कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भिडभाड हुने पाल्पा बसपार्क टीकाको भोलिपल्ट पनि सुनसान

माधव अर्याल

पाल्पा — तीन दिनदेखिको अविरल वर्षाले पाल्पाको तानसेन बसपार्क दसैंको टीकाको भोलिपल्ट बिहीबार पनि सुनसान बनेको छ । अघिल्ला वर्ष दसैंको दोस्रो दिन बिहानैदेखि साना तथा ठूला सवारी साधनमा चढिनसक्नु भिडभाड हुन्थ्यो । 

भिडभाड हुने पाल्पा बसपार्क टीकाको भोलिपल्ट पनि सुनसान

दसैंका दिनदेखि पूर्णिमासम्म नै टीका थाप्न र आर्शिवाद लिनका लागि यात्रुहरूको भीड लाग्ने गर्थ्यो । तर यस वर्ष भने अविरल वर्षाले आफन्तकोमा टिका थाप्न जानसमेत पाएनन्, जसले गर्दा सार्वजनिक सवारी साधनसमेत रित्तै भएका हुन् । पाल्पाकै रामपुर, छहरालगायत अन्यत्र टिका थाप्न जानेहरूसमेत बाहिर निस्कने वातावरण नभएको बताएका छन् ।

वर्षा भइरहेकाले यात्रु नपाएपछि बस नम्बरमा लगाए पनि भरिन एक घण्टा कुर्नुपरेको बस चालक केशव खत्रीले बताए । उनका अनुसार समितिले १५ मिनेटमा बस छुटाउने गर्दथ्यो । तर पानी परेको र यात्रु नपाएपछि एक घण्टा कुरेर बस्नु परेको उनले बताए । बसपार्कबाट पश्चिम नेपाल यातायात र श्रीनगर यातायात सेवा कम्पनीका बस पालैपालो छुटाउने गर्छ ।

बुटवल, गुल्मी, पाल्पाकै विभिन्न स्थानका लागि बसपार्कबाट साना तथा ठूला सवारी साधन छुट्छ । नागरिक ट्राफिक टोपबहादुर श्रेष्ठले बिहानैदेखि बसपार्क सुनसान भएको बताए । ‘१५ मिनेटमा गाडी छुट्दा पाइला राख्न नसकिने गरी भीडभाड हुन्थ्यो,’ उनले भने, ‘अहिले एक घण्टामा पनि गाडी भरिन मुश्किल परेको छ ।’

बसपार्कमा यात्रु नै देखिएका छैनन् । हिँडेका पनि नजिक जानेमात्र छन् । बुटवल, भैरहवा, तराई जानेहरूको भिडभाड छैन । टिका लगाएका दुई चार जनाभन्दा नदेखिएको उनले बताए । नजिककाले साना सवारी साधन लिएर हिँडेकाले पनि ठूला सवारी साधनमा यात्रु नभएको हुनसक्ने श्रेष्ठले बताए । गुल्मीतर्फबाट आउने सवारी साधन बिहीबार बिहानैदेखि जोर्तेमा पहिरो खसेर उतै रोकिएको छ ।

ग्रामीण भेगबाट आउने सवारी साधन कम आएका छन् । जसले गर्दा तराई झर्ने यात्रुको कमी भएको हुन सक्ने तानसेन बसपार्कका किरण चित्रकारले बताए । यात्रुको लाइन लागेर चढ्ने बेलामा अविरल वर्षाले गर्दा सुनसान बनाइदियो । तानसेन–बुटवल सडक खण्ड पनि पहिरो खस्ने समस्या छ । ३९ किलोमिटरको १५ बढी स्थानमा पहिरो खस्ने, भासिने, सडक एकतर्फी समस्या छ । सिद्धबाबा खण्डमा ढुंगा खस्ने समस्याले गर्दा यात्रुहरू पानी पर्ने समयमा यात्रा गर्न नरुचाउने तानसेन बसपार्कका चित्रकारले बताए ।

तीन दिनदेखि वर्षा भए पनि तानसेनदेखि बुटवल सडकमा ठूलो पहिरो भने खसेको छैन । तर यात्रुहरू भने डरले गर्दा यात्रा गर्न रुचाउँदैनन् । ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीका अनुसार राम्दीदेखि बुटवलसम्मको सिद्धार्थ राजमार्गमा ठूलो पहिरो कतै खसेको छैन । सामान्य पहिरो खसे पनि एकतर्फी यातायात सञ्चालन भएको छ । पिपलडाँडाको सेरामा केही स्थानमा माथिल्लो भागबाट लेदो खसेकाले साना सवारी साधन र मोटरसाइकललाई समस्या भए पनि ठूला सवारी साधन भने सुचारु रहेको उनले बताए ।

यसैबीच तानसेन नगरपालिका–६, बसपार्क नजिकै ठूलो रुख ढलेपछि चारवटा बिजुली र टेलिकमका तार राखिएको पोल ढलेको छ, जसले गर्दा इन्टरनेट र बिजुलीसेवा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले काम गर्न समस्या भएको सेवाप्रदायकले जानकारी दिएका छन् । वर्षा नरोकिएसम्म काम गर्न नसकिने म्यासेजमार्फत जानकारी दिइएको छ । टेलिकम, विद्युत्‌लगायत इन्टरनेट सेवा प्रदायकले पनि काम अघि बढाएका छैनन् ।

प्रकाशित : आश्विन २०, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?