमताको व्यक्तिलाई उम्मेदवार बनाउने विषयलाई कार्यान्वयन गराउने रणनीति के हुन्छ ?

हामीले बोर्ड (संसदीय) नेताहरुलाई भन्ने हो । देशभरका यी साथीहरु हुन् उनीहरुका लागि प्रयास गर्नुहोस् । उहाँहरु पद्धति संगत रुपबाट जिल्ला-जिल्ला, संघीय र प्रदेस निर्वाचन क्षेत्रबाट सिफारिस भइआएका साथीहरु मध्ये यी-यी साथीहरुलाई तपाईँहरुले टिकट दिलाउन र अवसर दिलाउन प्रयास गर्नुहोस् भन्ने हो ।

समानुपतिक उम्मेदवारीको विषयमा पनि तपाईँहरुको असन्तुष्टी रहेको थियो । कति प्रतिशत प्राप्त भयो ?

नेतृत्वको भनाईअनुसार झण्डै झण्डै एक तिहाई जति प्राप्त भयो भन्ने आँकडा निस्कियो ।

पार्टीभित्र तपाई पार्टीभित्रको समर्थ्य एक तिहाई भन्ने हो ?

यो विषय प्राविधिक रुपमा गयो । पार्टीले अवसर वितरण गर्ने विषयलाई हामीले प्राविधिक रुपमा काम गर्‍यौं । पद्धतिगत वा विधिसम्मत् भन्दा पनि गुटगत र व्यक्तिगत विषयको रुपमा समानुपातिक सिट वितरण भयो। व्यक्तिको प्रभावको आधारमा समानुपातिक वितरण भयो । कुनै जिल्ला वा क्षेत्रमा एकदमै न्यूनसंख्या र कुनैमा धेरै संख्या भएको हुनाले यो पद्धति, विधि र गुटगत भन्दापनि व्यक्तिगत जस्तो अहिले देखियो । तथापी वितरणको जुन सूची बाहिर निकालियो त्यसमा हाम्रो समूह वा हाम्रो भावनाका साथीहरुको न्यून अवस्था थियो त्यसको अनुपातमा अहिले बढेको छ । अहिले एक तिहाई भन्दा बढेको छ ।

कांग्रेसभित्र पहिले ६०-४० को सुत्र थियो त्यो फेरि पार्टीभित्र पुन प्रवेश भएको हो ? शेखर कोइरालाले महाधिवेशनपछि भागबण्डामा जाँदिन भन्नु भएको थियो नि?

मैले पटक पटक भन्दै आएको कुरा पार्टीभित्र शेखर कोइराला जस्तो शालिन प्रतिस्पर्धी पाउनु शेरबहादुर देउवा दाईको भाग्य हो । अहोभाग्य हो । जसले कहिल्यै ४० प्रतिशतको कुरा गरेन, न्यायोचित वितरण हुनुपर्छ भन्ने कुरा मात्र गर्नुभयो । जुनसुकै गुटमा लागेको भएपनि शेखर दाईको गुटगत रुपमा हेर्ने बानी कम छ । सभापति लडेपछि बाध्यता आइलाग्यो । अफ्ठ्यारो समयमा साथ दिने व्यक्तिहरुलाई संरक्षण गर्नुपर्ने उहाँको जिम्मेवारी र कर्तव्य पनि भयो । तर उहाँको स्वभाव र व्यवहार भने पार्टीमा लागेका लामो समय काम गरेका जुनसुकै पक्षका भएपनि उनीहरुले अवसर पाउनुपर्छ भन्ने छ । उहाँले कहिले पनि ६०-४० भन्नु भएन । आज पर्यन्त पनि भन्नु भएको छैन । उहाँले जहिले पनि न्यायोचित हुनुपर्छ भन्नुहुन्छ । न्यायोचित भन्दाभन्दै पनि आफूलाई सघाएका व्यक्तिलाई जिम्मेवारीमा पुर्‍याउनुपर्ने उहाँको कर्तव्य हो । लडाईं त्यसरी मोडियो र अघि बढ्यो । त्यो ६०-४० को सुत्र नै अन्त्य होस भन्ने हाम्रो खास भावना हो । त्यो एक प्रकारको परम्पराको रुपमा विकास हुनेभयो र त्यो स्थापित हुनेभयो । त्यसले पार्टीको आन्तरिक जीवनलाई फष्टाउन दिँदैन त्यही सुत्रले थिची राख्छ । त्यो सुत्रले पार्टीलाई बन्धक बनाइराख्छ त्यसैले हामीले न्यायोचित बाटोमा हिड्यौं भने कुनैपनि व्यक्तिले मलाई अन्याय हुन्छ भनेर सन्त्रास पालिराख्नु पर्दैन । काम गरे भने मैले अवसर पाउँछु भन्ने बाटोबाट अघि बढ्यौ भने पो पार्टीको सबै कुरा बलियो भएर जान्छ । हाम्रो भावना खासमा त्यही हो ।

अहिले अवस्थाले कांग्रेस पार्टीभित्र गुटहरु अझै संस्थागत हुँदै गएको हो ?

कांग्रेसभित्र पार्टी स्थापनाकालदेखि नै गुट संस्थागत छ किनभने दुई पार्टी मिलेर नेपाली कांग्रेस बनेको हो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरण भएर नेपाली कांग्रेसको निर्माण भएको हो । त्यसैले नेताहरुको धुरी र प्रतिस्पर्धा कायम रहनसाथ र त्यसले स्वच्छ बाटो छाडेर अस्वस्थ्य र कटुतापूर्ण बाटो हिड्नासाथ गुट संस्थागत भएर जान्छ र त्यसले एकदमै गहिरो जरा गाढ्छ । त्यो अवस्थाबाट पार्टीलाई कसरी मुक्त गर्ने ? महाधिववेशनको समयमा मैत्रीपूर्ण प्रतिस्पर्धा र त्यसपछि संघ, प्रदेश र स्थानीय तहमा आउने आवधिक अवसरको न्यायोचित वितरण कसरी गर्ने भन्ने प्रमुख हो । यसमा एउटा विधि बनाउन सक्यौं भने पार्टीको आन्तरिक जीवन पनि स्वस्थ्य हुन्छ र संगठनभित्र दुस्प्रभाव पनि पर्दैनन् । त्यसले अघिको बाटोलाई सहज र भविष्यलाई उज्ज्वल बनाउँछ । त्यो बाटो हामीले हिडाउन खोजेको हो । हामीले पदाधिकारीहरु उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरुसहित केन्द्रका प्रभावशाली नेताहरुलाई १४ औं महाधिवेशनपछि पद्धति अंगालौं , विधानले कल्पना गरेको बाटो हिड्ने प्रयास गरौं, पद्धतिसंगत रुपमा अघि बढ्यौ भने धेरै विषयको समस्या समाधान भएर जान्छ भनेका थियौं ।

हामीले समानुपातिकमा मापदण्ड बनाइदिएको भए वा प्रत्यक्षको उम्मेदवारी सिफारिसमा मापदण्ड बनाएर सर्कुलर गरेको भए अहिले आएको नाम छान्ने विषयमा दुई तिहाई समस्या समाधान हुन्थ्यो । तर हामीले पद्धतिमा ढाल्नेतर्फ त्यति धेरै ध्यान दिइएनौं र चाहेनौं पनि । अहिले समस्याको भारी बोकिरहेका छौं ।

पार्टीलाई सहज रुपमा सञ्चालनका लागि एउटा आन्तरिक पद्धति निर्माण गर्नुपर्ने आवश्यकता नेपाली कांग्रेसमा देखिन्छ ?

विश्वका डेमोक्य्राटिक पार्टीहरुबीच गरिने प्रचलन र अभ्यासहरु छन् । त्यही पद्धतिहरुलाई अंगीकार गरे भइहाल्यो । जस्तो अमेरिकामा प्राइमरी छ, को उम्मेदवार हुने भन्ने विषयको निर्णय पार्टी मतदाताले पहिले नै गर्छन् । नेपाली कांग्रेसलाई भोट हाल्ने मतदातालाई यो पालिकामा अध्यक्ष कसलाई उठाउने तिमीहरु चुन भन्दिने हो भने मतदातले पहिलो, दोस्रो र तेस्रो उम्मेदवार छानिदिन्छ । त्यसमा सबैभन्दा बढी मत ल्याउनेलाई पार्टीले उम्मेदवार बनाए भैहाल्यो नि ! त्यो व्यक्ति आफ्नो मतदाताको माझमा सबैभन्दा लोकप्रिय हुन्छ । त्यसले समस्या समाधान गर्छ । त्यो क्रियाशील सदस्यबाट हुँदैन किनभने क्रियाशील सदस्यताको वितरण राम्रोसँग भएको छैन । त्यसैले हामी कुन पद्धतिमा जाने विषयमा निर्क्यौल गर्नुपर्छ त्यो हामीले गरेनौं र गर्न चाहेनौं । गर्न चाहे मज्जाले सकिन्छ ।

प्रकाशित : आश्विन २०, २०७९ १४:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×